अनिल राज पाण्डे अमेरिकाको सनफ्रान्सिस्कोमा २६ वर्षदेखि बसोबास गर्दै आएका छन्।
उनी त्यहाँ सफल उद्यमीका रूपमा परिचित छन्।
उनको रेस्टुरेन्ट, ब्युटिपार्लर, फाइनान्स कम्पनी, रियल–इस्टेट तथा ग्रोसरी व्यवसायमा लगानी छ।
'फरक फरक समूहसँग साझेदारी गरेको छु,' उनले भने।
ती सबै कम्पनीमा अनिल अध्यक्षको जिम्मेवारीमा छन्।
उनका तीन वटा रेस्टुरेन्ट छन्। दुइटामा एसियन फ्युजन परिकार पाइन्छ। एउटा 'मिस्टर पिकल' को फ्रेन्चाइज हो।
मिस्टर पिकलमा अमेरिकी खानेकुरा पाइन्छ। सिलिकन भ्यालीमा रहेको 'एभरेस्ट कुजिन' मा नेपाली, भारतीय लगायत एसियन फ्युजन खाना पाइन्छ। ग्राहक पनि मुख्य रूपमा अमेरिकी, नेपाली, भारतीय, मेक्सिकन आउँछन्।
रेस्टुरेन्टहरूमा पार्टटाइम तथा फूलटाइम गरेर ५० जनाले रोजगारी पाएको अनिलले बताए।
'एभरेस्ट कुजिनका कर्मचारीहरू अधिकांश नेपाली छन्। उनीहरू फूलटाइम कर्मचारी हुन्,' राजले भने, 'मिस्टर पिकलमा चाहिँ पार्टटाइम गर्ने धेरै छन्। सबै अमेरिकन हुन्।'
अनिल रेस्टुरेन्ट व्यवसायमा लागेको ८ वर्ष भयो। यसअघि उनले ब्युटीपार्लरमा लगानी गरेका थिए। कोरोना महामारीअघि विभिन्न राज्यमा उनका सात वटा ब्युटीपार्लर थिए। कोरोनापछि केही बन्द भए।

अहिले उनका दुइटा ब्युटीपार्लर छन्। पार्लरमा अधिकांश कर्मचारी नेपाली छन्। मुख्य ग्राहक अमेरिकन, स्पेनिस लगायत हुन्।
'नेपालीहरू भने कम आउँछन्। प्रायः नेपालीहरू सबै आफै मेकअप गर्छन्,' उनले भने।
तीन वर्षअघि उनले फाइनान्स कम्पनीमा पनि साझेदारीमा लगानी गरेका छन्। यो कम्पनीले मुख्य गरी पेडे (payday) लोन दिन्छ।
पेडे लोन भनेको छोटो अवधिका लागि दिइने थोरै रकम ऋण हो, जुन सामान्यतया व्यक्तिले अर्को तलब पाएपछि फिर्ता गर्ने सर्तमा लिएको हुन्छ।
उनको कम्पनीमार्फत पाँच हजार अमेरिकी डलरसम्मको सानो कर्जा पाइन्छ।
'धितो केही हुन्न। सानो कम्पनी छ भने मालिकसँग र ठूलो कम्पनी छ भने मेनेजरसँग मौखिक कुराकानी गरेर ऋण दिन्छौं,' उनले भने, 'तर व्यक्तिले ऋण तिरेन भने कम्पनीले तिरिदिने नियम छ।'
पहिले सबैलाई कर्जा उपलब्ध गराइने भए पनि अहिले भने ग्रीन कार्ड भएका व्यक्तिलाई मात्र दिने नीति छ।
'एक जनालाई म आफै ग्यारेन्टी बसेर ऋण दिएको थिएँ। अमेरिकन सरकारले त्यो नागरिकलाई डिपोर्ट गरेर पठाइदियो। धेरै बाँकी त थिएन, तर मैले तिरेँ,' उनले सुनाए।
अनिलले तीन महिनाअघि ग्रोसरी तथा लिक्वर (पेय तथा मदिरा) व्यवसायमा पनि लगानी विस्तार गरेका छन् जहाँ नेपाली उत्पादन, खाद्य सामग्री तथा मसला पनि पाइन्छ। उनका रेस्टुरेन्टमा चाहिने धेरै सामान यहीँबाट आपूर्ति गरिन्छ।


'तर यो व्यवसाय अझै प्रारम्भिक चरणमा छ। अब हेरौं आगामी दिनमा कस्तो प्रतिफल दिन्छ,' उनले भने।
यसका साथै उनी रियल–इस्टेट (घरजग्गा कारोबार) क्षेत्रमा पनि सक्रिय छन्।
अनिल सन् १९८० मा विद्यार्थी भिसामा पहिलो पटक अमेरिका गएका थिए। उनका बुबाले कानुन विषय पढ्न सुझाए पनि उनले रेस्टुरेन्ट व्यवस्थापन (रेस्टुरेन्ट म्यानेजमेन्ट) रोजे। चार वर्ष पढुन्जेल रेस्टुरेन्टमा काम पनि गरे।
पढाइ सकेपछि पनि केही समय रेस्टुरेन्टहरूमै काम गरे।
'त्यसपछि नेपाल फर्किएँ। यहाँ आएर भान्साघर रेस्टुरेन्टमा १० वर्ष काम गरेँ,' उनले सुनाए।
उनलाई फेरि परिवारसहित अमेरिका जान मन लाग्यो। सन् २००१ मा उनी पुनः अमेरिका गए र पहिले काम गरेकै रेस्टुरेन्टमा काम गरे। सन् २०१६ सम्म त्यहीँ रहे। त्यसपछि उनले आफ्नै काम थालेका हुन्।
'आगामी दिनमा यी व्यवसाय थप विस्तार गर्ने योजना छ,' अनिलले भने।

