पछिल्लो चारवटा संसदीय निर्वाचनमा गुल्मी १ नेपाली कांग्रेस र नेकपा एमालेले आलोपालो जित्दै आएको छ।
२०६४ देखि कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै आएको छ। उनीहरूले आलोपालो गर्दै दुई-दुई पटक जितेका छन्।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागी पनि १८ वर्षदेखिका सदाबहार प्रतिस्पर्धी भण्डारी र ज्ञवालीलाई कांग्रेस र एमालेले चुनावी मैदानमा ओरालेको छ।
भण्डारी र ज्ञवालीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सागर ढकाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदर्शन बराललाई उम्मेदवार बनाएको छ।
उनीहरूको 'इन्ट्री' ले गुल्मी १ को चुनावी सरगर्मी व्यापक तात्तिएको छ। राष्ट्रिय राजनीतिमा बौद्धिक र शालीन नेताको छवि बनाएका ज्ञवाली र भण्डारी ढकाल र बरालको उपस्थितिले दबाबमा छन्।
१ लाख २२ हजार १८६ मतदाता रहेको यो क्षेत्रमा दलका १० र ११ स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ। तर त्यहाँको राजनीतिक पृष्ठभूमिलाई आधार मान्ने हो भने यसपालि यिनै चार दलबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ।
पुराना स्थापित दल र नयाँ राजनीतिक शक्तिको उपस्थितिले यो क्षेत्रको प्रतिस्पर्धा अझै रोचक बन्नेछ। अहिले उम्मेदवारहरू मतदाताका भावना बुझ्दै गाउँ टोल पुगेर आफ्नो चुनावी अभियान तीव्र बनाइरहेका छन्।
पुराना दलका उम्मेदवार आफ्नो राजनीतिक विरासत जोगाउन र नयाँ दलका उम्मेदवार इतिहास बदल्ने जमर्कोमा छन्। तर, जनमत कसको पक्षमा जान्छ भन्ने कुरा फागुन २१ गतेपछि मात्रै थाहा हुनेछ।
२०७९ को निर्वाचनमा एमालेका ज्ञवालीलाई कांग्रेसका भण्डारीले जम्मा एक हजार ५९२ को झिनो मतान्तरले पराजित गरेका थिए।
निर्वाचन आयोगको तथ्यांकअनुसार ३३ हजार ७४४ मत ल्याएर भण्डारी विजयी हुँदा ज्ञवालीले ३२ हजार १५२ मत पाएका थिए।
यो निर्वाचनमा नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत पाँच दलीय गठबन्धन गरेको थियो।एमाले त्यतिबेला एक्लै लडेको थियो।
त्यसबेला समानुपातिकतर्फ एमालेले २८ हजार ५४३ मत पाएको थियो। कांग्रेसले २३ हजार ४१३, रास्वपाले ८ हजार ११६, तत्कालीन माओवादी केन्द्रले ६ हजार २५७ र एकीकृत समाजवादीले २५६ मत ल्याएको थियो।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा भने एमालेका ज्ञवालीले ७ हजार ५५८ बढी मतान्तरले भण्डारीलाई पराजित गरेका थिए। त्यतिबेला ज्ञवाली ३७ हजार ८१४ मत सहित विजयी हुँदा भण्डारीले ३० हजार २५६ मत पाएका थिए।
२०७० भन्दा पहिले गुल्मीमा तीन वटा निर्वाचन क्षेत्र रहँदा यो क्षेत्र २ मा पर्थ्यो।
२०६४ को संविधानसभाको पहिलो निर्वाचनमा ज्ञवाली भण्डारीसँग २ हजार १५२ मतान्तरले विजयी भए। त्यति बेला ज्ञवालीले २३ हजार २५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए।
२०७० को निर्वाचनमा भने भण्डारीले ज्ञवालीसँग बदला लिँदै २ हजार ५०८ मत अन्तरले चुनाव जिते। भण्डारी २१ हजार १८९ मतसहित विजयी हुँदा ज्ञवालीले १८ हजार ६८१ मत पाएका थिए। भण्डारीको पहिलो संसदीय यात्रा पनि त्यही थियो भने ज्ञवाली २०५६ को आम निर्वाचनमै निर्वाचित भएर संसदमा पुगेका थिए।
२०५६ को आम निर्वाचनमा ज्ञवालीले ६६७ को झिनो मत अन्तरले नेपाली कांग्रेसकै चन्द्र बहादुर केसीलाई पराजित गरेका थिए। निर्वाचन आयोगको रेकर्ड अनुसार त्यतिबेला ज्ञवाली २४ हजार ३४५ मत सहित विजयी हुँदा केसीले २३ हजार ६६९ मत पाएका थिए।
त्यसअघि २०५१ सालमा भने सो क्षेत्रबाट नेपाली कांग्रेसका कमलराज श्रेष्ठले चुनाव जितेका थिए। यसरी हेर्दा पछिल्ला ३१ वर्षका ६ वटा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस र एमालेले तीन तिन वटा निर्वाचन जितेका छन्। यस क्षेत्रका मतदाताले ज्ञवालीलाई दुवैलाई पालैपालो जिताएका छन्।
२०५६ सालदेखि चुनावी प्रतिस्पर्धामा ओर्लिएका ज्ञवाली यसपालि चौथो जितको दाउमा छन् भने भण्डारी २०७९ को विजयलाई जोगाउने प्रयासमा छन्।
ज्ञवाली र भण्डारीले आफ्नो व्यक्तिगत साख र राजनीतिक विरासत जोगाउन गरिरहेको प्रयासमा रास्वपाका ढकाल र नेकपाका बराल चुनौती हुन सक्छन्।
२०७९ को निर्वाचनमा डडेलधुरा पुगेर नेपाली कांग्रेसका शेरबहादुर देउवा विरूद्ध चुनाव लडेर चर्चा कमाएका ढकालले डडेलधुरामै १३ हजारभन्दा बढी मत ल्याएका थिए।
यसपालि पनि मनोनयन दर्ताभन्दा केही दिन अघिसम्म सागर डडेलधुराबाटै चुनाव लड्ने चर्चा थियो। तर अन्तिममा उनले आफ्नै गृह जिल्ला रहेको गुल्मी क्षेत्र नं. १ लाई रोजे र उम्मेदवारी दिए।
तत्कालीन माओवादी केन्द्रले अघिल्ला दुइटा आमनिर्वाचनमा गठबन्धन गरेर कांग्रेस र एमालेलाई सघाउँदै आएको भए पनि यसपालि विभिन्न दलहरूसँग एकतापछि नेकपा गठन गरी बराललाई चुनावी मैदानमा ओरालेको छ।
यस पटक सबै दल एक्ला एक्लै चुनावमा गएका छन्।
प्रचारविनै अघिल्लो निर्वाचनमा ८ हजार समानुपातिक मत पाएको रास्वपाले यसपालि देशव्यापी प्रचार गर्दा त्यसको प्रभाव गुल्मीमा पनि पर्नेछ। काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरी बालेन शाहको रास्वपा प्रवेशले पनि जनमतमा प्रभाव पार्ने आकलन छ।
त्यसमाथि देउवाविरूद्ध चुनाव लडेको ढकालको आफ्नै पहिचानले पनि यहाँ काम गर्न सक्नेछ।
२०६४ सालमा साबिक क्षेत्र नं. १ बाट संविधानसभा सदस्य र २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित हुँदै प्रदेश मन्त्री समेत बनिसकेका नेकपाका बराल एमाले र कांग्रेसका असन्तुष्ट मत रास्वपा गए त्यसको फाइदा आफूलाई मिल्ने आशमा छन्।
यस हिसाबले गुल्मी-१ रोचक प्रतिस्पर्धा हुने क्षेत्रमध्यमै पर्ने देखिन्छ।
गुल्मी १ मा कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको ७ देखि १४ वडा समेटिएको छ।
अघिल्लो स्थानीय तह निर्वाचनमा कालीगण्डकी गाउँपालिका प्रमुख कांग्रेसले जित्दा एमालेले उपप्रमुख जितेको थियो।
सत्यवतीमा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। चन्द्रकोटमा भने तत्कालीन माओवादी केन्द्रले अध्यक्ष जित्दा कांग्रेसले उपाध्यक्ष जितेको थियो। रूरूक्षेत्र गाउँपालिकामा पनि प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेसले जितेको थियो।
गुल्मी दरबार गाउँपालिका र रेसुंगा नरपालिकाका प्रमुख र उपप्रमुख नै कांग्रेसले जितेको थियो।
यो क्षेत्रमा कुल ५० वटा वडा पर्छन्।
तीमध्ये कांग्रेसले २३ वटा वडा जित्दा एमालेले २२ वटा वडा जितेको थियो। माओवादी केन्द्रले ३, जनमोर्चा १ र एक जना स्वतन्त्र उम्मेदवारलले वडाध्यक्ष जितेको थियो।