वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
उनीविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो।
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सोही विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए।
यही विषयमा अनुसन्धान गर्न सोमबार प्रहरीले मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई पनि नियन्त्रणमा लिएको थियो।
पक्राउ पुर्जी जारी भएपछि जेठ १३ गते बुधबार नगरप्रमुख राजेशमान पर्सा जिल्ला अदालत पुगेका थिए तर अदालतले कार्यव्यस्तता रहेको जनाएपछि उपस्थित लगायत कानुनी प्रक्रिया सुरू हुन सकेन।
प्रशासनबाट जानकारी पाएपछि अदालतबाट फर्किएको उनले बताएका थिए।
पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज.महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
नगरप्रमुख राजेशमानले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोप छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप राजेशमानमाथि लागेको छ।
त्यही कसुरमा राजेशमान विरूद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ।
प्रहरीले आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको छ।