सरकारले बजेट वक्तव्यमार्फत दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरेपछि गैरआवासीय नेपाली तथा प्रवासी नेपाली समुदायले त्यसको पुनर्विचार गर्न आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिललाई दक्षिण–दक्षिण सहकार्य, व्यापार, लगानी, प्रविधि हस्तान्तरण तथा आर्थिक अवसर विस्तारका महत्वपूर्ण केन्द्रका रूपमा उपयोग गर्न सकिने भन्दै दूतावासलाई खर्च केन्द्र नभई आय र आर्थिक कूटनीतिको माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
उनले ती दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
यस्तै, एनआरएनए दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराईले परराष्ट्र मन्त्री शिशिर खनाललाई खुला पत्र लेख्दै दक्षिण अफ्रिकास्थित नेपाली दूतावास बन्द गर्ने निर्णय रणनीतिक रूपमा ठूलो भूल हुने बताएका छन्।
उनका अनुसार दक्षिण अफ्रिका अफ्रिकाको प्रमुख आर्थिक केन्द्र, जी–२० सदस्य, ब्रिक्स (BRICS) राष्ट्र तथा अफ्रिका प्रवेशद्वारका रूपमा परिचित देश हो।
त्यहाँ करिब २ हजारदेखि २ हजार ५ सय नेपाली कार्यरत छन् भने करिब १५० नेपाली विद्यार्थी पाइलट तालिममा अध्ययनरत छन्। दूतावास बन्द हुँदा उनीहरूको कूटनीतिक संरक्षण कमजोर हुने उनले उल्लेख गरेका छन्।
दक्षिण अमेरिकास्थित नेपाली समुदायले पनि ब्राजिलमा रहेको नेपालको एकमात्र कूटनीतिक नियोग खारेज गर्ने निर्णयप्रति दुःख व्यक्त गरेका छन्।
एनआरएनए एनसीसी कोलम्बिया, दक्षिण अमेरिकाका अध्यक्ष छत्रबहादुर मैनालीद्वारा जारी विज्ञप्तिमा दक्षिण अमेरिकामा नेपालको कूटनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि उक्त नियोग महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ।