सेयर बजार परिसूचक नेप्से चार दिनदेखि लगातार घटिरहेको छ। नेप्से मंगलबार गत वैशाख २४ गतेयताकै न्यून विन्दुमा आयो।
मंगलबार अन्तर दिनको कारोबारमा २७०४ विन्दुसम्म पुगेको नेप्से बजार बन्द हुने समयमा केही सुधार भएर २७३३ विन्दुसम्म उक्लियो।
यस्तो समयमा बजारका लगानीकर्ता आत्तिँदा कतिपयले यसलाई सेयर किन्ने मौकाका रूपमा लिएका हुन्छन्।
त्यसैले अहिले कुन कम्पनीको सेयरमा 'गुपचुप' खरिददारी बढिरहेको होला?
हामीले केही दिनदेखि उच्च दरमा कारोबार भइरहेको फाइनान्स कम्पनीहरूलाई लिएका छौं।
सोमबार बजारमा सबै समूहगत परिसूचक घट्दा यो समूह मात्रै बढेको थियो। यही कारण हामीले विश्लेषणका लागि यही क्षेत्रबाट कम्पनी छानेका हौं।
मंगलबार भने यो समूह केही घटेको छ।
सेन्ट्रल फाइनान्स
यो समूह अन्तर्गतको सेन्ट्रल फाइनान्सको कारोबार भने मंगलबार पनि सबभन्दा धेरै हुने कम्पनीमा छ। मंगलबार यसको ३५ करोड रूपैयाँ बराबरको सेयर किनबेच भयो।
यसको सेयर मूल्य लगातार चार दिनदेखि बढिरहेको छ। जेठ २१ गतेदेखि नै मूल्य बढिरहेको हो।
जेठ २१ मा प्रतिकित्ता ५८५ रूपैयाँमा अन्तिम कारोबार भएको सेन्ट्रलको सेयर भाउ मंगलबार ६६४ रूपैयाँ पुगेको छ।
यसको नजिकको उच्च मूल्य ७३९ रूपैयाँ हो। यही मूल्यलाई यसले ताकिरहेको छ।
बजारमा हरेक दिन हरियो मैनबत्ती आकृति बनेको छ भने हरेक दिन नयाँ उचाइमा पुगेर बन्द भएको छ। यसले मूल्य बढ्ने दर शक्तिशाली भइरहेको संकेत गरिरहेको छ।
सेन्ट्रल फाइनान्सको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा तीन करोड ६९ लाख रूपैयाँ पुगेको छ। यसअघिको वर्ष यस्तो नाफा एक करोड ६९ लाख रूपैयाँ थियो।
यसको सञ्चित नोक्सान २८ करोड रूपैयाँ छ। वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १९ पैसा छ। खराब कर्जा १२ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ। वित्तीय विवरण नाजुक नै छ।
चुक्ता पुँजी कम (९४ करोड रूपैयाँ) रहेको र सञ्चित नोक्सान थोरैथोरै भए पनि घटाइरहेकाले सेयर मूल्य बढेर किन्ने प्रवृत्ति बढेको हुन सक्छ।
विगत ११ दिनमा बजारमा सेयर बिक्री गर्नेभन्दा किन्ने बढिरहेको एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन लाइनले देखाइरहेको छ।
उच्च, न्यून र अन्तिम मूल्य र कारोबारमा आएको सेयर कित्ताको आधारमा यसको हिसाब गरिन्छ।
एकुमुलेसन देखिए यसको सेयरमा खरिददारी बढिरहेको छ र डिस्ट्रिब्युसन देखिए बिक्री बढिरहेको छ भनेर विश्लेषण गरिन्छ।
यसमा कारोबारमा आएको सेयर संख्यालाई समेत लिइने भएकाले यसले बजारमा भित्रभित्रै के भइरहेको छ भनेर थाहा हुने मानिन्छ।
एघार दिनको एकुमुलेसन मान १० करोड आठ लाख छ। यसले बजारमा सेन्ट्रलको सेयर किनेर राख्ने क्रम नै बढेको संकेत गरिरहेको छ।
बेस्ट फाइनान्स
मंगलबार मूल्य घटे पनि केही दिनदेखि बेस्ट फाइनान्सको कारोबार र मूल्य बढिरहेको छ।
लगातार तीन दिनदेखि मूल्य बढिरहेको बेस्ट फाइनान्सको वृद्धिमा मंगलबार ब्रेक लागेको हो।
तीन दिनमा सेयर भाउ ५१ रूपैयाँ बढेको बेस्टको मंगलबार मूल्य ६ रूपैयाँ घटेको छ। मंगलबार यसको सेयर ५२० रूपैयाँमा कारोबार भएको छ।
तर मंगलबार नै पनि यसको सेयर एकुमुलेसन नै भइरहेको देखिन्छ। मंगलबारको यसको मान २५ लाख छ।
विगत ११ दिनमा यसको सेयर बिक्री गर्नेभन्दा किन्ने बढिरहेको एकुमुलेसन एन्ड डिस्ट्रिब्युसन लाइनले देखाइरहेको छ।
एघार दिनको यसको एकुमुलेसन मान एक करोड ७६ लाख छ। यसले बजारमा बेस्टको सेयर किनेर राख्ने क्रम नै बढेको संकेत गरिरहेको छ।
बेस्ट फाइनान्सको यसअघिको नजिकको उच्च मूल्य ५६९ रूपैयाँ हो। यही कारण अहिले यो मूल्यमा यसले प्रतिरोध परीक्षण गरिरहेको छ।
बेस्टको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा ६ करोड ५६ लाख रूपैयाँ पुगेको छ। यसअघिको वर्ष ६ करोड ६२ लाख रूपैयाँ नोक्सानमा थियो।
यसको सञ्चित नोक्सान ४८ करोड रूपैयाँ छ। प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८० पैसा छ। खराब कर्जा ११.४९ प्रतिशतबाट बढेर १३.०८ प्रतिशत पुगेको छ।
चुक्ता पुँजी कम (८९ करोड रूपैयाँ) रहेको र सञ्चित नोक्सान थोरैथारै भए पनि घटाइरहेकाले सेयर मूल्य बढेर किन्ने प्रवृत्ति बढेको हुन सक्छ।
सेयर कारोबार जोखिममा आधारित हुने भएकाले लगानीकर्ता आफैले पनि कम्पनीको अवस्था परीक्षण गरेर मात्रै लगानी रणनीति बनाउनु सही हुन्छ।