सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा १ मतले यदुनाथ अधिकारी विजयी भएका छन्।
शनिबार भएको अधिवेशनमा सभापतिका अर्का उम्मेदवार एकराज न्यौपानेलाई अधिकारीले १ मतले पराजित गरेका हुन्।
सभापति निर्वाचित अधिकारी यसअघि पनि रास्वपा कास्कीका सभापति थिए भने अर्का उम्मेदवार न्यौपाने प्रदेश समितिको जनसम्पर्क विभाग प्रमुख थिए।
सभापतिमा निर्वाचित अधिकारीले ११५ मत पाएका थिए भने उनका प्रतिस्पर्धी न्यौपानेले ११४ मत पाएको निर्वाचन प्रमुख शंकर पन्तले बताए।
अधिवेशनबाट सचिवमा १२२ मत पाएर विश्वराज पौडेल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी टेकराज सापकोटाले १०५ मत पाएका थिए।
यस्तै, सदस्यहरूमा भेषराज तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरूङ र सीता चापागाईं निर्वाचित भएका छन्।
सभापति, सचिव र ४ जना सदस्य पदमा निर्वाचन भए पनि अन्य पदमा भने सहमति भएको थियो।
पार्टीका प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार, जिल्ला उपसभापतिमा चिनु गुरूङ, सहसचिवमा सुजन वस्ताकोटी, सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध निर्वाचित भएका थिए।
१९ सदस्यीय जिल्ला समितिमा १२ जना निर्वाचित हुनेछन् भने २ जना सभापतिले मनोनित गर्नेछन्। यस्तै, कास्कीमा रहेका ५ वटा स्थानीय पालिका समिति सभापति पदेन सदस्य रहने व्यवस्था रहेको महामन्त्री त्रिपाठीले बताए।
कास्की जिल्ला अधिवेसनमा २९५ जना प्रतिनिधि छनोट भए पनि २३३ मत मात्र खसेको थियो।
जिल्ला प्रतिनिधि छनोट गर्दा पालिका अधिवेशनबाट जिल्ला प्रतिनिधि एक महिलासहित ४ जना, पालिका समिति, जिल्ला समिति र जिल्ला समितिभन्दा माथिल्लो समिति तथा विभागमा रहेका सबै जिल्ला अधिवेसनको प्रतिनिधि रहेको पार्टीको निर्वाचन कार्यविधिमा छ। सोही अनुसार जिल्ला प्रतिनिधि छनौट गरिएको रास्वपाले जनाएको छ।
अधिवेशनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ले उद्घाटन गरेका थिए। अधिवेशनले पार्टीलाई आकार दिने र खदिलो बनाउने उनले बताएका थिए।