२०७९ को स्थानीय निर्वाचनपछि सुनसरीको धरान उपमहानगरमा एउटा ‘टाइसिट’ नै बनेको थियो। जसअनुसार प्रत्येकजसो बैठकमा मेयर हर्क साम्पाङ एउटा कुरा भन्थे, उनीबाहेकका अरू जनप्रतिनिधि अर्कै कुरा भन्थे। यो बेमेल सुरूदेखि हर्क साम्पाङले मेयर पद त्याग्ने बेलासम्मै जारी रह्यो।
बिदाइ भने उनले हार्दिक रूपमै लिए।
त्यसअघि कार्यपालिका बैठकमा फरक मत आउनासाथ प्रायः बेखुसी देखिने मेयर साम्पाङ अर्कोथरि कुरा गर्नेहरूसँग बैठकमा मात्रै होइन, बाहिर निस्केपछि मिडिया र सामाजिक सन्जालमा पनि उडाउँथे।
स्वतन्त्र उम्मेद्वार बनेर स्थापित दलहरूलाई पराजित गरेका मेयर साम्पाङको लोकप्रियता यति धेरै थियो कि, बैठकमा असहमति जनाउने अरू जनप्रतिनिधि बाहिर निस्केर उनको विपक्षमा बोल्नै डराउँथे।
धरानमा थोरै यस्ता प्रतिनिधि पनि थिए, जो बैठकमा त मेयरसँग भिड्थे नै, सार्वजनिक रूपमा पनि जुध्न अघि सर्थे। तिनैमध्येका एक थिए धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई 'मनोज'।
एउटा कार्यपालिका बैठकमा मेयर साम्पाङले माओवादीबाट वडाध्यक्ष जितेका उनै भट्टराईलाई भनेका थिए ‘यहाँ मैले भने अनुसार नै हुन्छ, तपाईंले भने अनुसार गर्न अर्को चुनावमा जितेर आउनु।’
झोंकाझोंक चलेको बैठकमा भट्टराईले जवाफ फर्काउँदै भनेका थिए ‘हुन्छ, लु लडौं चुनाव। तपाईं जहाँ जुन पदमा उठ्नुहुन्छ, त्यहीँ उठेर जितेर देखाइदिन्छु।’
उनीहरूबीच यस्तो झोंकाझोक चलेको तीन वर्षभित्र धरानको सर्दुखोलामा धेरै पानी बगिसकेको छ।
स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङ आफै श्रम संस्कृति पार्टी स्थापना गरेर ‘प्रधानमन्त्री बन्ने’ उद्घोषसहित मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका छन्। सुनसरी १ बाट उनी उम्मेद्वार बनेका छन्।
कार्यपालिका बैठकमा मेयरलाई चुनौती दिने वडाध्यक्ष भट्टराईको पार्टी माओवादी अरू धेरै घटक मिसिएर ‘नेपाली कम्युनिष्ट पार्टी’ बनेको छ। त्यही नेकपाबाट उनै भट्टराई पनि यही क्षेत्रको चुनावी प्रतिस्पर्धामा छन्।
त्यसो त फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सुनसरी १ मा सबैजसो दलसहित स्वतन्त्र उम्मेद्वारहरू मैदानमा छन्।
सुनसरी १ मा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएको छ। सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन्।
अहिले यो क्षेत्रमा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, नेकपा एमालेका टिकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ लगायत उम्मेद्वार छन्। यसपटक यहाँ राजनीतिक दलहरूबाट १९ जना र स्वतन्त्र ७ गरी कूल २६ जना उम्मेद्वार चुनावी मैदानमा छन्।
२०४८ सालदेखिकै निर्वाचन नतिजा हेर्दा सुनसरी १ लाई वामपन्थी किल्ला मान्न सकिन्छ। किनभने सबै संसदीय र दुवै संविधानसभा निर्वाचनमा यहाँबाट वामपन्थी उम्मेद्वार नै विजेता बनेको विगत छ।
२०४८ मा एमालेका मनमोहन अधिकारीले जितेयता २०५१ मा एमालेका लीला श्रेष्ठ सुब्बा र २०५६ मा एमालेकै कुन्ता शर्माले जितेकी थिइन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेको जीतमा ब्रेक लगाउँदै अर्को वाम दल तत्कालनी नेकपा माओवादीका किरण कुमार राई विजयी भएका थिए।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेले विरासत फर्काउँदै कृष्णकुमार राईलाई जिताएको यो क्षेत्रमा एमालेले २०७४ मा पनि सफलता दोहोर्यायो। त्यसबेला जयकुमार राई विजयी भएका थिए।
२०७९ मा भने सुनसरी १ मा विजेता फेरिए। तर, वाम पृष्ठभूमिका व्यक्तिको निरन्तरता कायम रह्यो। त्यसबेला एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। अशोक राई कुनैबेला एमालेकै उपाध्यक्ष थिए।
यसरी अहिलेसम्म वामपन्थी दल र उनीहरूले साथ दिएका उम्मेद्वारले मात्रै जित्दै आएको यो क्षेत्रमा यसपटक जित निकाल्ने दाबीसहित धेरै दल र उम्मेद्वारहरू प्रतिस्पर्धामा छन्।
तीमध्ये मेयर पद छाडेर ‘प्रधानमन्त्री बन्ने’ दाबी गरिरहेका हर्क साम्पाङका कारण यो क्षेत्र बढी चर्चामा छ। धरानको मेयर बनेपछि श्रम अभियान चलाएर मुलुकव्यापी चर्चा बटुलेका साम्पाङ त्यही अभियानकै बलमा चुनाव जित्नेमा आशावादी देखिन्छन्।
एमालेका टिकाराम लिम्बूले पुरानो विरासत फर्काउने दाबी गरिरहेका बेला २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ दोस्रो बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ यसपटक पहिलो बन्ने बताइरहेकी छन्। त्यसो त कांग्रेसका सुजेन्द्र तामाङ यसपटक सुनसरी १ मा नयाँ इतिहास बन्ने बताउँदै आफ्नो जीतको दाबी गरिरहेका छन्।
यो निर्वाचन क्षेत्र जस्तै धरान उपमहानगर पनि लामो समय एमालेको अभेद्य किल्ला जस्तै थियो। २०७६ मा भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसले एमालेको 'लालकिल्ला' भत्काएर पहिलोपटक तिलक राईलाई मेयर बनाएको थियो।
स्थानीय तहको उपनिर्वाचनमार्फत ‘सरप्राइज’ दिएको धरानले २०७९ मा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई जिताएर अर्को सरप्राइज दिएको थियो। उनले २० हजार ८२१ मत ल्याएर विजयी भए।
उक्त निर्वाचनमा पाएको त्यही सफलता संसदीय चुनावमा पनि दोहोर्याउने दाबी गरेर साम्पाङ चुनावी अभियानमा छन्।
चुनावी प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरूको सदाबहार दाबी एकातिर छँदैछ। मतदाताले दिने निर्णयको छिनोफानो भने फागुन २१ कुर्नैपर्नेछ।
यद्यपि गठबन्धनरहित यसपटकको चुनावमा यो क्षेत्रमा सबैको होड खुला रहेको मान्न सकिन्छ। पूर्व मेयर र वडाध्यक्षबीचको चुनावी प्रतिस्पर्धाको क्षेत्रका रूपमा यहाँको चर्चा भइरहेको छ।
निकट विगतको चुनावी गणित अनुसार यहाँ एमाले र रास्वपा बलियो देखिन्छन्। २०७९ मा एमाले समर्थनमा विजेता बन्ने क्रममा अशोक राईले १७ हजार ५९ मत प्राप्त गर्दा रास्वपाकी गोमा तामाङ दोस्रो भएकी थिइन्। तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन्।
त्यो चुनावमा सुनसरी १ मा हर्क साम्पाङ र उनको समूहले रास्वपा उम्मेद्वार तामाङलाई नै सघाएका थिए। यो चुनावसम्म आइपुग्दा साम्पाङ र रास्वपाको सम्बन्ध बिग्रिएको मात्रै छैन, साम्पाङको आफ्नै दल समेत बनिसकेको छ।
लगभग एउटै जसो भोटबैंक भएका श्रम संस्कृति र रास्वपासँगै नेकपा एमाले र नेकपा पनि यहाँका प्रतिस्पर्धी दल हुन्। २०७९ मा प्रत्यक्षतर्फ तत्कालीन माओवादी केन्द्रका मुक्सामहाङ लिम्बू १३ हजार ८७ मत सहित तेस्रो भएका थिए।
समानुपातिकतर्फ भने यो क्षेत्रमा एमाले नै पहिलो दल भएको थियो। उसले २० हजार ९८ मत प्राप्त गर्दा रास्वपाले १७ हजार २७१ मतसहित दोस्रो स्थान हासिल गरेको थियो।
कांग्रेस ११ हजार ७५० मतसहित तेस्रो हुँदा राप्रपा ९ हजार ७६८ मतसहित चौथो र माओवादी केन्द्र ४ हजार ६५६ मतसहित पाँचौं भएको थियो।
प्रत्यक्षमा चुनाव जितेको जनता समाजवादी पार्टी, नेपालले भने समानुपातिकमा ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एसले १ हजार ६०९ मत पाएको थियो।