सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको ‘कक्रोच जनता पार्टी’ को वेबसाइट शनिबार डाउन भएको छ।
यसका संस्थापक अभिजित दिप्केले सरकारले नै वेबसाइट बन्द गरिदिएको आरोप लगाएका छन्।
इन्टरनेटमा व्यंग्य, ‘मिम’ संस्कृति र युवाको असन्तुष्टिलाई मिसाएर सुरु गरिएको यो डिजिटल अभियान पछिल्ला दिनमा विशेषगरी युवा पुस्तामाझ तीव्र रूपमा फैलिएको थियो।
दिप्केले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो प्रतिक्रिया जनाउँदै वेबसाइटमा करिब १० लाख सदस्य दर्ता भएको दाबी गरेका छन्।
उनका अनुसार ‘कक्रोच जनता पार्टी’ का ६ लाख सदस्यले मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादपछि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै निवेदनमा हस्ताक्षर गरेका थिए।
'सरकारले हाम्रो चर्चित वेबसाइट हटाइदिएको छ। हाम्रो वेबसाइटमा १० लाख ‘कक्रोच’ सदस्य बनेका थिए। ६ लाख कक्रोचले धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै निवेदनमा हस्ताक्षर गरेका थिए। सरकार किन कक्रोचसँग यति डराएको हो? तर यो तानाशाही व्यवहारले भारतका युवाको आँखा खोल्नेछ। हाम्रो एकमात्र ‘अपराध’ भनेको आफ्नो भविष्य राम्रो बनोस् भनेर आवाज उठाउनु थियो। तर हामीलाई यति सजिलै हटाउन सकिँदैन। हामी नयाँ घर बनाउने काममा लागिसकेका छौं। कक्रोच कहिल्यै मर्दैनन्,' उनले भनेका छन्।
दिप्केको उक्त पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ।
‘कक्रोच जनता पार्टी’ राजनीतिक व्यंग्य, सरकारविरोधी टिप्पणी र ‘मिम’ संस्कृतिको मिश्रणका रूपमा
यसअघि दिप्केले आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता र पार्टीको आधिकारिक सामाजिक सञ्जाल पेज ‘ह्याक’ गरिएको आरोप पनि लगाएका थिए, जसले यो अभियानबारे थप चर्चा बढाएको थियो।
कसरी सुरु भयो ‘कक्रोच जनता पार्टी’ ?
‘कक्रोच जनता पार्टी’को ट्रेन्ड भारतको सर्वोच्च अदालतमा एक सुनुवाइका क्रममा न्यायाधीश सूर्यकान्तले दिएको भनिएको ‘कक्रोच’ टिप्पणीपछि सुरु भएको बताइएको छ।
त्यसपछि यो अभियान व्यंग्य, आलोचना र व्यवस्थाविरोधी टिप्पणी मिसिएको डिजिटल आन्दोलनमा रूपान्तरण भएको थियो।
यद्यपि, न्यायाधीश सूर्यकान्तले पछि आफ्नो भनाइ गलत रूपमा उद्धृत गरिएको स्पष्ट पारेका थिए।
पछि उनले ‘कक्रोच’ सम्बन्धी टिप्पणी नक्कली वा जालसाजी गरेर डिग्री लिएर पेशामा प्रवेश गर्ने व्यक्तितर्फ लक्षित थियो, सामान्य युवातर्फ होइन भनेका थिए।