२०६२-६३ सालको जनआन्दोलन सफल भएको १९ वर्ष ४ महिना १२ दिन पुग्दै गर्दा भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्यो।
आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ।
भदौ २४ गते भएको प्रदर्शनमा सर्वोच्च अदालत, सिंहदरबारसहित सरकारी कार्यालयका भवन तथा नेता, उद्योगपति लगायतका निजी घर आगजनी भयो।
आन्दोलनकै तागतले सत्ता उलटपलट भएको छ भने १९ वर्षदेखि सत्ताको केन्द्रमा रहेका प्रमुख शक्तिहरू एकाएक किनारामा पुगेका छन्।
जेनजी पुस्ताले राखेका विभिन्न मागमध्ये राजनीतिक अस्थिरताको समाधान प्रमुख थियो।
१९ वर्षको बीचमा यति धेरै पटक सरकार बन्ने अनि भत्किने भए कि जसले नेपालमा स्थिर सरकार बन्न असम्भव जस्तै छ भनेर देखाएको छ।
अनि सत्तामा तिनै अनुहार पालैपालो आए जसले केही निश्चित व्यक्तिको वरिपरि सत्ता घुमेको प्रष्ट पार्छ। भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री बनेको बाहेकलाई गन्ने हो भने यो बीचमा १६ वटा सरकार बनेका छन्। अर्थात १६ पटक प्रधानमन्त्रीको शपथ भएको छ।
२०६२-६३ को जनआन्दोलन सफल भएलगत्तै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए।
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ चैतमा कोइरालाकै नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बनेपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री बनेका थिए।
तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवाललाई जबरजस्ती हटाउन खोजेपछि प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।
२०६५ साउनमा प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाखमा राजिनामा दिए। त्यसपछि तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने।
नागरिक सर्वोच्चताको नारा दिएर नेपाल नेतृत्वको सरकारविरूद्ध माओवादीले सुरूदेखि नै आन्दोलन गर्यो। जसले गर्दा २०६७ असारमा नेपालले राजीनामा दिए तर सरकार बन्न माघसम्म कुर्नुपर्यो। २०६७ माघमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए। छोटो समय मात्र खनालले सरकारको नेतृत्व गर्न पाए।
२०६८ असोजमा तत्कालीन माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री बने। भट्टराईकै कार्यकालमा २०६९ जेठ १४ गते संविधान सभाको विघटन भएपछि २०६९ चैतमा तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।
रेग्मी सरकारको नेतृत्वमा २०७० मंसिरमा दोस्रो पटक संविधान सभाको निर्वाचन भएपछि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो। कोइरालाको नेतृत्वमा २०७२ अशोज ३ गते संविधान जारी भयो। असोज २५ गते एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बने।
१० वर्ष यता ३ जनाको वरिपरि प्रधानमन्त्रीको कुर्सी
२०७२ असोजमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई विस्थापित गरेर २०७३ साउनमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका थिए।
२०७२ असोज यता सुशीला कार्की प्रधानमन्त्री नबन्दासम्म प्रधानमन्त्रीको कुर्सीमा तीन नेता पालैपालो पुगेका छन्।
अर्थात् बितेका १० वर्षमा ओलीसँगै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पालैपालो सत्ता चलाएका छन्।
कहिले ओली र प्रचण्ड मिलेर देउवालाई प्रतिपक्षमा पुर्याएका छन्, कहिले प्रचण्ड र देउवा मिलेर ओलीलाई प्रतिपक्षमा पुर्याएका छन् अनि कहिले ओली र देउवा मिलेर प्रचण्डलाई प्रतिपक्षमा पुर्याएका छन्।
२०७३ साउनमा कांग्रेस सहितका दलको समर्थनमा प्रचण्ड दोस्रो पटक प्रधामन्त्री बन्दै गर्दा ९ महिनापछि देउवालाई सत्ता बुझाउने सहमति भएको थियो। प्रचण्ड र देउवाले आलोपालो गरेका कारण २०७४ जेठमा देउवाले सरकारको नेतृत्व गर्न पाए।
२०६२-६३ अघि नै ३ पटक प्रधानमन्त्री बनेका देउवाको लागि यो चौथो अवसर थियो। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट हटाइएका देउवाका लागि यो सत्ता पुनरागमनको अवसर पनि थियो।
२०७४ मंसीरमा भएको संसदीय निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर आफ्नो पक्षमा नतिजा ल्याए। फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए।
एमाले र माओवादी एकता भएर नेकपा गठन अनि यसको विघटन, संसद विघटन अनि पुनर्स्थापना लगायतका घटनाक्रमले गर्दा २०७८ वैशाख ३० गते ओली सरकार ढल्यो। सोही दिन ओली अल्पमतको सरकारको प्रधानमन्त्री बनेका थिए। यो उनको तेस्रो कार्यकाल थियो।
ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक भनेपछि २०७८ असार २९ गते शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बने।
देउवाकै नेतृत्वमा २०७९ मंसिरमा निर्वाचन भयो। २०७९ पुसमा एमालेको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। कहिले एमाले, कहिले कांग्रेस अनि फेरि एमालेसँग पालैपालो गठबन्धन गरेर सत्तामा रहेका प्रचण्डलाई कांग्रेस-एमाले मिलेर गत असारमा सत्ताबाट हटाएका थिए।
कांग्रेसको समर्थनमा २०८० साउनमा ओलीले चौथों पटक प्रधानमन्त्री बन्ने अवसर पाए। ओली त्यस्ता भाग्यमानी थिए- जसले १० वर्षमा चार पटक प्रधानमन्त्रीको शपथ लिएका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट हट्न बाध्य नभएको भए आउँदो असारसम्म ओली प्रधानमन्त्री बन्न पाउँथे। त्यसपछि कांग्रेस सभापति शेरबाहादुर देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने थिए- अर्थात, कांग्रेस र एमालेको समीकरण २०८४ मंसिरसम्म चलिरहेको हुन्थ्यो।
सत्ताको अवसर धेरै पाउनेमा माओवादी
२०६३ चैतमा पहिलो पटक सत्तामा पुगेको माओवादीलाई सबैभन्दा धेरै सत्ता फापेको थियो। त्यसयता सत्तामा बस्ने छोड्ने अनि खिलराज नेतृत्वको कार्यकाल जोड्ने हो भने माओवादी ११ पटक सरकारमा गएको छ।
२०६३-६४ को को अन्तरिम सरकारमा २ पटक सहभागी भएको जोड्ने हो भने १२ पटक हुन्छ।
०६३ यता बनेका १६ सरकारमध्ये माओवादी ४ वटा सरकारमा मात्रै सहभागी थिएन।
माधव नेपाल, सुशील कोइराला, केपी ओलीको दोस्रो कार्यकालमा केही महिना अनि तेस्रो र चौथों कार्यकालमा मात्रै माओवादी सरकारमा बसेको थिएन।
यो १९ वर्षमा माओवादीले नपाएको उच्च पद भनेको राष्ट्रपति मात्र हो। सरकारको नेतृत्व ४ पटक गर्यो भने सबैजसो मन्त्रालयमा धेरैथोरै समय माओवादी नेता पुगेका छन्।
पटक-पटक मन्त्री बनेकाहरू
०६३ यता तीन पार्टीका सहित केही नेताहरूलाई यति धेरै अवसर मिल्यो कि, उनीहरूमध्ये कुनै न कुनै नेता नभई मन्त्रिपरिषद असम्भव जस्तै देखियो।पटक-पटक सरकारमा परिरहनेहरूको नाम हामीले यहाँ राखेका छौं;
२०६२-६३ पछि सत्तामा सबैभन्दा धेरै पटक पुग्न सफल भएका नेतामध्येमा ओवादीका कृष्णबहादुर महरा र एमालेका विष्णु पौडेल अघि छन्।
२०६३ सालपछि महराले ६ पटक सरकारमा जाने अवसर पाए। सञ्चार, गृह, अर्थ र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय चलाउन पाएका महरा कुनै समय माओवादीको तर्फबाट स्थायी मन्त्री जस्तै थिए।
६ पटक सरकारमा गएका महरा २०७४ मा सभामुख बने। बलात्कार मुद्दामा गिरफ्तार भएपछि २०७६ असोजदेखि मात्र उनी सत्ताबाट टाढा छन्। यद्यपि अहिले पनि उनी माओवादी केन्द्रका उपाध्यक्ष हुन्।
पटक-पटक मन्त्री बन्ने अवसर पाउने अर्का भाग्यमानी एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन्। जसले छोटो समयसमेत भएको गणना गर्दा ७ पटक अवसर पाए। कहिले ऊर्जा कहिले रक्षा अनि कहिले अर्थमन्त्री बन्ने अवसर पाएका पौडेल ५ पटक त अर्थमन्त्री मात्र बनेका छन्।
मन्त्रिपरिषदमा कहिल्यै नछुट्ने अर्को नाम विजयकुमार गच्छदार हो।
२०६२-६३ भन्दा अघि पनि पटक-पटक मन्त्री बन्ने अवसर पाएका गच्छदार त्यसपछि ६ पटक मन्त्री बने।
कांग्रेस छोडेर मधेसी जनअधिकार फोरम अनि फोरम लोकतान्त्रिक हुँदै फेरि कांग्रेसमै आएका गच्छदार धेरै अवसर पाउने नेतामा पर्छन्।
२०७४ सालदेखि लागातार २ निर्वाचन हारेका कारण त्यसपछि भने उनी सत्ताबाहिर छन्।
२०४५ सालमा पहिलो पटक सहायक मन्त्री बनेका शरतसिंह भण्डारी निवर्तमान श्रम मन्त्रीसमेत हुन्। पञ्चायतकालदेखि अहिलेसम्म १७ पटक मन्त्री बनेका भण्डारी २०६२-६३ पछि मात्र ५ पटक मन्त्री बने। उनले पर्यटन, रक्षा र श्रम जस्ता मन्त्रालयको जिम्मेवारी पाएका थिए।
माओवादीबाट ५ पटक मन्त्री बन्नेहरूमा गिरिराजमणी पोखरेल र जनार्दन शर्मा हुन्। पोखरेलले स्वास्थ्य र शिक्षा मन्त्रालयको जिम्मेवारी पाए भने शर्माले अर्थ, गृह र ऊर्जा जस्ता मन्त्रालय सम्हालेका थिए। त्यस्तै ४ पटक मन्त्री बनेका वर्षमान पुनले अर्थ र ऊर्जा जस्ता मन्त्रालय सम्हालेका थिए।
भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका र अहिले फरार भएका टोपबहादुर रायमाझीले भौतिक, ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय पाए। उनी ४ पटकसम्म मन्त्री भइसकेका छन्।
लामो समय माओवादीमा रहेर एमाले हुँदै आम जनता पार्टीमा रहेका प्रभु साह पनि ४ पटक मन्त्री भइसकेका छन्।
त्यस्तै कहिले सद्भावना, कहिले राजपा अनि कहिले लोसपमा रहेका अहिले राष्ट्रिय मुक्ति क्रान्ति नेपालको नेतृत्व गरेका राजेन्द्र महतो पनि ४ पटक मन्त्री भइसकेका छन्। उनले वाणिज्य र स्वास्थ्य जस्ता मन्त्रालय चलाउने अवसर पाए।
कहिले परराष्ट्र अनि कहिले स्वास्थ्य मन्त्रालय चलाउने अवसर पाएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि ४ पटक मन्त्री भइसकेका छन्।
माओवादीको चुनाव चिह्न लिएर सर्लाहीबाट २०७९ को चुनाव जितेका नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादव पनि २०६२-६३ यता ४ पटक मन्त्री भइसकेका छन्।
एमालेबाट ४ पटकसम्म सरकारमा जाने अवसर पाएका अर्का नेता रघुवीर महासेठ हुन्। उनले सिँचाइ, भौतिक र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन्।
२०६२-६३ यता कांग्रेसको तर्फबाट धेरै पटक अवसर पाउनेमध्ये रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की छन्। जसले ४-४ पटक सरकारमा जाने अवसर पाए। लेखकले श्रम, भौतिक र गृह जस्ता मन्त्रालय सम्हाल्न पाएका थिए भने कार्कीले उर्जा,अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका थिए।
कांग्रेस नेता मीनेन्द्र रिजाल र प्रकाशशरण महत पनि अवसर पाउने नेता मध्येमा पर्छन्।उनीहरू दुवै जना ३-३ पटक मन्त्री भएका छन्।
२०६२-६३ को जनआन्दोलनका क्रममा गृहमन्त्री रहेका कमल थापालाई पनि गणतन्त्र राम्रैसँग फापेको थियो। २०७० देखि २०७४ सम्म सांसद बनेका थापा त्यही कार्यकालमा ३ पटक मन्त्री बनेका थिए।
मन्त्री नबने पनि मन्त्रीजस्तै शक्तिसाली बन्ने अवसर पाउने अर्का नेता एमाले उपमहासचिव विष्णु रिमाल हुन्। जति पटक केपी ओली प्रधानमन्त्री बने त्यति नै पटक उनको प्रमुख राजनीतिक सल्लाहकार रिमाल थिए।
धेरै पटक मन्त्री बनेकाहरू;
१. कृष्णबहादुर महरा, ७ पटक
२. विष्णु पौडेल, ७ पटक
३. विजयकुमार गच्छदार, ६ पटक
४. गिरिराजमणि पोखरेल, ५ पटक
५. जनार्दन शर्मा, ५ पटक
६.वर्षमान पुन, ४ पटक
७. शरतसिंह भण्डारी, ४ पटक
८. राजेन्द्र महतो, ४ पटक
९. उपेन्द्र यादव, ४ पटक
१०. महेन्द्र राय यादव, ४ पटक
११. रघुवीर महासेठ, ४ पटक
१२. विष्णु रिमाल, ४ पटक (प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार)
१३. टोपबहादुर रायमाझी, ४ पटक
१४. प्रभु साह, ४ पटक
१५. रमेश लेखक, ४ पटक
१६. ज्ञानेन्द्रबहादुर कार्की, ४ पटक
१७. मीनेन्द्र रिजाल, ३ पटक
१८. प्रकाशशरण महत, ३ पटक
१९. कमल थापा, ३ पटक