मदन दवाडी १६ वर्षअघि बेल्जियम गएका हुन्। हाल उनी त्यहाँको एन्टवर्प सिटीमा बस्छन्।
बेल्जियममा उनले रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन्। उनका चार वटा रेस्टुरेन्ट छन्।
'चारवटा रेस्टुरेन्ट छन् जुन खासगरी जापानी, भारतीय र नेपाली परिकार पाइने हुन्,' मदनले भने।
उनको व्यवसाय पारिवारिक साझेदारीमा छ, जसमा मदनका सालोभाइ सन्तोष पौडेलको पनि लगानी छ।
रेस्टुरेन्टको व्यवसाय सन्तोषजनक छ। औसतमा प्रत्येक रेस्टुरेन्टमा एक पटकमा ५० जना अटाउने क्षमता छ। रेस्टुरेन्टहरूमा मुख्यतः बेल्जियमका नागरिक र अरू देशका पर्यटक बढी आउँछन्।
जापानी रेस्टुरेन्टमा सुसी सबभन्दा बढी बिक्री हुने परिकार हो। नेपाली रेस्टुरेन्टमा थाली सेट, चाउमिन र मःम लोकप्रिय छन्। जापानी रेस्टुरेन्टमा नेपाली ग्राहक कम आउँछन्। नेपाली रेस्टुरेन्टमा भने धेरैजसो नेपाली नै ग्राहक आउँछन्।
'बिदाका दिन धेरै ग्राहक हुन्छन्। शुक्रबार, शनिबार र आइतबार चाप बढी हुन्छ,' मदनले भने।
चारमध्ये तीन वटा रेस्टुरेन्टहरू सहरको भित्री भागमा छन्, ती साँझपखदेखि सञ्चालनमा आउँछन्। बाँकी एउटा रेस्टुरेन्ट सहरी भागमा छ, बिहान ११ बजेदेखि नै खुल्छ।
सबै रेस्टुरेन्टमा गरेर करिब ५० जना कर्मचारी छन्।
साझेदार सन्तोष पौडेलसँष मदन दवाडी
'यहाँ धेरै कर्मचारी राख्न सकिँदैन। कर्मचारीको तलब, सुविधा धेरै उच्च छ,' मदनले भने।
बेल्जियममा कर्मचारी खर्च बढी हुने भएकाले जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उनले बताए।
रेस्टुरेन्टमा काम गर्ने धेरैजसो नेपाली नै छन्। केही बेल्जियम र अन्य देशका नागरिक छन्।
मदन सन् २०१० मा 'फ्यामिली रियुनियन' भिसामार्फत बेल्जियम गएका हुन्। उनकी श्रीमती पहिल्यैदेखि त्यहीँ बस्दै आएकी थिइन्।
नेपालमा हुँदा मदन कलेजहरूमा एकाउन्टेन्सी विषय पढाउँथे। एकाउन्टेन्सीमै स्नातकोत्तर गरेका उनले स्नातक तहसम्मका विद्यार्थीलाई नियमित कक्षा र स्नातकोत्तर तहका विद्यार्थीलाई ट्युसन पनि पढाए।
विदेश गएपछि भने कामको क्षेत्र नै बदलियो।
'मैले विदेशमा पनि बैंक तथा कम्पनीमा अकाउन्टेन्टकै काम पाउँछु होला भन्ने सोचेको थिएँ,' मदनले भने, 'तर सोचेजस्तो भएन।'
सुरूमा मदनले सोच अनुरूप नै बैंक तथा स्कुलमा एकाउन्टेन्सीको काम खोज्दै आवेदन दिए। कतिपय ठाउँमा उनलाई बोलाइएन। बोलाइएकामा भाषा मिल्न सकेन।
'पढाइ, अनुभव सबै मिल्यो तर भाषा मिल्न नसक्दा अवसरबाट वञ्चित भइयो,' उनले भने।
त्यसपछि उनले एकाउन्टेन्सी सम्बन्धी उच्च अध्ययन गर्ने तयारी गरे। डच भाषा कोर्स अध्ययन अघि बढाए। तर भाषा परीक्षामा एक विषयमा अनुत्तीर्ण भएपछि थप पढ्न सकेनन्।
'चार वटा परीक्षा हुन्छ। त्योमध्ये एउटा फेल भएपछि विश्वविद्यालयले लिँदैन,' उनले भने।
पढाइ र सोचे अनुरूप जागिर नभएपछि उनलाई त्यहाँ बस्न मन लागेन। नेपाल फर्किन पनि मन भएन। जसोतसो एउटा जापानी कम्पनीमा काम सुरू गरे।

त्यो कम्पनीमा ग्राहकबाट आएको अनलाइन अर्डरका सामान प्याक गर्नुपर्थ्यो। त्यहाँ उनले दुई वर्ष काम गरे।
त्यसपछि फ्रेन्च फूड कम्पनीमा वेयरहाउसमा प्याकिङको काम सुरू गरे। त्यहाँ चार–पाँच महिनामै स्थायी भए र एक वर्षपछि सुपरभाइजरको जिम्मेवारी पाए। उनले करिब दुई वर्ष उक्त कम्पनीमा काम गरे।
त्यसपछि उनी रेस्टुरेन्ट व्यवसायमा लागेका हुन्।
'त्यहीँ काम गर्थे होला तर सालोले आफ्नै व्यवसाय गरौं भन्यो,' मदनले सुनाए, 'नयाँ ठाउँमा रेस्टुरेन्ट खोल्ने प्रस्ताव गर्यो। जोखिम लिएर व्यवसायमा आएँ।'
सरकारलाई तिर्नुपर्ने कर उच्च भए पनि सुरक्षाका हिसाबले बेल्जियममा व्यवसाय सञ्चालन गर्न सहज रहेको उनी बताउँछन्।
आगामी दिनमा रेस्टुरेन्ट अझै विस्तारै गर्दै लैजाने उनको योजना छ।
रेस्टुरेन्ट चलाउनुका साथै उनीहरूले सामान आयात–निर्यातको काम गरिरहेका छन्।
पछिल्लो समय बेल्जियममा नेपालीको संख्या बढ्दै गएको मदनलाई महसुस भएको छ।
'म आउँदा बेल्जियममा ५ देखि ७ हजार हाराहारी नेपाली थिए। अहिले २० हजारभन्दा बढी पुगिसके,' उनले भने।
पछिल्ला वर्षहरूमा पोर्चुगलबाट त्यहाँको रेसिडेन्सी लिएपछि बेल्जियम गएर काम गर्न सकिने भएकाले पनि नेपालीको संख्या बढेको उनको भनाइ छ।
मदनका अनुसार बेल्जियममा पुराना पुस्ताका नेपालीहरू मुख्यतः रेस्टुरेन्ट, होटल तथा सुपरमार्केट क्षेत्रमा कार्यरत छन् भने नयाँ पुस्ता सूचना–प्रविधि क्षेत्र लगायत अन्य पेसामा संलग्न छन्।
