आफ्नो पार्टीको नाम, नेतृत्व, पद, चुनाव चिह्न केही पनि नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग 'निसर्त' एकताको निर्णय गरेपछि विवेकशील साझाकी रञ्जु दर्शना बुधबार आधा रातसम्म निदाउन सकिनन्।
विवेकशील साझाको केन्द्रीय समिति बैठकबाट एकताको निर्णय पारित गराएर घर फर्किँदा रातको ९ बजेको थियो।
दिनभरि पार्टीको कामले थकित भए पनि रञ्जुको आँखामा निद्रा थिएन।
निद्रा नपर्नुको कारण मनमा उम्लिएको एउटा भावुक तर्कना थियो — १२ वर्षदेखि आफ्नो जोस, जाँगर र ऊर्जा अर्पण गरेको विवेकशील पार्टी अब रहेन!
यही तर्कनाले विचलित मन भुलाउन रञ्जुले विवेकशीलका पुराना दस्तावेज पल्टाइन्।
मुस्कानको 'इमोजी' अंकित ब्याज छातीमा टाँसेर, हातमा प्लाकार्ड बोक्दै कुशासन, भ्रष्टाचार र असमानताविरूद्ध भोकभोकै प्रदर्शन गर्दाका क्षण सम्झिइन्।
स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिविरूद्ध डा. गोविन्द केसीले छेडेको अभियानमा साथ दिँदै माइतीघरमा घाँटी सुक्ने गरी नारा लगाउँदाको तस्बिर हेरिन्।
र, आजसम्मको यात्रामा के सिकेँ, के सिक्न बाँकी रह्यो भनेर केस्रा केस्रा केलाइन्।
पुरानो याद भनेको साबुनजस्तै हुन्छ, जति घोट्यो उति फिँज आइरहन्छ।
रञ्जुलाई पनि त्यस्तै भयो।
२०७० सालमा विवेकशील अभियानसँग जोडिएकी रञ्जुले आफ्नै तन्नेरी तस्बिर हेरिरहँदा र त्यति बेला लेखेका दस्तावेज पढिरहँदा ती सारा पल आँखाअगाडि सजीव हुँदै गए।
उनले आफ्ना पुराना साथीहरूलाई सम्झिइन्, जोसँग मिलेर 'देश बदल्ने' सपना देखेकी थिइन्।
विवेकशील अभियानलाई राजनीतिक पार्टीको रूप दिन दिनरात झेलेका दुःखकष्ट पनि सम्झिइन्।
अनि सम्झिइन्, विवेकशीलका संस्थापक उज्ज्वल थापालाई, जसको आदर्श र सिद्धान्तबाट प्रेरित भएर रञ्जु राजनीतिमा हाम्फालेकी थिइन्। उनकै हात समातेर अघि बढ्दै आजको दिनसम्म आइपुगेकी थिइन्।
जब मान्छेलाई आफूले गरेको निर्णयमाथि प्रश्न उठ्छ, तब ऊ त्यो मान्छेलाई सम्झिन्छ, जसलाई आफ्नो प्रेरणा ठान्छ। र, आफूले गरेको निर्णयलाई पनि त्यही 'प्रेरक' मान्छेको दृष्टिबाट हेर्न खोज्छ, पर्गेल्न खोज्छ।
रञ्जुले पनि त्यसै गरिन्।
उनले सोचिन् — आज उज्ज्वल थापा जीवित भइदिएका भए के गर्थे?
उनले सोचिन् — जुन वैकल्पिक राजनीतिको ढोका खोल्न उज्ज्वलले विवेकशील अभियान सुरू गरेका थिए, आज त्यो अभियान वा पार्टीको नाम र नेतृत्व नै मासिने गरी रास्वपामा समाहित हुन के उनी तयार हुन्थे?
उनले यो पनि सोचिन् — के उज्ज्वल थापाको आत्माले विवेकशील पार्टीको निर्णय स्वीकार गर्छ?
उज्ज्वल थापासँग रञ्जु दर्शना।
'उज्ज्वल दाइ 'रिजिड' व्यक्ति होइन। उहाँ एकदमै परिवर्तनशील हुनुहुन्थ्यो,' रञ्जुले उज्ज्वललाई सम्झँदै मनमा गमेका कुरा बाँड्दै बिहीबार बिहान मसँग भनिन्, 'मान्छेले पुराना कुरामा अड्किएर बस्ने होइन, नयाँ सोच र नयाँ लक्ष्यका साथ अघि बढ्न तयार हुनुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो।'
उनले अगाडि भनिन्, 'उज्ज्वल दाइसँग काम गर्दा हामीले धेरै दु:खकष्ट बेहोरेका थियौं। थुप्रै आन्तरिक द्वन्द्व झेलेका थियौं। जस्तोसुकै परिस्थितिमा संगठन बलियो बनाउनुपर्छ र घेरा विस्तार गर्दै जानुपर्छ भनेर उहाँ हामीलाई सम्झाउनुहुन्थ्यो। पुराना कुरामा रूमलिएर बस्ने होइन, आफ्नो अभियान जीवित राख्न नयाँ परिवेशसँग हात मिलाउन तयार हुनुपर्छ भन्नुहुन्थ्यो।'
त्यही सोचले नै विवेकशीलका संस्थापक उज्ज्वल आफ्नै कार्यकालमा साझा पार्टीसँग एकता गर्न तयार भएको रञ्जु सम्झन्छिन्।
'त्यसैले उहाँ जीवित भइदिएको भए पनि जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक माहोलमा विवेकशील अभियान बचाइराख्न रास्वपासँग एकता गर्ने जुन निर्णय हामीले गर्यौं, त्यसमा उहाँको पक्कै समर्थन रहन्थ्यो। यसमा मलाई कुनै शंका छैन,' रञ्जुले भनिन्।
मैले रञ्जुलाई त्यति बेला चिनेको थिएँ, जब उनी विवेकशील पार्टीका 'फायर ब्रान्ड' नेता थिइन्।
अहिले जेनजी युवाहरू पुराना राजनीतिक दलको भ्रष्टीकरण र देशमा व्याप्त नातावाद, कृपावाद र भ्रष्टाचारविरूद्ध सडकमा ओर्लिएजस्तै रञ्जु पनि त्यति बेला यिनै माग राख्दै सडकमा प्रदर्शन गरिरहेकी देखिन्थिन्।
मुस्कानको 'इमोजी' अंकित विवेकशीलको ब्याज उनको टिसर्ट वा झोलामा कहिल्यै टुट्थेन।
उनको व्यक्तित्व र परिचय नै विवेकशीलसँग जोडिएको थियो।
रञ्जु भन्नु नै 'विवेकशील' थियो।
विवेकशील अभियानको सुरूआत २०६९ सालतिर भएको हो। पुराना राजनीतिक दलका तौरतरिकाबाट वाक्क भएर उज्ज्वल थापाले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए।
उनी विवेकशीललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून्। राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भनेर चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।
धेरै युवा पुस्तामा राजनीति भनेको फोहोरी दलदल हो र यसमा ओर्लिनु फोहोरमा लतपतिनु हो भन्ने धारणा छ। ती युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने सन्देश उज्ज्वलले दिएका थिए।
थापाको व्यक्तित्व सरल र शालिन थियो। कुनै तामझाम थिएन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए।
उनी राजनीतिमा त थिए, तर राजनीतिक महत्वाकांक्षा उनमा थिएन। राजनीति बदल्ने हुटहुटी र दृढता भने थियो। बिपी कोइरालाले भनेजस्तो उनमा 'ठूलो मान्छे होइन, असल मान्छे हुने' ध्येय देखिन्थ्यो।
शक्ति र सत्ता नै राजनीतिक उचाइको मानक हो भने उज्ज्वल थापा नेपाली राजनीतिका 'फुटनोट' मात्र हुन्। तर शक्ति र सत्तामा नपुगे पनि नागरिक स्तरमा चेतनाको लहर फैलाउन उज्ज्वलले गरेको योगदान केलाउने हो भने उनी सिंगो 'च्याप्टर' नै हुन्।
जब जब नेपालमा वैकल्पिक राजनीतिको चर्चा हुनेछ, उज्ज्वलको नामबिना त्यो चर्चा अधुरो रहनेछ, अपुरो रहनेछ।
उनी नेपाली राजनीतिका एक मात्र यस्ता व्यक्ति पनि हुन्, जसले शक्ति र सत्तामा कहिल्यै नपुगे पनि मान्छेको साथ खुब कमाए। उनको जीवनको अन्तिम यात्रामा जनसमुदायको ठूलो भिड उर्लिएको थियो। कोरोना संक्रमित भएर दुई साता अस्पतालमा उपचार गराउँदा उनको पक्षमा नेपाली समाजले गहिरो सदभाव झल्काएको थियो। उनको उपचारका लागि २४ घन्टामै ५० लाख रूपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन हुनु चानचुने कुरा थिएन।
नेपाली राजनीतिमा वैकल्पिक 'स्पेस' को वकालत गरेका उज्ज्वलको त्यही अवधारणाबाट प्रभावित भएर धेरै युवा उनीसँग जोडिएका थिए।
रञ्जु तिनैमध्ये एक थिइन्।

आजभन्दा १२ वर्षअघि १२ कक्षा पढ्दै गर्दा विवेकशील अभियानसँग जोडिएर उज्ज्वलकै राजनीतिक 'स्कुलिङ' मा हुर्किएकी रञ्जुलाई आज त्यही विवेकशील नामधरि नरहने गरी रास्वपासँग मिल्ने निर्णय गर्दा कस्तो लाग्यो होला? आफ्नो परिचय र व्यक्तित्व नै मेटिए जस्तो लाग्यो कि लागेन होला?
यही प्रश्न मैले बिहीबार बिहान रञ्जुसँग गरेको थिएँ।
मेरा यिनै जिज्ञासाको जबाफ दिने क्रममा रञ्जुले बुधबार आधा रातसम्म मनमा उम्लिएका यादहरूको तुफान मसँग बाँडेकी थिइन्।
'मनमा दु:ख छैन भनेर भन्दिनँ। इमोसनल पनि धेरै नै भएँ। तर पार्टीको बृहत्तर हित र आफूले सुरू गरेको अभियान नयाँ उचाइमा पुर्याउन र घेरा फराकिलो पार्न हामीले आजको समयलाई हेरेर सही निर्णय गरेका छौं भन्ने लाग्छ। उज्ज्वल (थापा) दाइले एक एक इँटा जोडेर विवेकशील अभियानलाई राजनीतिक संगठनका रूपमा अगाडि बढाउनुभयो। त्यसमा फेरि हामीले एक एक इँटा थप्दै यहाँसम्म ल्याइपुर्यायौं। रास्वपासँगको एकतापछि यो अभियान अझ बृहत् घेरामा विस्तार हुन्छ भन्ने मेरो विश्वास छ,' उनले भनिन्।
'जेनजी विद्रोहले देशको राजनीतिक अवस्था परिवर्तन गर्न खोजेको हो, व्यवस्था परिवर्तन होइन,' उनले भनिन्, 'नयाँ पुस्ताले चाहेजस्तो राजनीतिक अवस्था परिवर्तन गर्न फागुन २१ को निर्वाचन अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यो चुनावको नतिजाले नै देशको आगामी दिशा तय गर्नेछ। यस अर्थमा, समान विचारधारा राख्ने र वैकल्पिक राजनीतिको जगमा उभिएका यी दुई पार्टी एक ठाउँमा आउँदा सकारात्मक परिवर्तन हासिल गर्न सकिन्छ। यही सोचेर हामी रास्वपासँग एकतामा गएका हौं।'
यो त बृहत्तर राजनीतिको कुरा भयो, रञ्जुको राजनीतिक चेतले भन्ने कुरा भयो।
तर हरेक राजनीतिक प्राणीभित्र मानवीय भावुकता पनि हुन्छ। राजनीतिक चेतले गरेको निर्णय आफ्नो ठाउँमा होला, तर उनको मानवीय भावुकताले चाहिँ अहिलेको निर्णयलाई कसरी हेर्छ?
आजसम्मको राजनीतिक यात्रामा रञ्जु त्यही पार्टीमा रहिन्, जहाँ उनले राजनीति सिकिन्।
त्यो संगठन, त्यहाँको वातावरण र त्यहाँका सहकर्मी अधिकांश तिनै व्यक्ति थिए, जसलाई उज्ज्वल थापाले वैकल्पिक राजनीतिको बाटोमा हिँड्न सिकाए। तर अब उनी जहाँ कदम राख्दै छिन्, त्यो उनका लागि नितान्त नयाँ संगठन र नयाँ वातावरण हो।
एक किसिमले भन्दा, बिहे गरेर माइतीबाट ससुराली घर गएजस्तै!
के रञ्जुलाई पनि त्यस्तै अनुभव भइरहेको छ, जुन अनुभव नयाँ दुलहीलाई हुन्छ?
जबाफमा उनले भनिन्, 'पक्कै पनि यो संगठन र यहाँको वातावरण मेरा लागि नयाँ हो। पहिलेभन्दा केही फरक त पक्कै होला। तर माहोल नयाँ भए पनि म पुरानैजस्तो हुनेछु।'
'कतिपय कुरा चित्त नबुझ्न सक्छ, चित्त नबुझेको कुरामा मलाई यो यो चित्त बुझेन भनेर भन्न छाड्दिनँ,' रञ्जुले अगाडि भनिन्, 'आफ्नो कुरा भन्न नछाड्ने र वैकल्पिक अवधारणा अगाडि सार्ने उद्देश्यले नै उज्ज्वल दाइले विवेकशील सुरू गरेर वैकल्पिक राजनीतिको ढोका खोल्नुभएको हो। म त्यही अभियानबाट आएकी विद्यार्थी हुँ। त्यहाँको सिकाइ जीवनभर मसँग रहनेछ।'
यति भन्दाभन्दै पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न र अहिलेलाई आफ्नो पदको समेत टुंगो नहुने गरी रास्वपासँग एकता गर्दा राजनीतिक अस्तित्व मेटिने खतरा छैन? गुमनाम भइने डर छैन?
मेरा यी जिज्ञासामा रञ्जुले यो एकता 'केही माग्ने र केही दिनेभन्दा पनि वैकल्पिक राजनीतिको अभियान जीवित राख्ने' उद्देश्यले भएको बताइन्।
उनलाई सबभन्दा बढी खुसी यो एकतापछि विवेकशील अभियानको 'राजनीतिक घेरा फराकिलो हुनेछ' भन्नेमा छ।
जहाँसम्म पदको कुरा छ, उनी भन्छिन्, 'यात्रा लामो छ। सबै कुरा बिस्तारै टुंगो लाग्दै जाला।'
रञ्जुले भनेको 'फराकिलो राजनीतिक घेरा' लाई विवेकशीलको राजनीतिक अंकगणितका आधारमा हेर्ने हो भने हाम्रो अगाडि यस्तो तस्बिर आउँछ, जहाँ एउटा पार्टीले आफ्नो अस्तित्व जोगाउन संघर्ष र सम्झौता गरिरहेको छ।
करिब डेढ दशकदेखि राजनीतिमा रहँदै आए पनि आजको समयसम्म विवेकशीलले खासै ठूलो राजनीतिक आधारभूमि बनाउन सकेको छैन।
विवेकशीलका अभियानहरू युवा पुस्तामा लोकप्रिय भए, रञ्जु दर्शना लगायत नेतालाई आमजनताले माया पनि खुबै दिए, उनीहरूले उठाएका एजेन्डा मन पराए, समर्थन पनि गरे; तर त्यो समर्थन कहिले पनि भोटमा परिणत भएन।
पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता हासिल हुन सकेन।
विवेकशीलले पाएको सबभन्दा ठूलो चुनावी सफलता भनेको रञ्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बन्दा हो।
नेकपा एमालेबाट विद्यासुन्दर शाक्य निर्वाचित हुँदा रञ्जु तेस्रो भएकी थिइन्। जित हात पार्न नसके पनि एमाले र कांग्रेसका उम्मेदवारलाई रञ्जुले दिएको प्रतिस्पर्धा आज पनि स्मरणीय छ।
विद्यासुन्दर शाक्यसँग रञ्जु दर्शना।
तर उनै रञ्जुले २०७९ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिँदा जम्मा ६०० भोट ल्याइन्। त्यति बेला विवेकशील र साझा पार्टीको एकतापछि उनले सैद्धान्तिक असहमति राख्दै राजीनामा दिएकी थिइन् र 'सेलरोटी' चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन्।
त्यसै वर्ष स्थानीय निर्वाचनमा विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार थिइन्। बालेन शाह विरूद्धको त्यो प्रतिस्पर्धामा उनले जम्मा ६४७ भोट ल्याइन्।
त्यति बेला विवेकशीलका नेताहरूमध्ये बढी भोट ल्याउने मिलन पाण्डे थिए। उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट २३२७ भोट ल्याएका थिए।
त्यसपछिका समयमा पनि विवेकशील साझा पार्टीको राजनीतिक आधारभूमिमा खासै सुधार हुन सकेको देखिँदैन।
आधारभूमि मात्र होइन, पछिल्लो समय विवेकशीलका नेताहरू नै एकपछि अर्को लाखापाखा लागिरहेका छन्। कोही काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जोडिन पुगेका छन् भने कोही रवि लामिछानेलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका छन्।
हुँदाहुँदा भर्खरै खुलेको कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र वीरेन्द्रबहादुर बस्नेतको गतिशील लोकतान्त्रिक पार्टीमा पनि विवेकशीलबाट आएका नेताहरूको नाम सुनिन्छ।
यसरी राजनीतिक आधारभूमि कमजोर भएको र नेताहरू चुहिँदै गएका बेला विवेकशील साझाका लागि आफ्नो साख जीवित राख्न पनि कुनै न कुनै दलसँगको सहकार्य जरूरी थियो। यस्तोमा वैकल्पिक राजनीतिको परिचयसँगै जोडिएको र आफ्ना केही नेता पहिले नै आबद्ध भइसकेको रास्वपामाथि विवेकशीलले भर गरेको देखिन्छ।
यसबारे रञ्जुलाई सोध्दा उनले भनिन्, 'विवेकशीलले वैकल्पिक राजनीतिको जग खन्यो। त्यही जगमा राष्ट्रिय स्वतन्त्र पार्टी बनेको हो। यस हिसाबले हामी दुवै परम्परागत दलहरूको विकल्पमा आएका राजनीतिक पार्टी हौं। हामी दुवैको स्थापना समान उद्देश्यले भएको हो। त्यसैले राजनीतिक विचार पनि समान छ। यो समान राजनीतिक विचारलाई एक ठाउँमा राख्यौं भने वैकल्पिक राजनीतिको नेतृत्व गर्न सकिन्छ भन्ने उद्देश्यले हामी एकतामा आएका हौं।'
'अब फुटको राजनीति गर्ने समय छैन। २०८४ को चुनावबाट युवा पुस्ताले अपेक्षा गरे अनुसारको परिवर्तन ल्याउन पनि समान विचार भएका शक्ति एक हुनुपर्छ,' उनले भनिन्, 'हाम्रो एकता त्यसैका लागि हो।'
यो एकताले विवेकशील अभियानलाई दीर्घकालमा फाइदा गर्छ कि गर्दैन वा यो निर्णय सही भयो कि भएन भन्ने आलोचनात्मक विश्लेषण गर्ने जिम्मा रञ्जुले भविष्यको हातमा सुम्पेकी छन्।
उनी स्वयं भने व्यक्तिगत रूपमा विवेकशीलले दिएको परिचयबाट कहिल्यै मुक्त हुन सक्दिनन्। र, उनी मुक्त हुन चाहँदिनन् पनि।
'म जबसम्म जीवित रहन्छु, मेरो परिचय भन्नु विवेकशील नै हो। अब म रास्वपाको भएँ, मेरा राजनीतिक गतिविधि रास्वपासँगै जोडिएर आउने छन्। तर मेरो राजनीतिक मूल्य–मान्यता सधैं त्यही हुनेछ, जुन मलाई विवेकशीलले सिकायो। राजनीतिक व्यक्तिका रूपमा रञ्जु दर्शनाको जन्म त्यहीँ भएको हो, म त्यहीँ हुर्केकी हुँ। त्यसैले विवेकशीलबाट अलग राखेर त म आफूलाई हेर्नै सक्दिनँ,' उनले भनिन्।
रास्वपासँग जोडिए पनि उनको एउटा कोसिस भने सदा रहनेछ — उनी भविष्यमा पनि कुनै न कुनै रूपले विवेकशील अभियान जीवित राख्न चाहन्छिन्। र, त्यसैमा आफूलाई समर्पित गर्न चाहन्छिन्। त्यो रास्वपा अन्तर्गत कुनै कार्यक्रमका रूपमा हुन सक्छ वा छुट्टै अभियान पनि हुन सक्छ।
'विवेकशीलको सुरूआत राजनीतिक दलका रूपमा होइन, अभियानका रूपमा भएको हो। त्यसैले रास्वपा अन्तर्गत कुनै बृहत् कार्यक्रमका रूपमा यसलाई अघि बढाउने सम्भावना जीवित छ। त्यो कार्यक्रम कस्तो हुन्छ, म अहिल्यै भन्न सक्दिनँ, तर म त्यसमा काम गर्नेछु,' रञ्जुले भनिन्।

मैले रास्वपासँगको एकताबारे विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डेसँग पनि संक्षिप्त कुरा गरेको छु।
उनी रञ्जुजस्तै उज्ज्वल थापाको राजनीतिक 'स्कुलिङ' मा हुर्किएका मात्र होइनन्, विवेकशीलमा उज्ज्वलको विरासत धानेका व्यक्ति पनि हुन्।
बुधबार एकताको निर्णयपछि सार्वजनिक केन्द्रीय समिति बैठकको तस्बिरमा मिलन देखिएका थिएनन्। यसले एकताको निर्णयमा उनको सहमति छैन कि भन्ने शंका जन्माएको थियो।
मैले कुराकानीको सुरूआत त्यसैबाट गरेँ।
जबाफमा उनले भने, 'म लामो समयदेखि पार्टीमा निस्क्रिय रहँदै आएको छु। मिटिङहरूमा पनि गएको छैन। त्यसैले तस्बिरमा नदेखिएको हुँ। तर साथीहरूसँग कुराकानी भइरहन्छ। यो एकताका लागि पनि कुराकानी भएको थियो। यसमा मेरो समर्थन छ।'
मैले उनलाई सोधेँ, 'विवेकशीलको परिचय नै नरहने गरी एकता हुँदा कस्तो लाग्यो त?
'परिवारको कुनै सदस्यलाई भेन्टिलेटरमा राखेर बचाइएको छ भने कस्तो लाग्छ? आधा दुःख, आधा खुसी,' मिलनले भने, 'मलाई पनि त्यस्तै लागिरहेको छ।'
'तर गेम इज नट ओभर (खेल सकिएको छैन), राजनीतिक जीवनमा रहेसम्म विवेकशील अभियानलाई जीवित राख्ने प्रयास गरिरहनेछु,' उनले भने।
रञ्जुले जस्तै मिलनले पनि रास्वपासँगको एकतालाई 'जेनजी आन्दोलनपछि उत्पन्न समयको माग' भनेका छन्।
र, विवेकशीलका संस्थापक उज्ज्वल थापा भइदिएका भए पनि यो राजनीतिक प्रयोगमा समर्थन नै जनाउँथे भन्ने विश्लेषण गर्छन्।
'उहाँ राजनीतिक प्रयोगका लागि कहिल्यै हच्किनुभएन। साझा पार्टीसँगको एकता त्यसैको परिणाम हो,' उनले भने, 'अहिलेको एकतालाई पनि उहाँले इमानदार प्रयासकै रूपमा लिनुहुन्थ्यो होला। मैले पनि इमानदार प्रयासकै रूपमा देखेको छु।'
आखिरीमा उनले विवेकशीलको सुरूआतदेखि आजसम्मको यात्राको सार यसरी खिचे —
'हामीले कठिनभन्दा कठिन परिस्थितिमा विवेकशील अभियानलाई जोगाएर यहाँसम्म ल्यायौं। यो एकताले पनि सम्भावनाको नयाँ ढोका खोल्न सक्छ।'
'आज विवेकशील अभियानमा हुर्किएका नेताहरू सबैतिर छन्। पुराना पार्टीमा छन्, नयाँ खुलेका पार्टीमा पनि छन्। मेयरदेखि प्रधानमन्त्रीको सचिवालयमा समेत छन्। तर विवेकशील आफै चाहिँ अब नरहने भयो।'
***