निर्वाचन डिस्प्याच
रूपन्देहीलाई दुई भागमा चिरेर बहने तिनाउ नदीको करिब ५ किलोमिटर खण्डमा एक थोपा पानी पनि छैन। नदीमाथि पुल छ, पुलमुनि बगर मात्र। नदीमा कमिला निर्वाध वारपार गरिरहेका दृश्य स्थानीयका लागि नौलो छैन।
नदी किनारमा बसोबास गरेका स्थानीय ६३ वर्षीय लालबहादुर कुँवरका अनुसार गर्मी चढेसँगै नदीको बाटो भएर बहने तातो हावा र बालुवाले स्थानीयलाई सताउँछ। बर्खामा पहाडबाट बहेर आउने बाढीले रातभर सुत्न दिँदैन।
गर्मी बढेसँगै आउँदो चुनावले भने नदीको वारिपारि आश्वासनको बाढी चलेको छ।
'चुनावका बेला आश्वासन बोकेर आउने नेताहरूलाई पटक पटक जिताएर पठायौं, जितेर गएपछि कोही पनि फर्केनन्,' उनले भने, 'यहाँको समस्या भनेर सकिने छैन। सुन्नुपर्ने मान्छे चुनावका बेला मात्र आउँछ।'
तिनाउ नदी किनारमा लालबहादुर उभिएको जमिन स्थिर छ। नदीको पानी र उनीहरूको भविष्य भने अस्थिर छ। किनकि, जमिन उनीहरूका नाममा छैन।
सरकारले हटाइदेला कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर बाढीले बगाऊला कि भन्ने चिन्ता। स्थायी बसोबासका लागि लालपुर्जा दिने आश्वासन दिन आउने नेताहरू पटक पटक सत्तामा पुगे पनि उनीहरूका समस्या सुल्झिएनन्। आफूले टेकेको धर्तीको पुर्जी आफ्नै नाममा होस् भन्ने उनीहरूको चाहना वर्षौंदेखि अधुरा छन्।
तिनाउ नदीमा पानी र सुकुम्बासीलाई लालपुर्जाका आश्वासन दिलाउन चुनाव आउनुपर्छ। बर्खायाम वर्षमा एक पटक आउने भए पनि चुनाव आउन ५ वर्ष लाग्छ। यस पटक ३ वर्षमै चुनाव आएकाले लालबहादुरले अरू बेलाभन्दा छिटो यस पटक आश्वासनहरू पाइरहेका छन्।
लालबहादुर कुँवर
इन्द्रकला कुँवर
उनलाई लालपुर्जा दिलाउने आश्वासन लिएर नयाँदेखि पुराना दलका उम्मेदवारहरू, पटक पटक चुनाव जितेर मन्त्री भएकादेखि पहिलो पटक चुनाव लडेका उम्मेदवार पनि पुगेका छन्।
सबैले भनेका छन्, 'हामीलाई भोट दिनुस्, हामी लालपुर्जा उपलब्ध गराउँछौं।'
लालपुर्जासँग भोट साट्न खोजेका नेताहरू देखेर लालबहादुर भित्रभित्रै दिक्क हुन्छन्। भूमि उनीहरूको संविधान प्रदत्त अधिकार भएर पनि नेताहरू भोट दिए मात्र पाउनेझैं व्यवहार गर्छन्, मानौं, उनीहरूलाई भोट दिएन भने सुकुम्बासीको भूमिमाथि अधिकार खोसिनेछ।
'भोट दिए पनि, नदिए पनि लालपुर्जा पाउने हाम्रो अधिकार हो। तर नेताहरू भोटसँग साट्न खोज्छन्,' उनले भने, 'भोट पनि दिएको हो, सरकारमा पनि गएको हो। तर हामीलाई भेट्न पनि आएनन्, हामीले भेट्न पनि पाएनौं।'
तिनाउ नदीको सुख्खा बगरमा अडिएका ढुंगाहरू बर्खामा बाढीको भेलसँगै पहाडबाट गुल्टिएर पुगेका हुन्। पहाडमा अडिन नसकेपछि ढुंगा बाढीसँगै बहेर गुडुल्की मार्दै तिनाउ नदीमा पुग्यो। लालबहादुर पनि पहाडमा बस्ने, खाने अवस्था नभएपछि हण्डर खाँदै तिनाउछेउ टहरा बनाएर बस्न पुगेक हुन्।
लालबहादुरका ८ दाजुभाइ र तीन दिदीबहिनी छन्। गुल्मीमा उनको परिवारको थोरै बारी र एउटा सानो घर थियो।
त्यही घरबाट लालबहादुर २०४८ सालताका १३ वर्षकै उमेरमा काम गर्न दाइहरूसँग भारतको दिल्ली पुगेका थिए। दिल्लीमा उनले रोजगारी गरेर १० वर्ष बिताए।
दिल्लीबाट घर फर्किँदा उनको घर र बारी थिएन। दाजुभाइ र दिदीबहिनीको पालनपोषण गर्दा ऋण लाग्यो। भएको घर र बारी बेचेर परिवार नै सुकुम्बासी भएछन्।
लालबहादुर बुटवल झरे। बिहे गरे। सिद्धार्थ राजमार्ग छेउछाउ चिया पसल राखे।
चिया बेचेर लालबहादुरले जीविका चलाइरहेका थिए। बुटवल नगरपालिकाले उनलाई दुःख दिन थाल्यो। चिया पकाउने भाँडाकुँडा नगरपालिकाले जफत गर्यो। राजमार्गमा चिया बेच्न नगरपालिकाले दिएन।

भारतको दिल्ली रहँदा उनले ड्राइभिङ सिकेका थिए। त्यति बेला सवारी साधनको संख्या निकै न्यून थियो। गाडी चलाउन जान्नेले पनि काम पाउन गाह्रो थियो।
उनले बल्लतल्ल ट्याक्सी चलाउने काम पाए। रूपन्देहीको योगीकुटीमा कोठा भाडामा लिएर बस्न थाले।
अहिले उनले घर बनाएको ठाउँमा कुनै बेला तिनाउ नदी बग्थ्यो। बाढी बजारसम्मै आउँथ्यो। २०५२ सालतिर खोलाले उक्त ठाउँ छाड्यो।
ड्राइभिङ गर्दा पाउने तलब त्यति बेला न्यून थियो। त्यसमाथि नियमित तलब पाउनै गाह्रो। पछि यो काम पनि गुमेपछि उनीहरू कोठा भाडामा बस्न पाएनन्।
तिनाउ धार परिवर्तन गरेर पश्चिम किनाराबाट बग्न थालेपछि अहिले बस्ती बसेको ठाउँ बगर बन्यो। लालबहादुर र उनकी श्रीमती इन्द्रकला मिलेर बगरमा ढुंगामाटो हाले। बगर पुरेर टहरा बनाए।
तिलोत्तमाको तिनाउ किनारमा यसरी टहरा हालेका पहिलो लहरका सुकुम्बासी हुन् लालबहादुर।
'यो ठाउँमा बगर पुरेर हामीले टहरा बनाएर बसेको पनि २३ वर्ष भयो। हामी नै पहिलो पटक यहाँ बस्न आएका हौं,' उनले भने, 'अहिले बस्ती भरिसक्यो, हाम्रो हक भनेको भोट हाल्ने मात्र भएको छ। अरू कुनै अधिकार छैन।'
त्यति बेला तिलोत्तमाका गाउँलेहरू बगरमा भैंसी चराउन लैजान्थे। भैंसी चराउने ठाउँमा टहरा बनाएको भन्दै गाउँलेले हप्काउँथे। अहिले उनीहरूलाई हप्काउन कोही जाँदैनन्। उनी आफै बस्ती रहन्छ कि रहँदैन भनेर चिन्ता पालेर बसेका छन्।
राज्यका दस्तावेजमा लालबहादुर र उनका छिमेकी सुकुम्बासी हुन्। नेताका लागि एक भोट हुन्। दुई छोराका बुबाआमा लालबहादुर र इन्द्रकला अब भोटसँग आश्वासन साट्ने पक्षमा छैनन्। विगतमा पटक पटक वाचा गरेर सत्तामा पुगेकाहरूसँग उनीहरू विरक्तिएका छन्। उनीहरूले यस पटक सोचमा परिवर्तन ल्याएका छन्।
'पहिले पहिले जताबाट गुलिया कुरा आउँथे, उतै भुलिन्थ्यो,' स्थानीय सीता आब्जू भन्छिन्, 'यस पटक सोचविचार गरेर मात्र भोट हाल्नुपर्नेछ।'

देशका अन्य सहर र गाउँहरूमा जस्तै रूपन्देहीका सुकुम्बासी बस्तीमा पनि राजनीतिक परिवर्तनको लहर देखिएको छ। उनीहरू पुराना दल र नेताको भोट बैंकबाट सोचविचार गरेर दल र नेता परिवर्तन गर्ने सोचमा पुगेका छन्। योग्य र भरोसायोग्य उम्मेदवार छानेर मतदान गर्ने सीता बताउँछिन्।
'हामीले हाम्रो अवस्था परिवर्तन होस् भनेर यस पटक भोट पनि परिवर्तन गर्न चाहेका छौं,' उनले भनिन्, 'सधैं एउटै नेता छान्दा हाम्रो अवस्था पनि सधैं उस्तै भइराख्यो। खासमा हामी हाम्रो अवस्था परिवर्तन होस् भन्ने चाहन्छौं।'
राज्यले वर्षौंदेखि यथावत् राखेको सुकुम्बासी समस्या समाधान गर्ने खालको सरकार बनोस् भनेर चाहेको लालबहादुर बताउँछन्। आफूहरूलाई राज्य भएको अनुभूति होस्, देशको नागरिक अधिकार पाइयोस् भन्ने उनको चाहना छ।
सुकुम्बासी टोलमा भोट खरिद गर्न आर्थिक प्रलोभनदेखि भोजभतेरका कार्यक्रम हुने गरेको विगतका तिता घटना पनि उनले देखेका छन्। लालबहादुर भने यस्ता घटनामा आफू नजाने बताउँछन्।
'भोट माग्न मिठा आश्वासन, भोजभतेर र पैसाको खेलोमेलो हुने गरेको पहिले–पहिले सुनेको थिएँ। त्यस्ता काममा म सहभागी हुन्नँ,' उनले भने, 'अहिले भोट किन्न नेताले गरेको खर्च भोलि हामीसितै उठाउने त हो नि!'
***
