नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केही समय पहिले र हालै ५ जना नेताहरूलाई ७ बुँदे प्रस्ताव पठाएको छ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीभित्र देखिएका मतभेद अन्त्यको प्रयासस्वरूप केही प्रस्तावहरू नेताहरूलाई पठाएको हो।
उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई आन्तरिक रूपमा ७ बुँदे प्रस्ताव पठाइएको सेतोपाटीलाई जानकारी दिए।
ती बुँदाहरू के-के हुन् भन्ने सार्वजनिक गरिएको भने छैन।
तर पार्टी केन्द्रीय समिति, निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समितिलगायतमा सबै पक्षलाई सहभागिता गरेर लैजानेदेखिका बुँदाहरू रहेको नेताहरू बताउँछन्।
सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन निवर्तमान सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनविरूद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो।
उक्त फैसला आएको तीन दिनमै सभापति गगन थापा निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनकै निवास गोल्फुटार पुगेका थिए।
त्यसको एक सातापछि फेरि उनीहरू संवादमा जुटेका थिए। उपसभापति विश्वप्रकाश शर्मालाई लिएर सभापति थापा खड्कालाई भेट्न पुगेका थिए। उनीहरूबीचमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा त्यसबेला लामो समय संवाद पनि भएको थियो।
सभापति थापाले संस्थापनइतर पक्षका नेताहरूसँग संवाद गर्न उपसभापति शर्मालाई अघि सारेका थिए। त्यसअनुसार उपसभापति शर्माले जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति खड्कालाई ७ बुँदे प्रस्ताव पठाएका थिए।
ती प्रस्तावमाथि निवर्तमान कार्यवाहक सभापति खड्काले एक सातासम्म जबाफ फर्काएनन्। त्यसपछि उपसभापति शर्मा खड्कालाई भेट्न उनकै निवास पुगे, जेठ २२ गते उनीहरूबीच भेटवार्ता भएको थियो। शर्मा र खड्काबीच त्यस दिन पार्टीभित्रको विषयमा झन्डै साढे ३ घन्टा कुराकानी भएको थियो।
त्यसबेला उनीहरूले सम्भावित साझा मतको टिपोटसमेत गरेका थिए। जेठ २४ गते पुन: बसेर प्रस्तावमाथि परिमार्जनलगायत कुरा गर्ने सहमति भए पनि त्यसअनुसार कुरा अघि बढ्न सकेन र खड्काले सोही दिन फेसबुकमा स्टाटस लेख्दै लामो समयदेखि संवाद नभएको उल्लेख गरेका थिए।
‘सभापति गगन थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क र संवाद नभएको आज ३१ दिन भयो,’ उपसभापति शर्मासँग संवादमा रहेका खड्काले जेठ २४ गते फेसबुक स्टाटस लेखेका थिए, ‘दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन।’
निवर्तमान कार्यवाहक सभापति खड्काले ७ बुँदे प्रस्तावलाई अघि बढाउन नचाहेको देखिएको भन्दै संस्थापन पक्षले संस्थापनइतर पक्षका केही नेताहरूलाई ती प्रस्तावहरू पठाएको छ।
खड्कामार्फत् नै पार्टीलाई एकढिक्का बनाउन संस्थापनले सुरूमा प्रयास गरेको थियो। तर त्यो बाटो सफल हुन नसकेपछि संस्थापनले यसको दायरा फराकिलो बनाउन खोजेको छ।
‘शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौलालाई खड्कालाई पठाएकै जस्तो ७ बुँदे प्रस्ताव पठाइएको छ, ती प्रस्ताव ह्वाट्सएपमा पठाइएको हो, उहाँहरूबाट ठोस जबाफ आइसकेको छैन,’ एक पदाधिकारीले सेतोपाटीसँग भने।
मंगलबार बिहान संस्थापनइतर पक्षका ५ जना नेताहरूलाई ह्वाट्स एप गरिएको ती पदाधिकारीको भनाइ छ। संस्थापन पक्षले संस्थापन इतर पक्षका एक-एक नेतासँग संवाद गरी सहमतिमा ल्याउन गृहकार्य अघि बढाएको छ।
गत पुसमा देउवा सभापति र खड्का कार्यवाहक सभापति हुँदा नियमित महाधिवेशन हुन सकेको थिएन। त्यसपछि पुस अन्तिममा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिमा विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा र शेखर पक्षका गरी १९ जना नेताहरू केन्द्रीय सदस्य पनि मनोनीत भइसकेका छन्। संस्थापन पक्षले देउवा र कोइराला पक्षका थप नेताहरूलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी गर्दैछ।
संस्थापन पक्षले नेताहरूसँग संवाद अघि बढाएको कुरा बाहिरिएपछि नेता शेखर कोइरालाले सचिवालयमार्फत् धारणा सार्वजनिक गरेका छन्।
‘बाहिर हल्ला गरिएअनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएको भन्नेबारे कोइराला र सचिवालयलाई अहिलेसम्म जानकारीमा छैन,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पत्रकारहरूलाई ह्वास्एपमा पठाएको सन्देशमा उल्लेख छ, ‘यस्ता मनगणन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।’
कोइरालाको सचिवालयका अनुसार विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएपछि चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २२ गते सभापति गगन थापाले नेता शेखर कोइरालालाई विशालनगरस्थित सम्पर्क कार्यालयमा भेटेका थिए।
‘त्यसभन्दा पछाडी कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन,’ स्वकीय सचिव थपलियाको भनाइ छ।
विशेष महाधिवेशनविरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा र शेखर पक्ष सँगसँगै देखिएका थिए। सर्वोच्चले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि भने कोइराला र देउवा समूहले अलगअलग गतिविधिहरू गरिरहेका छन्।
जेठ ३१ गते कांग्रेस संस्थापनइतर समूहले कोशी प्रदेशस्तरीय भेला गर्ने तयारी गरेका छन्। शेखर प्रमुख अतिथि रहने यो भेलामा देउवा पक्षका नेताहरू पनि मिसिने तयारीमा छन्। यसअघि देउवा समूहले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थितिमा गरेको कोशी प्रदेशस्तरीय भेलामा शेखर पक्ष सहभागी भएको थिएन। तर अब देउवा र कोइराला पक्षले सहकार्य गर्दै प्रदेश भेला गर्न लागेको देखिन्छ।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन घोषणा गरेको छ। त्यसका लागि क्रियाशील सदस्यता अद्यावधिक भइरहेको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार मंगलबारसम्म ५ लाख २६ हजार ५ सय ६२ जनाले क्रियाशील अद्यावधिक गरिसकेका छन्। अद्यावधिक गर्ने समय भोलि जेठ २८ गतेसम्म छ। संस्थापनइतर पक्षका नेताहरू खड्का र कोइरालाले क्रियाशील अद्यावधिक नगर्न अपिल पनि जारी गरेका थिए।
संस्थापनइतर पक्षका नेताहरूले संस्थापन पक्ष लचिलो भएर सहमतिमा नआए प्रदेश भेलाहरू गर्दै राष्ट्रिय भेला (महासमिति बैठक) बोलाउनेसम्मको तयारी भइरहेको बताउने गरेका छन्। विधानको व्यवस्था कार्यान्वयन गर्न तत्कालीन महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अगुवाइमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको सहभागिता थिएन। विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूलाई कसरी नियमित महाधिवेशनसम्म ल्याउने भन्नेमा कांग्रेस संस्थापनमाथि चुनौती छ।