श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पर्यटन क्षेत्रमा स्थानीयलाई प्राथमिकता दिने हो भने घरेलु रक्सीलाई कानुनी रूपमै प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पर्यटन विधेयक २०८२ माथि छलफलमा बोल्दै सांसद राईले विदेशबाट आउने पर्यटकलाई होटल, रेस्टुरेन्ट र क्यासिनोमा विदेशी ब्रान्डकै रक्सी खुवाएर केही लाभ नहुने धारणा राखे।
'विदेशी पर्यटकहरूलाई खोटाङमा उत्पादन हुने तीनपाने चरक्क खुवाउन पाए कस्तो रमाइलो हुन्थ्यो होला, काठमाडौंका नेवारहरूले उत्पादन गर्ने तीनपाने खुवाउन पाए कस्तो हुन्थ्यो होला?' उनले भने, 'गर्मीको समय खोटाङ, भोजपुरमा उत्पादन हुने र यहाँ काठमाडौंका नेवारहरूले उत्पादन गर्ने चिसो छ्याङ खुवाउन पाए कस्तो रमाइलो हुन्थ्यो होला?'
उनले कानुनी समस्याका कारण पर्यटक तथा पर्यटन व्यवसायीहरूले विभिन्न सास्ती खेप्नुपरेको उल्लेख गर्दै यसबारे अध्ययन गरेर त्यसको समाधान पनि विधेयकमा थप्न सकिने बताए।
उनले नेपाल आउने पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्रका रूपमा रहेका हिमालहरूको संरक्षणमा पनि विशेष चासो दिनुपर्नेमा जोड दिए।