संवैधानिक परिषदले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोज शर्मालाई बहुमतका आधारमा प्रधानन्यायाधीश सिफारिस गर्दा वर्षभरिमा उनले गरेको मुद्दा फर्छ्यौटलाई आधार मानेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीहरूसँग 'प्रधानन्यायाधीश सिफारिस गर्दा पहिलो पटक मुद्दा फर्छ्यौटलाई आधार मानिएको' बताएका थिए।
प्रधानमन्त्री बालेन शाहको सचिवालयले ह्वाट्सएपमा पठाएको वक्तव्यमा पनि 'सबभन्दा धेरै मुद्दा फर्छ्यौट गरेका मनोज शर्मालाई नियुक्ति गरिएको' उल्लेख थियो।
सरकारले आफ्नो सिफारिसको बचाउ गर्न शर्माले अरूभन्दा धेरै मुद्दा फर्छ्यौट गरेको संख्या सार्वजनिक पनि गरेको छ। तर सरकारले सार्वजनिक गरेको तथ्यांकमा वास्तविक तथ्य तोडमोड गरिएको देखिन्छ।
प्रधानमन्त्री सचिवालयका तर्फबाट सुरेन्द्र बजगाईंले पठाएको तथ्यांकमा शर्माले चौथो पञ्चवर्षीय योजना अवधि (२०७६ देखि २०८० साल) मा ७ हजार ३८८ मुद्दा र निवेदनहरूको अन्तिम टुंगो लगाएको उल्लेख छ।
'पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र उहाँले २१८१ मुद्दा किनारा लगाउनुभएको छ। प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गर्छ,' बजगाईंले सञ्चारकर्मीहरूलाई पठाएको नोटमा उल्लेख छ।
सरकारले देखाएको यो तथ्यांक शर्मा सर्वोच्च आएको वर्षयताको होइन। सरकारले शर्माका हकमा बढी तथ्यांक देखिने गरी २०७६ देखि २०८० सम्मको मुद्दा फर्छ्यौट संख्या मात्र गणना गरेर त्यस आधारमा उनलाई योग्य ठहर गरेको हो। यसमा २०८१ देखि अहिलेसम्मको मुद्दा फर्छ्यौट संख्या गणना गरिएको छैन।
हामीले सर्वोच्च अदालतमा प्रकाशित पछिल्ला ७ वर्षको वार्षिक प्रतिवेदन र सर्वोच्च अदालत प्रशासनबाट लिएको २०८२ साउनदेखि चैत मसान्तसम्मको तथ्यांक हेर्दा शर्मा सबभन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीशमा पर्दैनन्।
२०७५/७६ देखि २०८२ चैत मसान्तसम्म सबभन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश हरि फुयाल हुन्। उनले यस अवधिमा १० हजार ४२३ मुद्दा फर्छ्यौट गरेका छन्।
हरि फुयालपछि बढी मुद्दा फर्छ्यौट गर्नेमा तिलप्रसाद श्रेष्ठ पर्छन्। उनले १० हजार ३७९ मुद्दा छिनेका छन्। यी मुद्दा उनले २०७८ चैत १५ मा सर्वोच्चको न्यायाधीश भएपछि फर्छ्यौट गरेका हुन्। चारवर्षमै उनले अरू न्यायाधीशले भन्दा धेरै मुद्दा छिनेको देखिन्छ।
हरि र तिलप्रसादपछि तेस्रो स्थानमा न्यायाधीश शर्मा पर्छन्। उनले २०७५/७६ पछि अहिलेसम्म १० हजार ४९ मुद्दा फर्छ्यौट गरेका छन्।
चौथोमा कुमार रेग्मी छन्। उनले यस अवधिमा ९ हजार ६१६ मुद्दा फर्छ्यौट गरेका छन्।
त्यस्तै, पाँचौं स्थानमा रहेका नहकुल सुवेदीले ८ हजार २२० मुद्दा छिनेका छन्। उनी २०७८ वैशाखमा सर्वोच्चका न्यायाधीश भएका थिए।
छैठौंमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पर्छिन्। यस अवधिमा उनको मुद्दा फर्छ्यौट संख्या ७ हजार ५५२ छ।
सानातिना प्रक्रियाका फुटकर निवेदनमा च्याम्बरमा बसेर गरेका आदेशदेखि बेन्चमा महिनौं बहस सुनेर गरेका ठूला मुद्दाका फैसलाको संख्या जोडेर न्यायाधीशले फर्छ्यौट गरेका मुद्दाको संख्या गणना गरिन्छ।
त्यसैले मुद्दा फर्छ्यौट संख्या जुन न्यायाधीशको जति भए पनि प्रधानन्यायाधीश नियुक्ति गर्दा सर्वोच्चमा कसले, कतिवटा मुद्दा छिन्यो भन्नेलाई नै योग्यताको प्रमुख आधार बनाउनु त्रुटिपूर्ण हुन्छ।
बरू कुनै पनि मुद्दा छिन्दा ती न्यायाधीशले समाज र राजनीतिलाई अघि बढाउन र सार्वजनिक हित रक्षा गर्ने गरी कति र कस्ता नजिर बसाले वा कति र कस्तो विधिशास्त्र निर्माण गरे भन्ने मुख्य कुरा हो।