सरकारले गाँस-बासको जिम्मा लिँदै होल्डिङ सेन्टरमा लगेर राखेका सुकुम्बासीमध्ये कीर्तिपुरको राधास्वामी सत्संगमा आश्रितहरूले आज सोमबार खाना खान पनि पाएनन्। यसले सुकुम्बासी व्यवस्थापनमा सरकारले गरिरहेको कामलाई लिएर प्रश्न उठेको छ।
राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूलाई अहिलेसम्म काठमाडौं महानगरपालिकाको समन्वयमा खाना/खाजा खुवाइँदै आएकोमा साढे एक महिना बितिसक्दा पनि संघीय सरकारबाट ठोस निर्णय नभएपछि खाना व्यवस्थापन अलपत्र परेको हो।
संघीय सरकारले १०-१५ दिनमै व्यवस्थापन गरिहाल्छ भन्ने सोचेर पछिल्लो पटक महानगरकै क्यान्टिन सञ्चालकले कीर्तिपुर होल्डिङ सेन्टरमा खाना/खाजा उपलब्ध गराउँदै आएको थियो।
महिनादिन बितिसक्दा पनि सरकारको निर्णय नआएपछि ती क्यान्टिन सञ्चालकले जिम्मा लिन नमानेको काठमाडौं महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए।
'उहाँहरूले हरेक दिन कीर्तिपुर आएर खाना खुवाउँदा आफ्नो क्यान्टिङको काम गर्न भ्याएनौं भनेपछि हामीले कर गरेनौं,' उनले सेतोपाटीसँग भने, 'आइतबार बेलुकासम्म खाना खुवाएर उहाँहरूले छाड्नुभयो।'
नयाँ जिम्मा कसलाई दिने भनेर टुंगो नलागेकाले सोमबारको खाना व्यवस्थापनमा समस्या आएको उनले बताए।
उनका अनुसार शान्ति सेवा गृहले केही समय अघिदेखि नै होल्डिङ सेन्टरमा बसेका व्यक्तिलाई खाना खुवाउन इच्छा देखाएको थियो। सोमबार समस्या आउनेबित्तिकै तत्काल उनीहरूलाई खबर पनि गरियो।
उनीहरूले डेढ-दुई सय जनाका लागि तुरून्तै खाना बनाउन समय लाग्ने बताएपछि सोमबार एकदिनका लागि दही, चिउरा लिएर गएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए।
'होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूले भने दही, चिउरा लिएर आएको थाहा पाएपछि सुरूमा नखाने भन्दै फर्काइदिनुभयो। पछि फेरि उहाँहरू दही, चिउरा खान तयार हुनुभयो,' उनले भने।
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी पनि सोमबार बिहान खाना व्यवस्थापन गर्न समय लागेकाले ९ बजेतिर शान्ति सेवाका कर्मचारीले खाजा बोकेर गएको बताउँछन्।
'अहिलेसम्म खाना खुवाइरहेकाहरूले छाडेपछि नयाँ व्यवस्थापन मिलाउनमा केही ढिलाइ भएको हो,' उनले भने, 'बेलुकादेखि ढिला हुँदैन।'
राधास्वामी सत्संग होल्डिङ सेन्टरका सुकुम्बासीलाई बिहान साढे ७ देखि ८ बजेभित्र चिया खुवाउने गरिन्थ्यो। सोमबार भने साढे ८ बजेसम्म पनि चिया खुवाउने सुरसार गरिएन। त्यसपछि स्कुल जाने बालबालिकालाई ९ नबज्दै खाना खुवाउने गरिएकामा आज सवा ९ बजेसम्म कुनै तयारी नदेखेपछि सुकुम्बासीहरू खाना पकाउने ठाउँमै हेर्न गएका थिए।
'त्यहाँ पुग्दा त क्याटरिङवालाहरू भाँडाकुँडा नै बोकेर हिँडिसकेका रहेछन्,' २७ वर्षीया चन्द्रकला विश्वकर्माले भनिन्, 'खाना पकाउने नै कोही नभएपछि छोरीलाई भोकभोकै स्कुल पठाउन मन लागेन।'
उनकी छोरी आरजु बल्खुको जनविकास माध्यमिक विद्यालयमा पढ्छिन्। काठमाडौं महानगरपालिकाले नै यहाँका ३० जनाभन्दा बढी बालबालिकालाई उक्त विद्यालयमा पढाउने व्यवस्था गरेको छ।
होल्डिङ सेन्टरमा बसेकी २३ वर्षीया गृभानिका थापाले पनि सोमबार खाना पाक्दैन भन्ने कुरा बिहान मात्र थाहा पाएको बताइन्।
छोरी र भान्जा-भान्जीसहित तीन जनालाई स्कुल जान तयार पारेर बुझ्न जाँदा मात्र खाना पाइँदैन भन्ने थाहा पाएको उनको भनाइ छ।
'हामीलाई यसबारे पहिल्यै जानकारी गराइएन। एकछिन त अलमलमै पर्यौं,' उनले भनिन्।
यसरी एकाएक खाना बन्द भएपछि होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरू आक्रोशित भए। त्यसैबीच साढे १० बजेतिर दही, चिउरा लिएर आएको शान्ति सेवा गृहको गाडीलाई उनीहरूले संत्सग भवनबाट बाहिर निकालिए।
संघीय सरकारले निर्णय नगरेसम्म संस्थाहरूले दान दिएको खाना नखाने भन्दै उनीहरूले विरोध जनाएका थिए।
यही विरोध क्रममा कतिपयले आफै पैसा उठाएर दालमोठ, चिउरा खाएको हरिमाया जिम्बा बताउँछिन्।
पछि संत्सगका संयोजक शेरबहादुर कार्कीले नै दही, चिउरा ल्याएर बालबालिकालाई खुवाएका थिए।
'बालबालिकाहरूले जहाँ खाए पनि खाऊन् भनेर छाडिदियौं,' हरिमायाले भनिन्, 'राज्यले हामी छौं भन्ने बिर्सिएकैले यस्तो लापरबाही गरेको हो।'
'दुई सय जनालाई खाना खुवाउनुपर्छ। त्यहाँ बिरामी छन्, बूढापाका छन् भन्ने कुरा याद हुन्न?' उनको प्रश्न छ।
सरकारले संस्थागत रूपमै निर्णय नगरेसम्म यसरी विभिन्न संस्थाको भरमा खाना खुवाउन दीगो नहुने भन्दै आफूहरूले खबरदारी गरेको उनको भनाइ छ।
उनका अनुसार साढे ३ बजेतिर सोही संस्थाले पुरी र तरकारी लिएर आएको छ। साँझ खाना लिएर आउने भनिएको छ।
५१ वर्षीया प्रमिला ठकुरी पनि सरकारले घरटहरा भत्काएपछि गाँसबासको जिम्मा उसैले लिनुपर्ने बताउँछिन्।
'विभिन्न संघ-संस्थाले दया गरेर खाना खुवाउन आयो भन्दैमा राज्यले आफ्नो जिम्मेवारी सरक्क अन्त सार्न मिल्दैन,' उनले भनिन्।
५० वर्षीया शुकमाया विश्वकर्मा पनि विभिन्न संघ-संस्थाको मुख ताकेर बस्नुभन्दा सरकार आफैले सुकुम्बासीको गाँस, बास र स्वास्थ्यमा ध्यान पुर्याउनुपर्ने माग राख्छिन्।
खाना मात्र होइन, होल्डिङ सेन्टरमा बिरामी र वृद्धवृद्धाको स्वास्थ्यमा पनि कुनै ख्याल नगरिएको उनीहरू बताउँछन्।
यहाँ मुटु, कलेजो, फोक्सो, क्यान्सर लगायतका बिरामी छन्। औषधि माग गर्दा सिटामोल, जीवनजल लगायतका सामान्य औषधि मात्र दिने गरिएको उनीहरूको गुनासो छ।
'सामान्य औषधिबाहेक अरू आफै किनेर खानू भनिन्छ,' शुकमायाले भनिन्, 'दुई महिनादेखि कामधन्दा केही छैन, कसरी किनेर खाने?'
कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्।
यसबीच सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर चलाएर विस्थापित पारेका सुकुम्बासीहरूले उचित व्यवस्थापनको निम्ति एक साताको अल्टिमेटम दिएका छन्।
एक साताभित्र सम्मानजनक भूस्वामित्वसहित पुनर्वास र उचित क्षतिपूर्ति नदिए घरटहरा भत्काइएका पुरानै ठाउँमा फर्किने चेतावनी पनि उनीहरूले दिएका छन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ लगायत होल्डिङ सेन्टर अनुगमनमा आएका सांसदहरूका नाममा सोमबार ज्ञापनपत्र जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन्।
'यो निवेदन प्राप्त भएको मितिले एक हप्ताभित्र सरकारले हाम्रो सम्मानजनक भूस्वामित्वसहित पुनर्वास, उचित क्षतिपूर्ति, बसोबासको अधिकार तथा जीवनयापनको सुनिश्चित व्यवस्थाबारे ठोस निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि नबढाए हामी आफ्नो घरटहरा भत्काइएको काठमाडौंको थापाथली लगायतका जति पनि उपत्यका तथा उपत्यकामा भत्काइएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरू सरकारले जबर्जस्त हाम्रो घर भत्काइदिएका क्षेत्रहरूमा पुनः फर्किनेछौं,' उनीहरूले ज्ञापनपत्रमा लेखेका छन्।
उनीहरू अगाडि लेख्छन्, 'हामी अपराधी होइनौं, यस देशका नागरिक हौं। राज्यले हाम्रो गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक र मानवअधिकारको ग्यारेन्टी गर्नुपर्छ। यदि राज्यले आफ्नो दायित्व पूरा गर्न असफल हुन्छ भने हामी आफ्नो ऐतिहासिक बसोबास क्षेत्रमा शान्तिपूर्ण रूपमा पुनः बसोबास गर्न बाध्य हुनेछौं।'
यस अवधिमा वा त्यसपछि उत्पन्न हुन सक्ने कुनै पनि मानवीय, सामाजिक, स्वास्थ्य, सुरक्षा वा कानुनी जटिलताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूले नै वहन गर्नुपर्नेछ भन्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।
'न्याय, सम्मान र पाउने अधिकारको सुनिश्चितताका लागि हाम्रो यो अन्तिम अपिल हो,' सुकुम्बासीहरूले भनेका छन्।
***