नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले पार्टीले छाया सरकार गठन नगरेको बताएका छन्।
सञ्चार माध्यमहरूमा कांग्रेसले छाया सरकार गठन गरेका खबर आएपछि संसदीय दल नेता आङ्देम्बेले पार्टीले विषयगत समिति संयोजकहरू तोकेको र त्यसलाई छाया सरकार भन्न नमिल्ने प्रष्टीकरण दिएका छन्।
१८ वटा मन्त्रालयलाई आधार मानेर कांग्रेस संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजकहरू तोकिएको र त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने उनको भनाइ छ।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी दिएका हौं, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन,’ उनले भने।
कांग्रेसले ‘छाया सरकार’ जस्तो संरचना नबनाएको पनि उनले बताएका छन्।
‘हामीले बनाएको छाया सरकार होइन। संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो। पहिले छाया सरकार भन्थे, अहिले त्यस्तो होइन,’ उनले भनेका छन्।
कांग्रेसले मन्त्रालयगत रूपमा संयोजक नै तोकेर गतिविधि नियाल्न खोजेको छ।
जसअनुसार गृह सांसद प्रकाशसिंह कार्की, अर्थ नरेन्द्रकुमार केरूङ, परराष्ट्र सुनिलबहादुर थापा, पूर्वाधार विकास मोहन आचार्य, शिक्षा तथा खेलकुद फिर्दोष आलम, स्वास्थ्य तथा खाद्य स्वच्छता चन्द्रमोहन यादव, उद्योग वाणिज्य तथा आपूर्ति विष्णुबहादुर खड्का, कृषि वन तथा पर्यावरण प्रमिला कुमारी गच्छदार, कानुन न्याय तथा संसदीय मामिला खम्बबहादुर खाती, रक्षा खड्ग शाही, सूचना तथा सञ्चार मनमाया विश्वकर्मा, युवा, श्रम तथा रोजगार गीता गुरूङ, विज्ञान प्रविधि तथा नवप्रवर्तन सन्दीप राना, ऊर्जा जलस्रोत तथा सिँचाइ सन्तोष सुब्बा, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा गंगालक्ष्मी अवाल, भूमि व्यवस्था सहकारीमा जनकराज गिरी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा योगेश गौचनले हेर्ने गरी विषयगत संयोजक तोकिएको हो।