राजनीतिमा एउटा भनाइ छ — यहाँ कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुँदैन।
आज एउटा पार्टीमा कुम जोडेर हिँडेकाहरू भोलि फरक फरक पार्टीमा गएर पानी बाराबार गरिरहेका हुन सक्छन्। आज पानी बाराबार गरिरहेकाहरू भोलि कुम जोडेर हिँडिरहेका हुन सक्छन्।
कोही नेता एजेन्डाका लागि मिल्ने र छुट्टिने गर्छन् भने कोही सत्ताका लागि।
दल अदल–बदलको यो प्रवृत्ति सबभन्दा बढी मधेसमा देखिन्छ। पछिल्ला केही निर्वाचनदेखि आसन्न निर्वाचनसम्मको उम्मेदवारी शृंखला हेर्ने हो भने नेताहरूको दल अदल–बदल प्रवृत्ति छर्लंग हुन्छ।
यो स्टोरीमा हामीले तिनैमध्ये केही महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेका छौं।
२०७९ को संसदीय निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को प्रदेशसभा–२ बाट जनमत पार्टीका सतिश सिंह निर्वाचित भए। उनी भदौ २३ गतेसम्म मधेस प्रदेशका मुख्यमन्त्री समेत थिए।
उनै सिंहले प्रदेशसभाबाट राजीनामा दिएर सप्तरी–२ मा संघीय सांसदका लागि उम्मेदवारी दिएका छन्। तर जनमत पार्टीबाट होइन। उनी यसपटक स्वभामिमान पार्टीबाट उम्मेदवार बनेका छन्।
सिंहले यहाँ आफ्नै पुरानो पार्टीका अध्यक्ष तथा अघिल्लो चुनावमा यस क्षेत्रबाट विजयी भएका सिके राउतलाई चुनौती दिइरहेका छन्। राउतका निकट प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने यसपालि सप्तरी–३ गएका छन्।
जसपाबाट सप्तरी–२ मा उमेश यादव उम्मेदवार बनेका छन्। उनी यसअघि सप्तरी–२ बाटै प्रदेशसभामा पराजित भएका थिए।
रोचक के छ भने, उमेश यादवले यसअघि प्रदेशसभा चुनाव लडेको जसपाबाट होइन। उनी त्यति बेला तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा)का उम्मेदवार थिए। त्यसअघि २०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाटै उनी सप्तरी–३ बाट विजयी भएका थिए। उनी २०७३ मा केपी ओली सरकारमा सिँचाइमन्त्री समेत भए। त्यसपछि २०७४ को निर्वाचनमा भने उनी पराजित भएका थिए।
२०५५ सालदेखि माओवादीको 'होलटाइमर' सदस्य बनेका उमेश यादवले माओवादीमा आएको विचलनका कारण आफूले पार्टी छाडेको बताएका छन्।
'पार्टीले आफ्नो सिद्धान्त छाड्यो। समाजवादको लक्ष्य लिएको पार्टीमा विचलन आएपछि मलाई त्यहाँ बस्न मन लागेन,' उनले भने, 'उपेन्द्र यादव आफ्नो सिद्धान्तबाट विचलित हुनुभएको छैन। माओवादी युद्धमा उहाँको पनि योगदान छ।'
माओवादी आन्दोलनलाई हेर्ने सवालमा माधव नेपाल र झलनाथ खनालभन्दा उपेन्द्र यादव स्पष्ट रहेको उमेशको भनाइ छ।
पार्टीमा लागेर आफूले संघर्ष गरेको र धेरथोर अवसर पनि पाएकाले धेरै गुनासो गर्ने पक्षमा आफू नरहेको उनी बताउँछन्।
सप्तरी–२ बाटै नेपाल जनता पार्टीकी रञ्जुकुमारी झा (ठाकुर) चुनावी प्रतिस्पर्धामा छिन्। उनी २०७९ सालको निर्वाचनमा जसपाबाट समानुपातिक सांसद थिइन् भने २०७० मा एमालेबाट सांसद निर्वाचित भएकी थिइन्।
त्यस्तै, अघिल्लो निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट सिरहा–४ मा विजयी भएका वीरेन्द्रप्रसाद महतोले पनि यसपटक जनमत पार्टी रोजेका छन्।
उनी २०७९ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा वनमन्त्री भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट उनी समानुपातिक सांसद थिए।
२०८१ वैशाखमा अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन गर्ने क्रममा हर्ताकर्ता रहेका उनी राई नेतृत्वको जसपामा कोषाध्यक्ष भए। अहिले चुनावको मुखमा आएर उनी जनमत पार्टीतिर लागेका हुन्।
पार्टी अदलबदलको यो क्रम यतिमै सकिन्न।
सर्लाही–१ बाट २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रमोद साह निर्वाचित भएका थिए। २०७९ मा उनी एमाले-जसपा गठबन्धनबाट यही क्षेत्रमा जसपाका उम्मेदवार बने र पराजित भए। यस पटक उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी मैदानमा छन्।
सर्लाही–२ का नेकपा उम्मेदवार महिन्द्र राय यादवले पनि धेरै पटक पार्टी बदल्दै आएका छन्।
२०५१ मा एमालेबाट सांसद जितेका यादव २०५६ मा पनि एमालेबाटै विजयी भए। त्यसपछि २०७०, २०७४, २०७९ को तीन निर्वाचन जितेका यादवले प्रत्येक पटक फरक चुनाव चिह्न लिएका थिए।
सर्लाही–३ बाट गत निर्वाचनमा एक हजारभन्दा कम मतले पराजित नरेन्द्र साह कलवारले पनि यसपटक पार्टी परिवर्तन गरेका छन्।
कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार बनेका कलवारले यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन्। उनी २०७० को दोस्रो संविधानसभामा तत्कालीन महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेका थिए।
सर्लाही–४ का रास्वपा उम्मेदवार अमरेशकुमार सिंह पनि यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। त्यसअघि २०७० र २०७४ मा कांग्रेसबाट यही क्षेत्रमा विजयी भएका सिंह २०७९ मा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन्।
सर्लाही–४ मै जसपाबाट उम्मेदवार बनेका रामेश्वर राय यादव २०७४ मा सर्लाही–३ मा माओवादीबाट विजयी भएका थिए। एक वर्षभन्दा बढी श्रममन्त्री बनेका यादवले यसपटक पार्टी परिवर्तन गरेर उम्मेदवारी दिएका हुन्। उनी माघ ४ गते जसपा प्रवेश गरेका थिए।
यति मात्र होइन, सद्भवाना पार्टीबाट राजनीति सुरू गरेका अनिलकुमार झा पहिलो संविधानसभामा समानुपातिक सांसद थिए।
उनी २०७४ को निर्वाचनमा रौतहट–४ बाट तत्कालीन राजपाको उम्मेदवार बनेर विजयी भएका थिए। २०७९ को निर्वाचनमा धनुषा–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को उम्मेदवार बनेका झा पराजित भए। उनी यसपटक रौतहट–१ मा कांग्रेसका उम्मेदवार छन्।
तराई–मधेसमा केन्द्रित राजनीतिक दल छाडेर किन कांग्रेस रोज्नुभयो भन्ने प्रश्नमा झाले 'कांग्रेसले मधेसका मुद्दा आत्मसात् गरेको' बताए।
'नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं मधेस झर्नुभएको छ। अब मधेसको एजेन्डा राष्ट्रकै एजेन्डा बन्छ भन्ने पुष्टि भइसकेको छ। कांग्रेसले मधेसका एजेन्डा उठान गर्ने मात्र होइन, समाधान गर्छ भन्ने विश्वास बढेको छ,' झाले भने, 'मेरो लोकतन्त्रप्रति प्रतिबद्धता पहिले पनि हो, अहिले पनि छ। अब मधेसको एजेन्डालाई मूलधारमा राख्नुपर्छ भनेर कांग्रेस रोजेको हुँ। मधेस मेरा लागि सधैं पहिलो रहन्छ।'
दल परिवर्तन भए पनि दायित्व परिवर्तन नहुने उनले बताए।
रौतहट–२ मा नेकपा उम्मेदवार बनेका किरणकुमार साह पनि २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। चुनाव जितेपछि साह एमालेमा गएका थिए। एमालेबाट संसदीय समितिको सभापति समेत बनेका साह चुनावको मुखमा नेकपा प्रवेश गरेका हुन्।
२०७९ मा पर्सा–१ को प्रदेशसभा–१ बाट निर्वाचन जितेका रहबर अन्सारीले नेकपा माओवादी केन्द्र परित्याग गर्दै प्रदेशसभाबाट राजीनामा दिएका छन्।
उनी २०७४ को स्थानीय निर्वाचनमा वीरगन्ज महानगरपलिकामा माओवादीबाट मेयर उम्मेदवार थिए। २०७४ कै प्रदेशसभा निर्वाचनमा पराजित भएका उनी यसपटक रास्वपाबाट बारा–४ का उम्मेदवार छन्।
बारा–४ बाटै एमाले उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ यसअघि एकीकृत समाजवादीबाट यही क्षेत्रमा विजयी भएका थिए। २०७४ मा भने उनी तनहुँ–१ बाट एमाले उम्मेदवारका रूपमा विजयी भएका थिए।
पर्सा–१ बाट २०७४ र २०७९ को निर्वाचन लगातार जितेका प्रदीप यादव यसपटक एमाले उम्मेदवार छन्। २०८१ मा जसपा नेपाल विभाजन हुने क्रममा उनी अशोक राई नेतृत्वको जसपामा लागेर उपमहासचिव भएका थिए। गत पुसमा फेरि उपेन्द्र यादव नेतृत्वको जसपा फर्किएका यादवले माघ ५ गते मात्र एमाले रोजेका हुन्। जसपाबाट दुई पटक निर्वाचन जितेका यादव पटक पटक मन्त्री भइसकेका छन्।
मधेसको एजेन्डालाई प्राथमिकतामा पार्न मूलधारको पार्टीमा लागेको यादव बताउँछन्।
'संविधानको रक्षा, मधेसको उपलब्धि संस्थागत गर्न र संविधान बचाउन म एमालेमा आबद्ध भएको हुँ। संविधान बाच्यो भने सबै ठिक हुन्छ,' उनले भने, 'अहिले संविधान संकटमा छ। आन्दोलनबाट ल्याएको संविधान बचाउन सकियो भने मात्र अघि बढ्न सकिन्छ भनेर मैले एमाले रोजेको हुँ।'