रूपन्देहीको निर्वाचन क्षेत्र नं. १ दक्षिणमा भारतीय सीमा क्षेत्र र उत्तरमा पाल्पाको सिमानासम्म जोडिएको क्षेत्र हो।
देवदह नगरपालिकाका १२ वटा वडा सबै र रोहिणी गाउँपालिकाका पूरै ७ वटा वडा तथा तिलोत्तमा नगरपालिकाका वडा नं. ७, ८, ९, १०, ११, १२, १५, १६, १७ गरी ९ र ओमसतियाका वडा नं १, ३, ४, ५ र ६ गरी ३३ वटा वडा यो क्षेत्रमा पर्छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरूलाई दक्षिणतर्फको थारू र मधेसी समुदायसँगै उत्तरतर्फको गुरूङ र मगर समुदायका समेत मुद्दाहरूलाई सम्बोधन गर्दै मत माग्नुपर्ने चुनौती छ।
यस पटक नयाँ र पुराना राजनीतिक दलबाट अधिकांश नयाँ उम्मेदवार रहेकोले उनीहरूलाई मतदातासँगै घुलमिल हुँदै मत परिणाम आफ्नो पक्षमा पार्नुपर्ने दबाब पनि छ।
कतिपय राजनीतिक दलबाट उम्मेदवार बनेकाहरू स्थानीय राजनीतिमा नयाँ नभए पनि संसदीय चुनाव भने उनीहरूका लागि नौलो बनेको छ।
अन्य क्षेत्रमा जस्तै रूपन्देही क्षेत्र नं. १ मा पनि अहिले उम्मेदवारहरू गाउँ–गाउँमा पुगेर मतदातासित भेटघाट गर्दै आफ्नो पक्षमा जनमत पार्ने दाउमा छन्।
संविधानसभा सदस्य, पूर्वप्रदेश सभा सदस्य र पूर्वनगर प्रमुख हुँदै राजनीतिमा र जनताको सेवामा खारिएकाहरू मात्र होइन इन्जिनियर र कम्प्युटर साइन्स अध्ययन गरेका युवाहरू समेत चुनावी मैदानमा उत्रिएकोले यो क्षेत्र चर्चामा छ।
निर्वाचन आउन तीन साता मात्र बाँकी रहँदा गाउँ बस्तीहरूमा निर्वाचनको गर्मीले तताएको छ। उम्मेदवार र दलका कार्यकर्ताहरू प्रचार प्रसारसँगै राजनीतिक दल र उम्मेदवारका चुनावी एजेन्डा जनतासम्म राख्न व्यस्त छन्।
रूपन्देही क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति समेत रहेका हिराबहादुर केसी उम्मेदवार बनेका छन्। केसीले २०७४ सालमा देवदह नगरपालिकाको प्रमुख निर्वाचित भएर पाँच वर्ष जनताको सेवा गरिसकेका छन्।
केसी २०७८ साल मंसिरमा नेपाली कांग्रेसको क्षेत्र नं १ को सभापतिमा निर्वाचित भएका थिए। विश्वनाथ यादवलाई पराजित गरेर केसी नगरप्रमुख रहेकै बखत दोस्रो कार्यकालको लागि सभापति बनेका थिए।
पार्टीभित्र चुनाव जितेर क्षेत्रीय सभापति बनेका केसी २०७९ सालको स्थानीय तहको निर्वाचनमा भने देवदह नगरपालिकाको प्रमुखमा पराजित भए।
केसीले ११ हजार ३२३ मत प्राप्त गर्दा नेकपा एमालेका ध्रुवप्रसाद खरेल १२ हजार ९४३ मत सहित नगर प्रमुखमा विजयी भएका थिए।
नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनको लागि २०७९ सालको निर्वाचनमा देवदह नगरपालिकाको प्रमुखमा पराजित केसीलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपाने पनि २०७९ सालको प्रदेशसभा निर्वाचनमा क्षेत्र नं. १ को 'ख' बाट पराजित बनेका थिए।
नेपाली कांग्रेसका अब्दुल रजाक गद्दीले १२ हजार १३७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा न्यौपाने ११ हजार ३०२ मत सहित पराजित बनेका थिए।
त्यसअघि २०७४ सालको निर्वाचनमा भने न्यौपाने सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट उम्मेदवार बनेका न्यौपानेले १३ हजार ९४ मत सहित विजयी हुँदा नेपाली कांग्रेसका हरि न्यौपाने ११ हजार १०८ मत ल्याएर पराजित बनेका थिए।
प्रदेशसभा सदस्य निर्वाचित भए पनि न्यौपानेले प्रदेश सभामा पाँच वर्षे कार्यकाल पूरा गर्न पाएनन्। माओवादी पृष्ठभूमिका न्यौपानेले २०७७ फागुन २३ गते नेकपा विभाजित बनेपछि नेकपा एमाले रोजेपछि २०७७ साल चैत २४ गते माओवादी केन्द्रले उनलाई पदमुक्त गरिदिएको थियो।
२०७९ सालको निर्वाचनमा एमालेले उम्मेदवार बनायो। तर उनी विजयी हुन सकेनन्। २०७९ माघमा एमालेका लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा न्यौपाने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए। तर गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेपछि न्यौपानेको राजनीतिक सल्लाहकारको पद पनि गुम्यो।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका न्यौपाने हालै सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका घनश्याम यादव उम्मेदवार बनेका छन्। तत्कालीन नेकपा माओवादीबाट संविधानसभा निर्वाचित भएका यादव राज्यमन्त्रीसमेत बनेका थिए। त्यसपछि भने यादव कुनै पनि निर्वाचनमा उम्मेदवार बनेनन्। यादव १२ वर्षपछि अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर रूपन्देही क्षेत्र नं. १ का मतदाताको घर आँगनमा पुगिरहेका छन्।
एमालेबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका यादव त्यसअघि २०५६ सालमा सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका थिए। त्यो बेला उनी नेपाली कांग्रेसका दुर्योधनसिंह चौधरीसँग पराजित भएका थिए। २०५६ सालमा एमालेबाट पराजित बनेपछि उनी माओवादीमा प्रवेश गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यो क्षेत्रमा स्वर्गीय दीपक बोहराका छोरा प्रज्वल बोहरालाई उम्मेदवार बनाएको छ। राप्रपाले क्षेत्र नं. ३ मा जेठा छोरा गौरवलाई उम्मेदवार बनाउँदा क्षेत्र नं. १ मा कान्छा छोरा प्रज्वललाई उम्मेदवार बनाएको हो। ४९ वर्षीय प्रज्वल दीपक बोहरा बिरामी भएपछि उनको प्रतिनिधित्व गर्दै क्षेत्र नं. ३ का जनताका माझमा पुग्ने गरेका थिए।
बुवाको प्रतिनिधिको रूपमा जनताको माझमा पुग्दा बुवाप्रति देखाएको सम्मानले उनलाई पनि राजनीतिमा लाग्न प्रेरणा मिलेको प्रज्वल बताउँछन्।
गत वर्ष चैत्रमा दीपक बोहराको मृत्यु भएपछि गत कात्तिकमा हुने भनिएको क्षेत्र नं. ३ को उपनिर्वाचनमा पनि राप्रपाबाट प्रज्वलको नाम सिफारिस भएको थियो।
प्रज्वलले अमेरिकाबाट कम्प्युटर साइन्समा स्नातक पास गरेर सर्भिस माइन्ड कम्पनी मार्फत नेपालमा कल सेन्टर सञ्चालन गरेका थिए। उनले सफ्टवेयर र वेबसाइट निर्माणमा पनि काम गरे। स्मार्ट च्वाइस कम्पनीमार्फत नेपालमै पहिलो पटक एटिएम र डेबिट कार्डमार्फत बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्टमा आफ्नो कम्पनीले काम गरेको उनी दाबी गर्छन्।
नेपाल क्लियरिङ हाउस कम्पनीमार्फत नेपालमा डिजिटल बैंकिङ कारोबार र फिनटेक सोलुसनमार्फत विदेशी बैंकका लागि सफ्टवेयर बनाउने काम गरेको प्रज्वल बताउँछन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले सुनिल लम्साललाई उम्मेदवार बनाएको छ। यसअघि रास्वपाका वरिष्ठ नेता बालेन साहले काठमाडौँ महानगरपालिकाको पूर्वाधार विकास सल्लाहकारमा नियुक्त गरेपछि लम्साल चर्चामा आएका थिए। सिभिल इन्जिनियर पास गरेका लम्साल अहिले बालेन साहकै कोटाबाट रास्वपाको महामन्त्री समेत रहेका छन्। निर्वाचनका लागि मनोनयनको केही दिन पहिले मात्रै साहसँगै रास्वपामा प्रवेश गरेका लम्साल साहकै कोटाबाट क्षेत्र नं. १ मा उम्मेदवार बनेका हुन्।
निर्वाचनका लागि क्षेत्र नं १ मा राजनीतिक दलहरूबाट २० जना र स्वतन्त्रबाट ११ जना गरी ३१ जनाले उम्मेदवारी दिएका छन्।
उज्यालो नेपाल पार्टीबाट अशोक कुमार चौधरी, श्रम संस्कृति पार्टीबाट छविलाल गुरुङ, नागरिक उन्मुक्ति पार्टीबाट डा. उमाशङ्कर चौधरी, नेकपा माओवादीबाट मदनबहादुर चौधरी, जनता समाजवादी पार्टी बाट मोहम्मद असलाम खाँ लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।
निर्वाचनको मिति नजिक आइरहँदा राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू मतदातालाई भेट्न व्यस्त छन्।
यस्तो छ विगतको राजनीतिक इतिहास
विगत २०७९ सालको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नं. १ नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र राप्रपा सँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको समेत राम्रो पकड रहेको देखिन्छ।
२०७९ सालको निर्वाचनमा राप्रपासँग तालमेल गर्दा एमालेका छविलाल विश्वकर्मा २४ हजार ८८२ मत सहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। नेपाली कांग्रेस र माओवादी सहित पाँच दलको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले २१ हजार ३१८ मत प्राप्त गरेका थिए।
रास्वपाका नरेश बहादुर पछाई क्षेत्रीले १४ हजार १४५ र नागरिक उन्मुक्ति पार्टीका धनी राम चौधरीले १३ हजार ९६२ मत प्राप्त गरेका थिए। त्यस्तै जनमत पार्टीका कैलाश गुरुङले ५ हजार १६९ र एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका टीकाराम जैसी चापागाईंले ३ हजार ४८९ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ भने प्रतिनिधि सभामा नेपाली कांग्रेस र प्रदेशसभामा नेकपा एमाले पहिलो भएको छन्। प्रतिनिधि सभामा नेपाली काँग्रेसले १९ हजार १२५, रास्वपाले १५ हजार ८००, नेकपा एमालेले १५ हजार ७२४, राप्रपाले ११ हजार २४३, नागरिक उन्मुक्ति पार्टीले १० हजार १ र जनमत पार्टीले ३ हजार ७६३ मत प्राप्त गरेका थिए।
त्यस्तै, प्रदेशसभातर्फ भने एमालेले २० हजार ६७२ मत सहित पहिलो भएको थियो। नेपाली कांग्रेसले १८ हजार ८०८, राप्रपाले ११ हजार ८९२, नागरिक उन्मुक्ति पार्टीले १० हजार ४४२ र जनमत पार्टीले ४ हजार ४५४ मत प्राप्त गरेका थिए। प्रदेशसभा भन्दा प्रतिनिधि सभामा एमालेले झन्डै ५ हजार मत कम ल्याएको थियो। समानुपातिकतर्फ नेकपा माओवादी भने प्रतिनिधि सभातर्फ सातौँ र प्रदेश सभातर्फ छैटौं स्थानमा थियो।
यस क्षेत्रमा २०४८ देखि ०५६ सम्म लगातार नेपाली कांग्रेसका दुर्योधनसिंह थारूले चुनाव जितेका थिए। २०६४ मा एमालेबाट तत्कालीन माओवादी प्रवेश गरेर उम्मेदवार बनेका घनश्याम यादव विजयी भए भने २०७० सालमा नेपाली कांग्रेसका अब्दुल रजाक गद्दी विजयी भएका थिए। २०७४ र २०७९ सालको दुई वटा निर्वाचनमा भने एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मा विजयी भएका थिए।