कीर्तिपुर क्रिकेट मैदानमा गरमागरम प्रतिस्पर्धा चलिरहेको छ। पारापिट दर्शकले भरिएको छ।
मैदान र पारापिटको बीचमा हिँडिरहन्छन् संसारकै दुर्लभ एकसिंगे गैंडा र पाटेबाघ। कहिले जंगलको राजा सिंह नाच्दै गरेको देखिन्छ। कहिले हिउँ चितुवाहरू दर्शकलाई हात हल्लाउँदै हिँड्छन्। अनि, कहिले कोशीमा पाइने अर्ना र कर्णालीको याक जुधेको पनि देखिन्छ।
यति मात्र कहाँ हो र!
हिमालमा मात्र पाइने हिउँ चितुवा र तराईमा मात्र पाइने गैंडा कीर्तिपुरको मैदानमा हात मिलाइरहेका देखिन्छन्। जंगलमा गन्ध सुँघेरै कुलेलाम ठोक्ने अर्ना यहाँ पाटेबाघसँग अंकमाल गर्छ। गैंडा र सिंह गीतको धुनमा व्यावसायिक नर्तकझैं नाच्न थाल्छन्।
यति देख्न पाएपछि दर्शकलाई पनि के चाहियो! उनीहरूको मोबाइल त्यतै सोझिइहाल्छ।
यस वर्ष दोस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) को क्रेज निकै बढेको छ। क्रिकेटप्रेमीका लागि यो एउटा पर्व नै बन्न पुगेको छ। पर्वमा रौनक ल्याउन सघाएका छन् गैंडा, बाघ, सिंह, हिउँ चितुवा लगायत जनावरको रूप धारण गरेका 'मस्कट'हरूले।
-1764499354.jpg)
एनपिएल प्रतियोगितामा चौका–छक्का मारिरहेका खेलाडी जति भाइरल छन्, त्यति नै भाइरल छन् यी मस्कट।
क्रिकेट हेर्न गएका दर्शकले आफ्नो टिकटकमा खेलाडीहरूको त्यति भिडिओ हालेका छैनन्, जति यी मस्कटको हालेका छन्। मैदानमा खेलाडीको रोमाञ्चक क्षणलाई मस्कटका मनोरञ्जनात्मक दृश्यले 'ओभरटेक' गरिरहेका छन्।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्ष नै हिउँ चितुवाको मस्कट एनपिएलमा प्रदर्शन गरेको थियो। तर सुरूको वर्ष आठ टिममध्ये चितवन राइनोजले मात्र मस्कट भित्र्याएको थियो। उसले चितवनबाट टिम घोषणा गर्दै एकसिंगे गैंडाको मस्कट सार्वजनिक गरेको हो।
यसपालि भने सुदूरपश्चिम रोयल्सको बाघ, कर्णाली याक्सको याक, लुम्बिनी लायन्सको सिंह, विराटनगर किङ्सको अर्नाको मस्कट पनि थपिएका छन्।
उनीहरू सबैको एउटै उद्देश्य छ, आफ्नो टिमको प्रचार र फ्यानहरूलाई मनोरञ्जन।
एनपिएल प्रायोजक सिद्धार्थ बैंकले पनि 'सिड द मस्कट' लाई प्रचार माध्यम बनाएको छ। ऊ दर्शक नजिक पुगेर नाच्छ, जिस्कन्छ, विभिन्न गतिविधि गर्छ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने टिमसँग फ्यानहरूको सम्बन्धलाई भावनात्मक बनाइराख्न मस्कट महत्त्वपूर्ण हुने बताउँछन्।
'दर्शकले आफ्नो ठाउँमा बसेर खेलाडीको खेल हेर्नुहुन्छ। ब्रान्ड एम्बेसडरहरू पनि आफ्नै ठाउँमा बसेका हुन्छन्। मस्कट चाहि दर्शकसँग रमाउँदै हिँडिरहेको हुन्छ। दर्शकले उसमा आफ्नो टिम देख्छन्। त्यसैले हामीले पहिलो सिजनमै मस्कट भित्र्यायौं,' न्यौपानेले भने, 'चितवन नामको टिम पाइयो। त्यसमा दोस्रो शब्द सोच्दै नसोची राइनोज जोडेका थियौं हामीले। किनभने, चितवन गैंडाको घर हो।'
त्यसपछि गैंडालाई संसारभर चिनाउने र पर्यटनमा समेत सघाउने उद्देश्यले यसैलाई टिमको मस्कट बनाएको उनले बताए।
नेपालमा एनपिएलको चर्चा हुँदै गर्दा आयुष अस्ट्रेलियाबाट पढाइ पूरा गरेर घर फर्किएका थिए। केही महिनामा नेपालले फ्रेन्चाइज क्रिकेट एनपिएल गर्ने निधो भयो। एनपिएलले तीन प्रदेश र पाँच सहरको नामबाट टिम बनाउन लागेको थियो। ६ वटा प्रदेशबाट एक–एक वटा र बागमतीबाट काठमाडौं र चितवन नामको टिम बन्दै थियो।
नेपाल क्रिकेट संघले गरेको बोल–कबोलमा चितवन टिमलाई भरतपुरको चितवन मेडिकल कलेजले किन्यो। अनि त्यसको नेतृत्व आयुषले गरे।
'म सानैदेखि क्रिकेटको फ्यान हुँ। फुटबल पनि मलाई असाध्यै मन पर्छ। अन्तर्राष्ट्रिय स्तरका खेल हेर्दा मेरो ध्यान मस्कटले तान्ने गर्छ। मस्कटले नै टिम बार्सिलोनासँग मेरो सम्बन्ध बलियो बनाएको थियो,' न्यौपानेले भने, 'हामीले पनि टिमको नाम चितवन राइनोज बनाएपछि गैंडाको मस्कट बनायौं। अनि नाम दियौं मिस्टर गैंडा।'
मिस्टर गैंडाले ५६ नम्बरको जर्सी लगाउँछ। यो चितवनको 'एरिया कोड' हो।
-1764499349.jpg)
चितवन राइनोजसँग गैंडाका चारवटा मस्कट छन्। यी मस्कट गत वर्ष भारतबाट बनाएर ल्याइएको न्यौपानेले बताए। एउटै मस्कटको मूल्य ३ लाख रूपैयाँ परेको उनले जानकारी दिए।
'गत वर्षको प्रयोग सफल भएपछि हामी उत्साहित भयौं। मिस्टर गैंडा सामाजिक सञ्जालमा छाएको थियो। हामीले यसपालि त मिस्टर गैंडा बन्न प्रतिस्पर्धा नै गरायौं। राम्रो नाच्न जान्ने १६ जनाको प्रतिस्पर्धाबाट दुई जनालाई छान्यौं। अनि बाँकी १४ बाट थप दुई जना लियौं,' उनले भने, 'यसपालिको गैंडा अघिल्लो वर्षकोभन्दा राम्रो नाच्छ। हामीले नृत्यमा पोख्त व्यक्ति छानेर मिस्टर गैंडा बनाएका छौं।'
अहिले सामाजिक सञ्जालमा धेरै हेरिएका मिस्टर गैंडा सिन्धुलीका २५ वर्षे युवक हुन्। उनी नृत्यमा अब्बल छन्। काठमाडौंमा स्नातक तह पढिरहेका उनी सामाजिक सञ्जालहरूमा आफू रूचाइएको देखेर दंग छन्।
'काठमाडौंमा स्नातक पढ्दै विदेश जाने तयारी पनि गर्दैछु। यही मेसोमा चितवन राइनोजलाई नाच्न जानेको मान्छे चाहिएको थाहा पाएँ। अनि मौका पनि पाएँ। सानैदेखि नाच्नमा रूचि थियो। यति धेरै दर्शकको अगाडि नाच्ने र उनीहरूको प्रतिक्रिया बुझ्ने अवसर पाएको छु। यो मेरो लागि अवसर नै हो,' उनले भने, 'मन परेका खेलाडीलाई नजिकबाट देख्न पाएर म खुसी छु। मेरो गैंडाको रूप देखेर उहाँहरू पनि खुसी हुनुभएको छ।'
सुदूरपश्चिम रोयल्सको व्यवस्थापन समूहका सदस्य विकेश भण्डारी पनि मस्कटलाई दर्शकहरूले रूचाएको बताउछन्। धेरै दर्शकले सुदूरपश्चिम रोयल्स र बाघबीचको सम्बन्ध मन पराएको उनको भनाइ छ।
'धेरै रिल्स, टिकटकहरू बनेका छन्। धेरैले फोटो सेयर गर्नुभएको छ। यसले दर्शकको भ्यूज बढाएको छ,' उनले भने, 'दर्शकमा सुदूरपश्चिम टिमप्रति क्रेज बढ्नुको एउटा कारण हाम्रो मस्कट पनि हो।'
सुदूरपश्चिमका दुईवटा मस्कट छन्। मस्कटमा अभिनयको प्रशिक्षण लिँदै गरेका युवाहरू रहेको भण्डारीले बताए।
'हामीले मस्कटलाई प्रतिस्पर्धीसँग लड्नेभन्दा मैत्रीपूर्ण व्यवहार गर्न लगाएका छौं,' उनले भने, 'मस्कटले सकरात्मक सन्देश मात्र दिओस्, फ्यान र टिम दुवैलाई राम्रो महसुस गराओस् भन्नेमा हामी सचेत छौं।'
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले यसपालिको एनपिएलमा मस्कटले रौनक बढाएको बताए।
आयोजकसहित सबैजसो टिमले प्रदर्शन गरेको मस्कटले दर्शक र टिमको सम्बन्ध विकासमा सघाएको उनी बताउँछन्।
'टिमले चौका–छक्का हान्दा, विकेट झार्दा सेलिब्रेसन गर्ने, दर्शकहरूसँग नजिक भएर मनोरञ्जन दिने काम मस्कटले गरेका छन्। मस्कटले टिमहरूको राम्रो ब्रान्डिङ गरिरहेको छ,' उनले भने, 'समग्रमा भन्दा यसले नेपाल प्रिमियर लिगको प्रचारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।'
***


-1764499352.jpg)