महिला सांसद
विराटनगर महानगरपालिका, वडा नम्बर १३ का बस्तीमा वर्षौंदेखि उनी एक परिचित नाम थिइन्। कसैको घरमा ज्वरो आए पनि उपचारका लागि बोलाइने उनै हुन्थिन्।
गर्भवती महिलालाई स्वास्थ्य जाँचबारे सम्झाउन होस् वा बालबालिकाको खोप र सरसफाइको महत्त्व बुझाउन किन नहोस्, बस्तीमा उनको अग्रसरता सबैले देखेका थिए।
उनी चिकित्सक थिइनन्, न सरकारी कर्मचारी नै थिइन्। तर स्थानीयबासीका लागि स्वास्थ्य समस्या सुनाउने पहिलो पात्र उनै हुन्थिन्।
ग्रामीण सर्वसाधारणका लागि स्वास्थ्यको भरोसा बनेकी महिला स्वास्थ्य स्वयंसेविका आशा झा अब सांसद बनेर सिंहदरबार प्रवेश गर्ने भएकी छन्।
यसपटक प्रतिनिधिसभा निर्वाचनमा मोरङ–५ बाट आशा झा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार थिइन्। उनले टिकट पाएपछि रास्वपाको स्थानीय कमिटीमा विवाद मात्र भएन, टिकटका अन्य आकांक्षीहरूले नेताहरूको तस्बिरमा मसी छ्यापेर विरोध गरेका भिडिओ नै सार्वजनिक भए।
पार्टीभित्रको यस्तो असन्तोषका बाबजुद मोरङका ६ वटै निर्वाचन क्षेत्र जितेर रास्वपाले 'क्लिनस्विप' गर्यो। त्यस क्रममा मोरङ–५ की आशाले पनि आफ्नो क्षेत्रमा विजयको झन्डा फहराइन्।
४२ वर्षीया आशा ३० हजार ४३४ मतसहित प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका फूलकुमार लालवानी, जसपा नेपालका राजकुमार यादव, नेकपाका शिवकुमार मण्डल, नेकपा एमालेका मनोजकुमार अग्रवाल र निवर्तमान सांसद योगेन्द्र मण्डलजस्ता 'हेभिवेट' उम्मेदवारहरूलाई फराकिलो अन्तरले पछि पारेकी थिइन्।
'विराटनगरका गल्लीहरूमा स्वास्थ्य सन्देश बोकेर हिँड्ने स्वयंसेविकाको यात्रा अब प्रतिनिधिसभामा पुगेको छ,' आशाले सेतोपाटीसँग भनिन्, 'म खुसी छु, काँधमा ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु।'
उनी आफ्नो राजनीतिक यात्रा धेरै पुरानो नभएको तर सामाजिक यात्रा लामो भइसकेको बताउँछिन्। सामाजिक कामकै बलमा टिकट पाएको उनको भनाइ छ।
विराटनगरसहित मोरङ–५ मा पर्ने क्षेत्रका समुदायसँग आशाको सम्बन्ध डेढ दशक पुरानो छ। उनले यही क्षेत्रमा १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेकी छन्। गर्भवती महिलालाई पोषण र स्वास्थ्यबारे सचेत गराउनेदेखि बालबालिकाको खोप अभियानसम्मका काम उनको दैनिकीभित्र पर्थ्यो।
यसबाहेक उनले महिला, बालबालिका र सामाजिक कुरीतिविरूद्ध काम गर्ने संस्था खोलेर त्यसमार्फत् पनि काम गर्दै आएकी थिइन्।
आशाको सामाजिक सक्रियता धार्मिक–सांस्कृतिक संस्थासम्म फैलिएको थियो। 'गायत्री परिवार' नामक संस्थामार्फत् नैतिक शिक्षा, महिला तथा युवा सशक्तीकरणजस्ता अभियानमा पनि काम गरेको उनले जानकारी दिइन्।
सामाजिक सेवाको यो यात्राले आफूलाई समुदायको पीडा नजिकबाट बुझ्ने अवसर दिएको उनको भनाइ छ।
यो यात्रा चलिरहँदा राजनीति उनको रोजाइ थिएन। उनलाई यो क्षेत्र निकै जटिल र दलदल हो जस्तो लाग्थ्यो उनलाई। तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एउटा प्रश्नले उनलाई घच्घच्याउन थाल्यो।
'यदि सबैले राजनीतिलाई खराब ठानेर टाढा बस्ने हो भने यसलाई सुधार्ने कसले भन्ने लाग्न थाल्यो,' उनले भनिन्, 'राजनीतिबाट अलग रहेर बस्न सकिँदैन, त्यो समस्याको समाधान पनि होइन। बरू यसलाई सुधार्न भित्रैबाट काम गर्नुपर्छ भन्ने सोच आयो।'
जेनजी आन्दोलन बेला आशा काठमाडौंमै थिइन्। त्यस क्रममा राज्य र आन्दोलनकारीबीचको भिडन्त उनले नजिकबाट देखिन्। उनकै सन्तान पनि आन्दोलनमा सामेल थिए।
'त्यो समय राज्यले गरेको दमन देखेपछि म सोच्न बाध्य भएँ,' आशाले भनिन्, 'त्यो घटनापछि म समाजसेवाले मात्र नपुग्ने रहेछ, नीति निर्माण तहमै पुगेर काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ।'
त्यसपछि नै आफ्नो सोच र कार्यशैली मिल्ने राजनीतिक प्लेटफर्म खोज्न थालेको र राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् औपचारिक राजनीतिक यात्रा सुरू गरेको उनले जानकारी दिइन्।
आशाका अनुसार उनले प्रतिनिधित्व गर्ने मोरङ–५ विविध सम्भावनाले भरिएको ठाउँ हो। तर त्यहाँका धेरै समस्या अझै समाधानको पर्खाइमा छन्।
उनका अनुसार पहिलो चुनौती पूर्वाधार हो।
'सबभन्दा पहिले सडक पूर्वाधार सुधार गर्नुपर्छ। धेरै सडकहरू अहिले पनि कमजोर अवस्थामा छन्,' उनले भनिन्।
उनले रोजगारी सिर्जनालाई आफ्नो दोस्रो प्राथमिकता मानेकी छन्।
'विराटनगर एक समय उद्योगधन्दाका लागि परिचित थियो। समयक्रममा धेरै उद्योग बन्द भए,' सांसदका रूपमा गर्ने आफ्नो काम र योजना सुनाउँदै आशाले भनिन्, 'पहिले हजारौं मानिसले रोजगारी पाउने उद्योगहरू थिए। विराटनगर जुट मिल्स जस्ता उद्योग थिए। त्यस्ता उद्योग राजनीतिक दलहरूको लुछाचुँडीले बन्द भए। उद्योग सञ्चालन भए रोजगारी सिर्जना हुन्छ र समग्र क्षेत्रको विकास पनि हुन्छ। त्यसैले सरकारले उद्योग चलाउने गरी म पहल गर्नेछु।'
सरकारले उद्योग चलाउने विषय कति व्यवहारिक होला भन्ने सेतोपाटीको प्रश्नमा नवनिर्वाचित सांसद झाको जबाफ थियो, 'इमानदार रूपले चलाउने हो भने सरकारले मज्जाले चलाउन सक्छ।'
उनका अनुसार कृषि क्षेत्र पनि उनको प्राथमिकतामा पर्छ। उर्वर भूमि भएको मोरङमा व्यावसायिक कृषि प्रवर्द्धन गरेर किसानको आय बढाउन सकिने उनी बताउँछिन्।
त्यस्तै, ऐतिहासिक महत्त्व बोकेको राजा विराटको दरबार क्षेत्र संरक्षण गरेर त्यहाँको पर्यटकीय सम्भाव्यता प्रवर्द्धन गर्ने उनी बताउँछिन्।
संसदमा पुगेपछि आशाले देखेको मुख्य चुनौती नीति निर्माण होइन, त्यसको कार्यान्वयन हो।
'धेरै नीति बनाइन्छन्, तर व्यवहारमा लागू हुँदैनन्। नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके धेरै सुधार सम्भव छ,' उनले भनिन्।
उनका अनुसार सांसदको मूल काम नीति निर्माण र निगरानी हो। विकासका काम सम्बन्धित निकायमार्फत् हुनुपर्छ, तर जनताको अपेक्षा पूरा गर्न समन्वय आवश्यक हुन्छ।
स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दा उनले महिलाका समस्या नजिकबाट देखेकी छन्।
'नेपालमा महिला हक–अधिकारका लागि नीति त बनेका छन्, तर व्यवहारमा लागू हुन सकेका छैनन्। दाइजो जस्ता समस्या अझै पनि समाजमा छन्,' उनले भनिन्, 'महिलालाई शिक्षा, रोजगारी र निर्णय प्रक्रियामा सहभागी हुने अवसर सुनिश्चित गर्नुपर्छ। म यसका लागि सक्दो पहल लिनेछु।'
शिक्षाशास्त्रका स्नातक आशा दुई छोरी र एक छोराकी आमा हुन्। १६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरेपछि चुनाव लड्नुअघि राजीनामा दिएकी उनी आफ्नो नयाँ भूमिकालाई न्याय गर्ने आत्मविश्वास देखाइरहेकी छन्।
'हिजोसम्म सामान्य नागरिकका रूपमा सीमित जिम्मेवारी सम्हालिरहेकी थिएँ। अब जनताले दिएको ठूलो दायित्व छ। त्यसलाई कसरी राम्रोसँग निर्वाह गर्ने भन्ने सोचिरहेकी छु,' उनले भनिन्।
***