विगतका कुनै पनि आन्दोलनमा सामाजिक सञ्जालको यति धेरै प्रयोग कहिल्यै गरिएन, जति यसपालि जेन–जी आन्दोलनमा भयो।
आन्दोलनको आह्वानदेखि सैनिक मुख्यालय (जंगी अड्डा) जाने टोलीको छनौट र कसलाई प्रधानमन्त्री बनाउनेसम्मका बहस सामाजिक सञ्जालमै भए। त्यसका लागि टिकटक, रेडिट, डिस्कर्ड, फेसबुक, इन्स्टाग्राम लगायत एपमा जेन–जी युवाहरूले थुप्रै समूह बनाए।
तिनै समूहमा सक्रिय हुँदै सुरूआतदेखि नै आन्दोलनमा सहभागी जेन–जी प्रतिनिधिमध्ये २४ वर्षीया तनुजा पाण्डे पनि एक हुन्।
एलएलबी गरेकी र वातावरणसम्बन्धी मुद्दामा वकालत गर्दै आएकी तनुजा भदौ २३ को प्रदर्शन मात्र होइन, भदौ २४ गते राति जंगी अड्डा गएर प्रधान सेनापति अशोकराज सिग्देलसँग वार्ता गर्ने टोलीमा पनि संलग्न थिइन्।
तनुजाले हामीसँगको कुराकानीमा यी सबै घटनाको वर्णन गरेकी छन्।
भदौ २३ को प्रदर्शनी क्रममा युवाहरूको जुलुस बिजुलीबजार नजिक पुगेपछि आफूलाई एउटा मेसेज आएको उनले बताएकी छन्।
मेसेजमा भनिएको थियो, 'बहिनी, प्रदर्शनमा सुरक्षित हुनु है। तिमीलाई उनीहरूले निशाना बनाउन सक्छन्।'
'ती व्यक्तिले राम्रै नियतले मलाई सुरक्षित हुन भन्नुभएको हो। तर त्यसअघि नै मेरो सामाजिक सञ्जाल कसैले नियन्त्रणमा लिने प्रयास गरेको थियो। अपरिचित नम्बरबाट निरन्तर फोन आइरहन्थ्यो,' उनले भनिन्, 'त्यसमाथि त्यस्तो मेसेज आएपछि मलाई डर लाग्यो।'
उनका अनुसार नयाँबानेश्वर पुगेपछि एकाएक कसैले बाइक र्याली निकाल्यो। उक्त र्यालीमा आन्दोलन आह्वान गर्ने जेन–जी युवाहरू कोही थिएनन्। त्यसमा सहभागीहरू कसैलाई पनि आफू नचिन्ने तनुजा बताउँछिन्।
'त्यसपछि एकैचोटि नयाँबानेश्वरको निषेधित क्षेत्र तोडियो। आन्दोलन आह्वान गर्ने जेन–जी युवाहरू तितरबितर हुन थाले। त्यो बाइक र्याली सुरू भएपछि नै त्यहाँको स्थिति बिग्रिएको हो,' उनले भनिन्, 'मैले जेन–जी नेपाल पेजमा अनधिकृत व्यक्तिहरू छिरेको देखेँ। अनि हामीले आन्दोलन कार्यक्रम फिर्ता लियौं र सबै साथीहरूलाई 'हामीले जित्यौं, अब घर फर्किऔं' भनेर आह्वान गर्यौं। त्यसपछि म त्यहाँबाट निस्किएँ।'
आफू त्यहाँबाट निस्केर सुरक्षित ठाउँमा पुगेको आधा घन्टापछि नै बानेश्वरमा गोली चलेको र कर्फ्यू आदेश जारी भएको उनको भनाइ छ।
उनी त्यसपछि पनि आफ्नो घर जान सकिनन्।
प्रहरीले आन्दोलन आह्वान गर्नेहरूलाई घर घरमा छापा मारेर पक्राउ गरिरहेका छन् भन्ने सूचना पाएपछि उनी त्यो दिन आधा रातसम्म विशालनगरमा बसिन् र त्यसपछि लुकिछिपी सिफल पुगिन्।
भदौ २४ गते भने उनी दिनभरि नै बाहिर निस्किनन्।
सुरक्षित ठाउँमा बसेर दिनभरिको घटनाक्रम नियालिरहेकी उनको ग्रुप च्याटमा राति ८ बजे तिर मेसेज आयो, 'सेनासँग वार्ता गर्नेमा तिम्रो पनि नाम छ। दरबारमार्ग आउनू।'
उनी कर्फ्यूकै बीच एक जना साथीसँग दरबारमार्ग पुगिन्। ती साथीको नाम पनि सेनासँग वार्ता गर्न जाने टोलीमा थियो।
त्यो रात सडकमा देखिएका आगजनी र तोडफोडको दृश्यले आफूलाई थप डर लागेको उनी बताउँछिन्।
रातको १० बजेतिर उनीहरू दरबारमार्गमा रहेको एक अफिसमा पुगे। त्यहाँ पुगेपछि सैनिक मुख्यालय को–को जाने र कसरी छलफल गर्ने भन्ने विषयमा कुराकानी भयो।
राति ११ बजेतिर सेनाको गाडी उनीहरूलाई लिन दरबारमार्ग आयो।
उनका अनुसार सेनाका तीनवटा गाडी उनीहरूलाई लिन आएका थिए। एउटा गाडीमा उनीहरू बसे, बाँकी दुइटा अगुवा–पछुवा थिए।
जंगी अड्डामा छलफल गर्न गइरहेका १० जनाको जेन–जी टोलीमा चार जनालाई मात्र आफूले चिनेको तनुजा बताउँछिन्।
'म बाटोभरि युजन राजभण्डारी (जेन–जी प्रतिनिधि) सँग कुराकानी गर्दै गएकी थिएँ। सेनाले कू गर्यो वा लोकतन्त्रविरूद्ध कुनै प्रतिक्रिया आयो भने हामी कडा रूपमा प्रतिकार गरौं,' युजनसँग बाटोमा भएको कुराकानी सम्झिँदै तनुजाले भनिन्, 'नागरिक सरकार बाहेक अरू कुनै पनि सम्झौता नगरौं। अरू प्रतिनिधिहरू के भन्नुहुन्छ थाहा छैन, तर हामी यी कुरा राखौं।'
तनुजा पहिलो पटक सैनिक मुख्यालय प्रवेश गर्दै थिइन्। प्रधान सेनापतिसँगको भेट पनि पहिलो नै थियो। मुलुक संकटमा घेरिएका बेला प्रधान सेनापतिसँग भेट होला र कुराकानीमा छलफल गरिएला भन्ने उनले चिताएकै थिइनन्।
जंगी अड्डामा प्रधान सेनापति सिग्देलको हाउभाउ सौहार्दपूर्ण लागेको उनी बताउँछिन्।
'उहाँ हामी सबैको घर–ठेगाना सोधेर अपनत्व महसुस गराउन खोज्दै हुनुहुन्थ्यो। यसले एक खालको सहज वातावरण बन्यो। उहाँले सुरूमै हामी कू गर्दैनौँ भन्ने संकेत पनि दिनुभयो,' तनुजाले भनिन्।
जेन–जी प्रतिनिधिहरूले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न प्रधान सेनापतिसँग माग गरे।
प्रधान सेनापति सिग्देलले सोधे, 'कोबाट सहिद घोषणा गराउन चाहनुहुन्छ? मबाट, राष्ट्रपतिबाट वा तपाईंहरू समेत सहभागी भएर राष्ट्रपतिले घोषणा गर्ने?'
सबैले एक स्वरमा भने, 'हामी पनि सहभागी हुने।'
यसरी छलफल चलिरहँदा तनुजाले एउटा कागजमा त्यहाँ भएका कुराकानी टिपिरहेकी थिइन्।
त्यसैबीच प्रधान सेनापति सिग्देलले बोलेको कुराले उनलाई चकित बनायो।
'जेन–जी युवाहरू न्यायालयमा काम गर्नेका कुरा छोटो र मिठो मान्छन्,' सिग्देलको भनाइ उद्धृत गर्दै उनले भनिन्।
प्रधान सेनापति सिग्देलले यसरी एकाएक न्यायालयको कुरा झिक्नु र पछि सुशीला कार्की प्रधानमन्त्री हुनुलाई उनी अचम्मको संयोग मान्छिन्।
'उहाँले त्यो किन भन्नुभयो थाहा भएन। तर पछि सुशीला कार्की प्रधानमन्त्री बन्दा मलाई अचम्मै लाग्यो। त्यो एउटा संयोग मात्र थियो वा उहाँले अरू नै केही संकेत दिन खोज्नुभएको हो? तर त्यो कुरा सम्झिँदा मलाई अचम्म लाग्छ।'
त्यो रात सैनिक मुख्यालय जानुअघि फेसबुकको ग्रुप च्याटमा पनि पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाएर जानुपर्ने कुरा उठेको उनी बताउँछिन्।
'सायद उहाँ प्रदर्शनमा पनि पुग्नुभएको र हाम्रो पक्षमा अन्तर्वार्ता पनि दिनुभएकाले उहाँको नाम अगाडि आएको हो कि!' उनले भनिन्, 'जे भए पनि सबै साथीहरूले सुशीला कार्कीको नाममा समर्थन जनाए।'
त्यस्तै, प्रधान सेनापतिसँगको त्यो भेटमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न पाउनुपर्ने कुरा पनि राखेका थिए।
जंगी अड्डाको छलफल राति १ बजेसम्म चलेको थियो। उनीहरूलाई सेनाकै गाडीमा दरबारमार्ग छाडिएको थियो।
भोलिपल्ट बिहान फेरि उनीहरूलाई जंगी अड्डा बोलाइयो। त्यसका लागि उनीहरूले दरबारमार्गमा भेला भएर छलफल गरे। दोस्रो दिनको वार्तामा जान मतदान प्रक्रियाबाट रक्षा बम, युजन राजभण्डारी र धिरज जोशीलाई छाने। संविधान र कानुनको विषयमा कुराकानी गर्नुपर्ने भएकाले अधिवक्ता (हालका गृहमन्त्री) ओमप्रकाश अर्याललाई पनि सँगै लैजाने निर्णय गरे।
'दोस्रो दिनको वार्तामा जान मतदानका आधारमा टोली छनौट गरिएकाले म जान पाइनँ,' उनले भनिन्।
त्यसपछिका छलफलमा सहभागी नभएकाले जेन–जी प्रतिनिधिहरूसँग कुनै लिखित सम्झौता भए–नभएकोबारे यकिन थाहा नभएको उनी बताउँछिन्।
उनले अगाडि भनिन्, 'देश संकटमा परेका बेला राष्ट्रपति पौडेलले संविधान रक्षाका लागि जुन कदम चाल्नुभयो, त्यसको हाम्रो पुस्ताले उच्च सम्मान गरेको छ। जेन–जी पुस्ताले र देशले त्यो सधैं याद राख्नेछ।'
***
यी पनि पढ्नुहोस्: