सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति कास्कीको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न चुनाव हुने भएको छ।
पार्टीको शनिबार भएको अधिवेशनमा जिल्ला अध्यक्ष, सचिव र सदस्य पदमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व छान्न लागिएको रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए।
उनका अनुसार कास्की जिल्ला समिति अध्यक्षमा एकराज न्यौपाने र यदुनाथ अधिकारीले उम्मेदवारी दिएका छन् भने सचिवमा विश्वराज पौडेल र टेकराज सापकोटाले उम्मेदवारी दिएका छन्।
यस्तै, ४ जना सदस्य पदमा १० जनाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी दिएका यदुनाथ जिल्ला समिति कास्कीका सभापति थिए भने एकराज प्रदेशको जनसम्पर्क विभाग प्रमुख रहेका थिए।
सचिवका उम्मेदवार विश्वराज कास्की– ३ का क्षेत्रीय समिति संयोजक थिए भने टेकराज जिल्ला समितिका सहसचिव थिए। सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढाएको प्रदेश महामन्त्री त्रिपाठीले बताए।
कास्की जिल्ला अधिवेशनमा २९५ जना प्रतिनिधी छन्।
जिल्ला प्रतिनिधी छनौट गर्दा पालिका अधिवेशनबाट जिल्ला प्रतिनिधी एक महिलासहित ४ जना, पालिका समिति, जिल्ला समिति र जिल्ला समितिभन्दा माथिल्लो समिति तथा विभागमा रहेका सबै जिल्ला अधिवेशनको प्रतिनिधी रहेको पार्टीको निर्वाचन कार्यविधीमा रहेको छ। सोही अनुसार जिल्ला प्रतिनिधी छनौट गरिएको रास्वपाले जनाएको छ ।
अध्यक्ष र सचिवबाहेक बाँकी पदमा भने सहमति भएको छ।
सहमति अनुसार जिल्ला उपसभापतिमा चिनु गुरुङ, सहसचिवमा सुजन वस्ताकोटी, सदस्यहरुमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध चयन भएका छन्।
१९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुनेछन् भने २ जना सभापतिले मनोनित गर्नेछन्।
यस्तै, कास्कीमा रहेका ५ वटा स्थानीय पालिका समिति सभापति पदेन सदस्य रहने व्यवस्था रहेको महामन्त्री त्रिपाठीले बताए ।
शनिबार भएको अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले उद्घाटन गरेका थिए । अधिवेशनले पार्टीलाई आकार दिने र खँदिलो बनाउने बताएका थिए ।