सरकारले तनावग्रस्त मध्यपूर्वी देशमा १७ लाख नेपाली नागरिक रहेको खुलाएको छ।
आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपाली नागरिकको संख्या र उनीहरूको अवस्थाबारे जानकारी गराएको हो।
सेन्ट्रल एसिया, पश्चिम एसिया र अफ्रिका डिभिजन प्रमुख एवं सहसचिव रामकाजी खड्काले मध्यपूर्वी क्षेत्रमा १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जानकारी दिए।
इरानमा रहेका १० जना नेपाली मध्ये चार जना फर्किसकेको उनले बताए।
इसराइलमा ६ हजार ५००, इजिप्टमा ५००, ओमनमा २५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५ र युएईमा लगभग ७ लाख नेपाली नागरिक छन्।
त्यसैगरी लेवननमा १५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेको परराष्ट्र मन्त्रायलले जानकारी दिएको छ।
उनीहरूको सुरक्षाबारे सरकार र परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखेर पछिल्लो घटनाक्रमलाई नियालिरहेको सहसचिव खड्काले बताए।
यसका लागि यी देशमा रहेका दूतावास तथा नियोगबाट सूचना आदानप्रदान गर्न लागि ह्वाट्सएप ग्रुप बनाएर समन्वय भइरहेको उनले बताए।
‘अपडेटहरू हामीले यहीँबाट लिन थालेका छौं। नेपालीहरूले कुनै समस्या भोग्नुपर्यो भने त्यसैमा राख्ने गर्नुभएको छ। कन्सुलर सेवा विभागलाई नेपाली नागरिकको उद्धार गर्न पर्ने हुन सक्छ भनिएको छ,’ उनले भने।
त्यसैगरी नेपाली नागरिकको अवस्थाबारे जानकारी लिन रजिस्ट्रेसन प्लेटफर्म बनाउने तयारी पनि मन्त्रालयले गरेको छ।
कन्सुलर सेवा विभागलाई पनि एप्लिकेशन बनाउन र केही दिनमै वेबसाइटमा उपलब्ध गराउन भनिएको उनले जानकारी दिए।
त्यसैगरी सरोकारवाला निकायहरूको एउटा संयुक्त आपतकालीन उद्धार समूह गठन भएको उनले बताए।
‘आज बिहान मुख्य सचिवको संयोजकत्वमा मल्टी स्टेकहोल्डर बैठक बसेको थियो। विभिन्न निकायले आआफ्नो भूमिका खेल्यो। परराष्ट्र सचिव अमृत राईको संयोजकत्वमा एउटा इमर्जेन्सी रेस्क्यू टिम गठन गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने।
त्यसैगरी कन्सुलर सेवा विभागले २४ घण्टाको हटलाइनको व्यवस्था गर्ने निर्णय पनि भएको छ।
युद्धको अवस्था कस्तो रहन्छ, कति समयसम्म रहन्छ, त्यसका लागि छिमेकी मुलुकले चाल्ने कदमलाई पनि नियाल्ने र त्यसअनुसार नै उद्धारको काम अगाडि बढाइने पनि सहसचिव खड्काले बताए।
‘युद्ध लम्बिने अवस्था रहेमा छिमेकी मुलुकले लिने कदम र सम्बन्धित मुलुकले देखाउने तत्परतालाई समेत हेरेर हामीले त्यहाँबाट सुरक्षित स्थानमा लैजाने रणनीति अपनाउनुपर्ने मन्त्रालयको बुझाइ छ,’ उनले भने।
युद्धको दौरान नेपाली नागरिकहरू चार किसिमले अलपत्र देखिएको उनले बताए।
पहिलो, भिसा लागेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेकाहरू।
दोस्रो, काठमाडौंबाट उडान गरिसकेका तर मध्यपूर्वी क्षेत्रको विमानस्थलमा अलपत्र पर्नेहरू ।
तेस्रो, ट्रान्जिटको रूपमा मध्यपूर्वी राष्ट्रका विमानस्थलको प्रयोग गरेका नेपाली नागरिकहरू त्यहाँबाट निस्किन नसकेकाहरू रहेको मन्त्रालयले जनाएको छ।
चौथोमा मध्यपूर्वी मुलुकहरूमा कार्यरत नेपाली नागरिकहरू छन्।
मन्त्रालयले काठमाडौंबाट जान लागेका र त्यहाँ विमानस्थलमा रहेकाहरूको उद्धारका लागि वैदेशिक रोजगार विभाग र व्यवसायीसँगको समन्वय गर्ने तयारी गरेको छ।
वैदेशिक रोजगारका व्यवसायीहरूले आफ्ना कम्पनीमार्फत उद्धारका लागि पहल लिनेमा अपेक्षा राखेको सहसचिव खड्काले बताए।
मन्त्रालयले मध्यपूर्वी क्षेत्र जान लागेका नेपाली नागरिकहरूलाई केही समय कुर्न पनि अनुरोध गरेको छ।
मध्यपूर्वी क्षेत्रबाट उद्धार गर्न निजी क्षेत्रको समन्वयसँगै अन्तर्राष्ट्रिय संस्था इन्टरनेशन अर्गनाइजेसन फर माइग्रेशनसँग आवश्यक समन्वयका लागि तयारी गरिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।