म्याग्दीको बेनी बजारदेखि ३ किलोमिटर उत्तरतर्फ कालीगण्डकी किनारको गलेश्वर धाम हिजोआज मुस्ताङ आउजाउ गर्ने तीर्थारूका लागि नपुगी नहुने गन्तव्यका रूपमा विकास भइसकेको छ।
तिनै यात्रीको सुविधाका लागि पुरानो गलेश्वर बजार माथि हिजो आज नयाँ नयाँ होटल खुलिसकेका छन्।
एउटाको नाम छ – याक होटल।
अर्कोको नाम छ – होटल ताज महल लज तथा रेस्टुरेन्ट।
मुस्ताङको मुक्तिक्षेत्र दर्शनका लागि धुइरिने भारतीय तीर्थारूलाई आकर्षित गर्न ताज महल नाम जोडिएको हुनुपर्छ!
कारण त्यस्तै रहेछ।
तीर्थारू र पर्यटकले खचाखच होटलको रिसेप्सनमा उभिएका हँसिला साहुजी टंक श्रेष्ठले रहस्य खोलिहाले, 'हो ताज महल नाम देखेपछि भारतीयहरू रमाइलो मान्छन्।'
झट्ट हेर्दा ४५ वर्षी टंक काठमाडौं उपत्यका वरपरबाट मुस्ताङ आउजाउ गर्ने तीर्थारूलाई सेवा दिँदै मुनाफारूपी मेवा खान कालीगण्डकी किनार हानिएका व्यापारी जस्ता देखिए।
यथार्थ अर्कै रहेछ।
काभ्रेको भकुन्डेबेंसी नजिकै पर्ने कानपुर–बोहोरे गाउँमा विपन्न परिवारमा जन्मिएका टंक त किशोर अवस्थामै मुस्ताङको लेतेको एउटा खुलेको होटलमा काम गर्न आएका कर्मवीर पो रहेछन्।
खेती–किसानी गरेर गुजारा चलाउने परिवारको नाजुक आर्थिक अवस्थाका कारण उनले पढाइ च्वाट्टै छोड्नुपरेको रहेछ।
'त्यति बेला म १३ वर्षको थिएँ। सात कक्षा पढ्दा पढ्दै अचानक लेतेमा पूर्वसांसद रोमी गौचन थकालीको कालोपानी गेस्ट हाउसमा काम गर्न आएको थिएँ,' आफ्नो विगत कोट्याउँदै उनले भने, 'त्यहाँ ५ वर्ष काम गरेँ। काम गर्दा गर्दै होटल तथा रेस्टुरेन्ट चलाउन सिकेँ। वेटर, कुकदेखि सबै काम जाने र अल–राउन्डर भएँ।'
उनी त्यहाँ रोकिएनन्।
लेतेमा गेस्ट हाउस चलाउन र पाहुनालाई चाहिने खानापिना बनाउन सिपालु भइसकेका टंक १८ वर्षमा हिँड्दै थिए। त्यति बेला उनलाई तल बेनी बजार झरेर यती गेस्ट हाउसमा खाना बनाउने कुक काम गर्ने नयाँ अवसर प्राप्त भयो।
उनी २१ वर्षको भएपछि सिन्धुली, नेपालथोककी दुर्गासँग विवाह भयो।
संघर्षका दिन
बेनीलाई कर्मथलो बनाएका टंकले गेस्ट हाउसको भान्सामा काम गर्दा गर्दै ९ वर्ष बिताए। त्यति बेला उनको मनमा नयाँ सोच पलायो — अब सबै काम सिकिसकेपछि आफ्नै गेस्ट हाउस किन सुरू नगर्ने?
मुक्तिक्षेत्र र मुस्ताङका अन्य गाउँ बजारमा जस्तै बेनी बजारदेखि ३ किलोमिटर उत्तरतिरको प्रसिद्ध गलेश्वर धाममा तीर्थारूको चहलपहल बढ्ने क्रम तीव्र हुँदै थियो।
२०६६ सालतिर उनले त्यहीँ कालीगण्डकी किनार नजिकै सानो जग्गा भाडामा पाए। त्यहाँ उनले १० कोठा भएको रिभरसाइड गेस्ट हाउस खोल्दै पहिलो पटक आफ्नै व्यवसाय सुरू गरे।
त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन।
किनभने, उनले तीर्थारू र अन्य पाहुनाको स्वागत र सत्कार गर्दै फुर्सद नै पाएनन्।
तीर्थारूको आउजाउ क्रमसँगै उनको व्यापार बढ्दै गयो। गलेश्वर आएको करिब १० वर्षपछि उनको लज तथा रेस्टुरेन्ट व्यवसायको नयाँ अवतार प्रकट भयो – होटल मदरल्यान्ड।
भाडामै लिइएको त्यो जग्गामा उनले रेस्टुरेन्टका साथै ७ वटा ठूला कोठा भएको संरचना बनाए।
त्यो चल्दै गएपछि उनको आत्मविश्वास झनै बढ्यो। २०७७ सालतिर उनले गलेश्वरकै व्यस्त कोरला–बेनी राजमार्गकै छेउ उनले ४ आना जति जग्गा किने। त्यसमा रेस्टुरेन्ट खोले सोचे। आफूले कमाएको आर्जन अपुग भए पनि बैंकबाट दुई करोड रूपैयाँ जति ऋण लिए।
टंक श्रेष्ठले वर्षौंको मेहेनतको आर्जनले ठड्याएको गलेश्वर म्याग्दीस्थित होटल भवन। तस्बिर: सुरेन्द्र फुयाल
त्यहाँ अहिले उनको सपनाको महल विपना बनेर ठडिएको छ — होटल ताज महल लज एन्ड रेस्टुरेन्ट। चार वर्षअघि तयार भएको भव्य चारतले भवनमा गण्डकी प्रदेशको शैलीमा स्लेट र ढुंगा टाँसिएको बाहिरी आवरण छ।
त्यहाँ हालै हामी मुस्ताङ यात्राको क्रममा रोकिँदा भान्सा घर मात्र होइन, पूरै लज देशदेशावरका तीर्थारू तथा पाहुनाले भरिभराउ थियो।
२४ कोठा भएको लज तथा रेस्टुरेन्टको हेरचाह गर्न टंक श्रेष्ठको परिवारसँगै १२ जना कामदार खटिन्छन्।
वर्षमा ८ महिनाजति पर्यटक र तीर्थारूको आउजाउ भइरहन्छ, उनको होटल पाहुनाले भरिभराउ हुन्छ।
'पाहुनाहरू आउँदा हामी निकै व्यस्त रहन्छौं। चलेको बेला हाम्रो आम्दानी राम्रै हुन्छ। बैंकबाट लिएको ऋण तिरिसक्ने बेला भएको छ। कुनै गुनासो छैन,' टंकले भने।
भविष्यको योजना
दुःख पाएर किशोर अवस्थामा काम गर्न लेते आएको आफ्नो मेहनत र त्यसका कारण सम्भव भएको प्रगति देखेर लेतेका उनका पुराना साहु थकाली लगायतका उनका हितैसीहरू औधि खुसी रहेको टंक बताउँछन्।
सायद त्योभन्दा पनि बढी खुसी त काभ्रेको गाउँमा उनका आमाबुबा, दाजुभाइ होलान् नि?
जबाफमा उनले मुस्कुराउँदै भने, 'हो, उहाँहरू सबै खुसी हुनुहुन्छ।'
उनका बुबा गणेशलाल भने २०७४ सालमा यो संसारबाट बिदा भए।
गलेश्वर धाम नजिकै रात बस्न रोकिने पाहुनाको स्वागत सत्कारमा व्यस्त रहने टंकको धेरै ठूलो महत्त्वाकांक्षा छैन। उनी प्रायः होटलमै व्यस्त रहन्छन्। भविष्यमा यही काम गरिरहने उनको इच्छा छ।
व्यापार अझै फस्टाउँदै गयो भने नि?
जबाफमा उनले हाँस्दै भने, 'पछिको कुरा पछि नै थाहा होला। तर व्यापार बढ्दै गयो भने होटल अझै विस्तार गर्नु पर्ला नि।'
उनका छोरा रोशन र छोरी रश्मी काठमाडौंमा पढ्दैछन्। उनको योजना उनीहरूलाई राम्ररी पढाउने छ।
उनी भन्छन्, 'उनीहरूलाई आफ्नै देशमा बस भन्ने हो। किनभने काम गर्यो भने आफ्नै देशमा धेरै थोक गर्न सकिन्छ। विदेशतिर भौंतारिनु आवश्यक छैन।'
त्यसको गतिलो र जीवन्त उदाहरण टंक श्रेष्ठ आफै हुन्।
यो पनि पढ्नुहोस्- मुस्ताङमा किन हवात्तै बढ्दैछ पर्यटकको भिड?
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal