नेपालमा १०० मध्ये ९१ जना आमाले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गरेको तथ्यांक सार्वजनिक भएको छ।
यो दर राष्ट्रिय योजना आयोगले सन् २०२३ का लागि तय गरेको ९० प्रतिशत लक्ष्यभन्दा माथि रहेको देखिएको छ।
सन् २०१९ को एमआईसीएस सर्वेक्षणको तुलनामा संस्थागत सुत्केरी हुने दर १३ प्रतिशतले वृद्धि भएको छ।
युनिसेफले सार्वजनिक गरेको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्वेक्षण (NMICS) २०२४/२५ अनुसार नवजात शिशुलाई जन्मिएको पहिलो एक घण्टाभित्र स्तनपान गराउने दर भने ३८ प्रतिशतमा सीमित छ। यो दर सन् २०१९ को तुलनामा चार प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
सर्वेक्षणअनुसार पाँच वर्षमुनिका २६ प्रतिशत बालबालिका पुड्कोपन (स्टन्टिङ) बाट प्रभावित छन्। यद्यपि यो अवस्था सन् २०१९ को तुलनामा ६ प्रतिशतले घटेको छ।
त्यस्तै, पाँच वर्षमुनिका सात प्रतिशत बालबालिका ख्याउटेपन (वेस्टिङ) को समस्याबाट पीडित रहेको र यो दर पनि अघिल्लो सर्वेक्षणको तुलनामा पाँच प्रतिशतले घटेको उल्लेख छ।
बाल पोषणको क्षेत्रमा केही सकारात्मक सुधार देखिएको छ। न्यूनतम खाद्य विविधता पूरा गर्ने बालबालिकाको संख्या ५२ प्रतिशत पुगेको छ, जुन सन् २०१९ को तुलनामा १२ प्रतिशतले बढी हो।
त्यसैगरी, १५ देखि १९ वर्ष उमेर समूहका नौ प्रतिशत किशोरकिशोरी डिप्रेसन वा चिन्ताजन्य समस्याबाट प्रभावित रहेको सर्वेक्षणले देखाएको छ।
साथै, १०० मध्ये सात जना महिलाले २० वर्ष नपुग्दै सन्तान जन्माउने गरेका छन्, जुन सन् २०१९ को तुलनामा दुई प्रतिशतले कम हो।