लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले एमालेबाट राजनीति अघि बढाउने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार जनकपुरमा हुने कार्यक्रबाट पार्टीमा भित्र्याएका हुन्।
आफूहरूको माग बमोजिम संविधान संशोधन गर्न एमाले बाधक बनेको भन्दै तत्कालीन मधेसी मोर्चाले ‘एमालेमुक्त मधेस’ अभियान घोषणा गरेको थियो। त्यस अभियानमा अरगरिया समेत सक्रिय रूपमा सहभागी थिए।
अहिले उनी एमाले प्रवेश गर्नुको कारण के हो? एमालेबाट उनले कसरी राजनीति अघि बढाउँछन्? यिनै विषयमा उनीसँग सेतोपाटीले गरेको संक्षिप्त कुराकानी :
मधेसलाई एमाले मुक्त बनाउने अभियानकर्ता तपाईं त्यही पार्टीमा प्रवेश गर्ने निर्णयमा कसरी पुग्नुभयो?
मधेसको राजनीति गर्दा एमाले र त्यस पार्टीको अध्यक्षको खरो आलोचकमध्ये पनि थिएँ। जब मैले केपी ओलीलाई नजिकबाट नियालेँ, उहाँ असाध्यै विकासप्रेमी पाएँ। आफ्नो व्यक्तिगत सम्पत्तिसमेत राष्ट्रलाई दिने उहाँको घोषणाबाट म निकै प्रेरित भएँ।
उहाँलाई नजिकबाट नियालेपछि उहाँप्रतिका विगतका दृष्टिकोण परिवर्तन भए। उहाँसँगको संवादपछि देशको हित भएपछि मात्रै मधेसको हित हुन्छ भन्ने निष्कर्षमा पुगेँ। एमाले र त्यस पार्टीका नेतृत्वप्रतिको दृष्टिकोण परिवर्तन भएपछि मैले विगतको पार्टी छोड्ने निष्कर्षमा पुगेँ।
विगतमा एमाले अध्यक्ष केपी ओलीले प्रतिगमन गरेको भनेर सडकमा पनि उत्रिनुभयो। अब त्यही पार्टीबाट राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ?
संसद विघटनको कदमलाई प्रतिगमन भन्दै हामी पनि सडकमा उत्रियौं। तर जब मैले जनतामा जानु गलत होइन भन्ने महशुस गरेँ। त्यसपछि मैले चुनावमा जाने कुरालाई प्रतिगमन नभनौं पनि भनेँ। संसद नै चल्न नदिएपछि जनतामाझ जाने निर्णय प्रतिगमन थिएन। परमादेशबाट सरकार बनेपछि त मैले त्यस बैला नै प्रतिगमन भयो भनेको थिएँ।
अब एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि मात्रै मुलुकको समग्र विकास हुन्छ। पहिले म एमालेमुक्त मधेसको अभियानमा थिएँ। मुलुकको विकास र राष्ट्रको हितका विषयमा एमालेको एजेण्डा जनतालाई बुझाएर अब मधेसमय एमाले बनाउने अभियानमा म अघि बढ्छु।
मधेसकेन्द्रित राजनीतिलाई अघि नबढाउने निष्कर्षमा किन पुग्नुभयो?
आत्मकेन्द्रित राजनीति गर्ने दलहरूबाट मधेसको हितमा राजनीति हुन सक्दैन भन्ने मलाई महशुस भयो। मैले मधेसकेन्द्रित राजनीति छोडेको होइन, मधेसको हितमा राजनीति गर्न एमाले रोजको हुँ।
चुनावकै सम्मुखमा पार्टीमा जानुभयो, के अब एमालेबाट चुनाव लड्नहुन्छ?
एमालेमा म कुनै पद हासिल गर्न प्रवेश गरेको होइन। केही आशा गरेर पार्टी रोजेको पनि होइन। मेरो पदीय दायित्व र उम्मेदवारीबारे अहिलेसम्म त्यस्तो केही निर्णय भएको छैन।