नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ।
प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार दुबई एभिएसन कर्पोरेसन फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेस गरेपछि अनुमति दिइएको हो।
अनुमति अनुसार 'बोइङ ७३७' विमान प्रत्येक दिन बिहान ८:०५ बजे पोखरा अवतरण गर्नेछ भने ९:०५ बजे दुबईका लागि उड्नेछ।
'फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि अनुमति मागेको थियो। सोही अनुसार अनुमति दिएका छौं,' गौतमले भने, 'यसले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्न सक्छ।'
पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको हुनेछ। दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने यात्रु तथा पर्यटकले यस सेवाबाट लाभ लिन सक्ने उनले बताए।
हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै पोखराबाट उडान सम्भाव्यताबारे अध्ययन गर्दै आएको थियो। प्रारम्भिक एक महिनाको उडानपछि थप तालिकाबारे निर्णय गरिने जनाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि हिमालय एयरलाइन्सले चीनको ल्हासासम्म नियमित उडान सञ्चालन गरेको थियो। पर्याप्त यात्रु नपाएपछि उक्त सेवा हाल स्थगित छ।
विमानस्थलबाट चीन, भुटान र भारतका विभिन्न गन्तव्यमा चार्टर उडान भने बेलाबेला हुँदै आएका छन्।
फ्लाई दुबईको सेवा पोखरा विमानस्थलबाट हुने दोस्रो नियमित अन्तर्राष्ट्रिय उडान हुनेछ। पर्यटन व्यवसायीहरूले दुबईमार्फत विश्वका प्रमुख गन्तव्यसँग पोखराको हवाई पहुँच विस्तार हुने अपेक्षा गरेका छन्।
होटल संघ पोखराका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल 'रमेश' ले उडान सुरू हुनु मात्र पर्याप्त नभई त्यसलाई दिगो रूपमा सञ्चालन गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
'दुबईमार्फत युरोप र अमेरिकाबाट आउने पर्यटकका लागि पोखरा थप पहुँचयोग्य बन्न सक्छ,' उनले भने, 'तर सेवा नियमित र व्यावसायिक रूपमा सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ।'
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुबईलाई विश्वका प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिट केन्द्रमध्ये एक भएकाले यस उडानले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने बताए।
उनका अनुसार मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक र विदेशी पर्यटक दुवैलाई यस सेवाले लाभ पुर्याउन सक्छ।
'दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले पोखरालाई विश्वका सयौं सहरसँग जोड्ने सम्भावना सिर्जना गर्छ,' उनले भने।