राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी र सरकारी वकिल मिले जो–कसैलाई पनि अपराधी बनाउन सक्ने बताएका छन्।
दाङको घोराहीमा जारी रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद चौधरीले राज्य संयन्त्रको चरित्र बदल्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी, सिडिओ कार्यालय र सरकारी वकिलमाथि गम्भीर आरोप लगाएका हुन्।
‘यो देशमा प्रहरीको मुद्दा फाँट, सिडिओ कार्यालयको मुद्दा फाँट र सरकारी वकिल—तीन जना मिल्यो भने यो हलका सबै मान्छेलाई अपराधी बनाइदिन सक्छन्, अनि अपराधीलाई निर्दोष बनाउन सक्छन्,' उनले भने।
यो कुरा पार्टी सभापति रवि लामिछानेले पनि पटक पटक भन्दै आएको उनले बताए।
त्यसकारण राज्यको चरित्र बदल्नुपर्ने उनको भनाइ छ।
रास्वपा केन्द्रीय सदस्यसमेत रहेका चौधरीले नागरिकले राज्यले जे भन्यो त्यही मान्नुपर्ने पुरानो मानसिकता अझै कायम रहेकाले भन्दै त्यसलाई बदल्नुपर्ने बताए। राज्य नागरिकमै अन्तर्निहित हुने उल्लेख गर्दै उनले नागरिकले जस्तो चाहन्छन्, राज्य पनि त्यस्तै बन्नुपर्ने धारणा राखे।
चौधरीले अहिलेको राजनीतिक संस्कार तोड्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीभित्रै पनि पुराना दलजस्तो गुटबन्दी, प्रतिनिधि किनबेच र पैसाको प्रभाव स्वीकार्य नहुने बताए।
‘कांग्रेस, एमाले, माओवादीमा जस्तो होटलमा लगेर मासुभात खुवाउने, प्रतिनिधि किन्ने संस्कार फेरि हाम्रो पार्टीमा देखियो भने हामीले राज्यको चरित्र बदल्न सक्दैनौं,’ उनले भने।
उनले सभापति लामिछानेले पनि पटक–पटक राज्यको चरित्र बदल्नुपर्ने विषय उठाउँदै आएको उल्लेख गर्दै त्यसअनुसार पार्टी संरचना र प्रक्रियामा सुधार आवश्यक रहेको बताए। साथै कार्यकर्तालाई निष्ठा, इमान्दारिता र नैतिक बल कायम राख्न आग्रह गरे।
सभापतिमा चार जना आकांक्षी
प्रथम जिल्ला अधिवेशनका लागि चार जनाले सभापति पदका लागि आ–आफ्नो मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन संयोजक लोकमान रिजालका अनुसार जिल्ला सभापतिमा विनय घिमिरे, अर्जुनबहादुर केसी, किरण खनाल र पूर्वएसपी केदार रजौरेसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपसभापतिमा निराजन थापा र सुनिता रावतले उम्मेदवारी दिएका छन्।
सचिव पदमा अशिम भुसाल र बलिराम खत्री, सहसचिवमा दिपक गैरे, प्रमिला रोका मगर र सोमराज बस्नेतका बीचमा प्रतिस्पर्धा हुने भएको छ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास संभव नभए मतदान मार्फत नेतृत्व चयन गर्ने तयारी भइ रहेको निर्वाचन संयोजक खनालले बताए ।
दाङमा झन्डै साढे चार सय जना मतदाता छन्।
वडासभापति, पालिका कमिटी, प्रत्येक पालिका ४ / ४ जिल्ला प्रतिनिधि ,जिल्ला कार्यसमिति, जिल्ला विभिन्न विभाग कमिटीहरु, जिल्ला र्याट, प्रदेश कमिटी, प्रदेश विभाग कमिटीहरु र जिल्लाका केन्द्रीय प्रतिनिधिले मतदान गर्ने छन्।