३५ वर्षमुनिका सांसद
'म राजनीतिज्ञ बन्न चाहन्छु।'
स्कुलमा शिक्षकले भविष्यमा कुन पेसा रोज्छौ भन्ने प्रश्न गर्दा प्रशान्त उप्रेतीको जबाफ यही हुन्थ्यो।
सानैदेखि दिँदै आएको यो जबाफलाई प्रशान्तले २५ वर्षकै उमेरमा सही साबित गरेका छन्।
जेनजी आन्दोलनपछि फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जेनजी युवा उप्रेती मकवानपुर-२ बाट सांसद निर्वाचित भएका छन्।
यसअघि कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका हुन्।
प्रशान्तले मकवानपुर-२ मा नेकपा एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलालाई पराजित गरेका छन्। महेशले १८ हजार ८४६ मत ल्याउँदा प्रशान्तले ३० हजार ५० मत ल्याए र ११ हजारको मतान्तरसहित विजयी भए।
उनी मकवानपुर-२ का मतदाताले आफूलाई विश्वास गरेकामा खुसी व्यक्त गर्दै भन्छन्, 'जननिर्वाचित हुँदा खुसी लागेको छ। जनताले ममाथि विश्वास गर्नुभएकाले अत्यन्त खुसी छु। यसका लागि म रास्वपाप्रति पनि आभारी छु।'
राजनीतिमा आउने इच्छा अहिले मात्र सुरू नभएको उनको भनाइ छ।
'म एक्कासि राजनीतिमा आएको होइन। लहरमा लागेर चुनाव लडेको पनि होइन। स्कुलमा हुँदादेखि नै मलाई राजनीतिमा चासो थियो। मैले राजनीतिमा आउन धेरै समयदेखि काम गर्दै आएको छु,' उनले भने, 'स्कुलमा शिक्षकले सोध्नुहुन्थ्यो — ह्वाट इज योर एम? (तिमी भविष्यमा के बन्न चाहन्छौ?) यस्तो प्रश्न सोधिँदा म सधैं राजनीतिज्ञ बन्न चाहन्छु भन्ने जबाफ दिन्थेँ।'
२०५७ जेठ १० गते जन्मेका प्रशान्तले युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, मकवानपुरबाट एसइई पास गरेका थिए। उनी अहिले काठमाडौं विश्वविद्यालय, शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गर्दै छन्।
उनले नेपाल एकेडेमी अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्टबाट ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टमा स्नातक गरेका थिए।

सांसद बन्नुअघि पर्यटन क्षेत्रमा काम गर्दै आएका प्रशान्त कक्षा ९ र १० का विद्यार्थीलाई सामाजिक शिक्षा समेत पढाउँथे।
उनले विभिन्न सामाजिक संस्थामा रहेर सामाजिक मुद्दामा लेख्ने र आवाज उठाउने गर्दै आएका थिए। त्यही क्रममा २०७२ सालमा नयाँ संविधान जारी भएपछिका राजनीतिक घटनाक्रम नजिकबाट नियाल्दै आएको उनी बताउँछन्।
संविधान जारी भएको त्यो समय उनलाई लागेको थियो — देशमा धेरै काम गर्न सकिन्छ, राजनीतिक संस्थाहरू सुढृढ गर्न सकिन्छ।
यही सोच मनमा राखेर राजनीतिक सक्रियता बढाउँदै लगेका प्रशान्त पछिल्लो समय रास्वपाको सदस्यता लिएर राजनीतिमा होमिएका हुन्।
'असल नियत राख्ने हो भने धेरै ठाउँमा काम गर्न सकिन्छ भन्ने लागेको थियो। संस्थागत रूपमा सुधारहरू गर्ने प्रशस्त ठाउँ छन् भन्ने विचार आउने गर्थ्यो,' उनले भने, 'सांसद बनिसकेपछि मैले आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने थुप्रै कामहरू देखेको छु।'
उनले आफ्नो क्षेत्रमा पहिलो समस्या भूमिहीनहरूको देखेका छन्।
दोस्रो, गरिबीको समस्या रहेको उनी बताउँछन्।
'गरिबीको समस्या पनि ठूलो छ। राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने मानिसहरू आधारभूत आवश्यकताका लागि समेत संघर्ष गर्नुपर्ने आवस्थामा छन्,' उनले भने।
तेस्रो, मध्यवर्ती क्षेत्रमा मानिस र वन्यजन्तुबीचको द्वन्द्व र त्यसबाट पीडितहरूले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि उनले आफ्नो राजनीतिक एजेन्डा बनाएका छन्।
चौथो, चट्याङ लागेर हरेक वर्ष यहाँ ठूलो संख्यामा मानिसहरूको ज्यान जान्छ। यसलाई नियन्त्रण गर्न पहल गर्ने उनको तयारी छ।
यसबाहेक टेलिकमको नेटवर्क, कृषिसँग सम्बन्धित समस्या हल गर्नु आफ्नो प्राथमिकता रहेको उनी बताउँछन्।
'मैले आफ्नो क्षेत्रका समस्यालाई नजिकबाट केलाइरहेको छु,' उनले भने, 'सिलसिलाबद्ध रूपमा काम गर्ने विचार छ। सुरूमा सम्भवत: भूमिहीनहरूको समस्या सम्बोधन गर्ने हिसाबले काम थाल्छौं।'
उनले अगाडि भने, 'मकवानपुरमा देखिएका समस्याहरूलाई संसदमा लिएर जान्छु, आवाज उठाउँछु। जनमुखी काममा निरन्तर लागिरहन्छु। कतिपय नीति/कानुनहरू हेर्दा व्यवहारिकता एकातिर छ, कानुन अर्कोतिर छ। यस्ता समस्याको पहिचान र सुधारमा काम गर्नुपर्छ भन्ने लाग्छ।'
सांसदको काम नीति निर्माण हो कि विकास हो भन्नेबारे बेलाबेला बहस हुन्छ। विकास निर्माणकै लागि भनेर सांसद विकास कोषको चर्चा पनि आउने गर्छ। यस्तो कोष आवश्यक छ कि छैन भन्नेबारे प्रश्न गर्दा प्रशान्तले यो कुरा क्षेत्र अनुसार फरक पर्ने बताए।
'सबै संयन्त्रले राम्ररी काम गर्दा यस्तो कोष आवश्यक नपर्ला। नागरिकको आधारभूत आवश्यकता पूरा भएको अवस्थामा सांसद विकास कोष आवश्यक नपर्न सक्छ,' उनले भने, 'तर कतिपय समुदायको उत्थान गर्न धेरै काम गर्नुपर्ने हुन सक्छ। राज्यलाई प्राथमिकता नलागेको विषय त्यहाँका जनतालाई आवश्यक पनि लाग्न सक्छ।'
स्थानीय स्तरमा सडक, खानेपानी लगायत आधारभूत आवश्यकता पूरा गर्न कोष आवश्यक पर्न सक्ने उनी बताउँछन्।