पछिल्लो समय लघुवित्त कम्पनीहरू केही नोक्सानमा देखिए पनि धेरैजसो नाफामा देखिएका छन्।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो (साउनदेखि चैतसम्म) त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तहरूको लाभांश क्षमता ७२ प्रतिशतसम्म देखिएको छ।
तर उच्च लाभांश क्षमता भएकाहरूकै मूल्य यो समूहका अन्य कम्पनीको मूल्यको तुलनामा कम नै छ।
हाल बजारमा सूचीकृत लघुवित्त कम्पनीको संख्या ५० छ। सूचीकृत ५० कम्पनीमा न्यून मूल्य हुने कम्पनीको प्रतिकित्ता सेयर ५७८ रूपैयाँको दरमा कारोबार भइरहेको छ।
सबभन्दा उच्च मूल्य हुने कम्पनीको प्रतिसेयर ६०५० रूपैयाँसम्म कारोबार भइरहेको छ।
यी ५० मध्ये पनि २६ वटाको मूल्य ११०० रूपैयाँ माथि छ।
यसरी लघुविहरूको मूल्य उच्च हुनुमा कम पुँजी हुनु, हालै बजारमा आएका नयाँ कम्पनी हुनु पनि हो।
कम पुँजी हुँदा बजारमा सेयर आपूर्ति कम हुन्छ। मागभन्दा कम सेयर भएकाले पनि मूल्य उच्च हुन्छ।
त्यस्तै यी कम्पनी नयाँ भएकाले कालान्तरमा पुँजी बढाउँदै जान सक्ने र लाभांशको रूपमा बोनस सेयर पाउने सम्भावना बढ्छ। त्यसैले पनि यस्ता नयाँ कम्पनीमा आकर्षण हुन्छ।
पुँजी कम भएपछि लाभांश क्षमता पनि धेरै हुन सक्छ। यसले पनि यस्ता कम्पनीले लगानीकर्ताहरूले आकर्षित गरिरहेको हुन सक्छन्।
तर लाभांश क्षमता उच्च देखिए पनि दुई कम्पनी भने उच्च मूल्य हुने २६ वटाको सूचीमा अटाएका छैनन्।
यी हुन् — डिप्रक्स लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था।
पहिले वित्तीय विवरणको आधारमा यी कम्पनी कस्ता देखिएका छन्, हेरौं।
डिप्रक्स २०६२ जेठ मध्यबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएर सेयर कारोबारमा आएको हो।
यो चैतमा डिप्रक्सको नाफा गत वर्षको चैतसम्मको तुलनामा ५७ प्रतिशत बढेको छ। नाफा ४३ करोड रूपैयाँबाट बढेर ६८ करोड रूपैयाँ पुगेको हो।
खुद ब्याज आम्दानी ६ प्रतिशत बढेर एक अर्ब ५८ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी एक अर्ब ४९ करोड रूपैयाँ थियो। शुल्क, कमिसन लगायत आय बढेको, यसअघि राखिएको प्रावधान रकम फिर्ता ल्याएको (राइट ब्याक) ले नाफा बढ्न सहयोग पुगेको छ।
डिप्रक्सको खराब कर्जा ८.६६ प्रतिशतबाट घटेर ७.५२ प्रतिशत छ। यो उच्च नै हो। त्यस्तै, प्रतिसेयर आम्दानी ४४ रूपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रूपैयाँ छ।
यसले पाँच वर्षमा वार्षिक औसत १५.५२ प्रतिशतको दरमा लाभांश दिएको छ। यसको चालु वर्षको लाभांश क्षमता ४१.५५ प्रतिशत देखिएको छ। हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका यही क्षेत्रका कम्पनीमध्ये यो तेस्रो धेरै हो।
यसले कुनै समय ५२ प्रतिशतसम्म लाभांश दिइरहेको थियो। अहिले यसको मूल्य अन्यभन्दा मध्यम हुनुमा उच्च चुक्ता पुँजी हो। यसको चुक्ता पुँजी दुई अर्ब पाँच करोड रूपैयाँ छ। चुक्ता पुँजी बढ्दै गएपछि यसले लाभांश दिने दर घटाइरहेको थियो।
चार वर्षअघिसम्म यसको मूल्य १९६५ रूपैयाँ हाराहारी थियो। हाल यसको सेयर ८४८ रूपैयाँमा कारोबार भइरहेको छ।
केही दिनअघि ८२० रूपैयाँबाट मूल्य बढ्ने प्रयासमा देखिएको थियो। शुक्रबार १० पैसा बढे पनि रातो मैनबत्ती आकृति बनाएको छ। लगातार बढ्दो क्रममा रहँदा शुक्रबार रातो मैनबत्ती बनेकाले मूल्य बढ्न रोकिने सम्भावना छ।
तर कारोबारका लागि सोमबारको बजार हेर्नु ठिक हुन्छ।
त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्था २०६१ पुसको मध्यबाट नेप्सेमा सूचीकृत भएर सेयर कारोबारमा आएको हो।
यो चैतमा छिमेकको नाफा गत वर्षको चैतसम्मको तुलनामा ६ प्रतिशतले बढेको छ। नाफा ८५ करोड रूपैयाँबाट बढेर ९० करोड रूपैयाँ पुगेको हो।
व्यवसायको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी बढेपछि नाफामा सुधार भएको छ। यस्तो आम्दानी ६.७९ प्रतिशतले बढेर दुई अर्ब २० करोड रूपैयाँ पुगेको छ।
यसअघि यस्तो आम्दानी दुई अर्ब ६ करोड रूपैयाँ थियो। शुल्क, कमिसन लगायत आय बढेको र यसअघिभन्दा कम प्रावधान राखिएकाले पनि नाफा बढ्न सहयोग पुगेकै देखिन्छ।
छिमेकको खराब कर्जा न्यून छ। यो २.६० प्रतिशतबाट घटेर २.३२ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, प्रतिसेयर आम्दानी ३३ रूपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ २४१ रूपैयाँ छ।
यसले पाँच वर्षमा वार्षिक औसत २२ प्रतिशतको दरमा लाभांश दिएको छ। यसको चालु वर्षको लाभांश क्षमता ७२.१८ प्रतिशत देखिएको छ। यो क्षमता अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबभन्दा धेरै हो।
यसले पनि कुनै समय ५२ प्रतिशतसम्म लाभांश दिइरहेको थियो। अहिले यसको मूल्य अन्यभन्दा मध्यम हुनुमा उच्च चुक्ता पुँजी हो।
यसको चुक्ता पुँजी तीन अर्ब ६१ करोड रूपैयाँ छ। चुक्ता पुँजी बढ्दै गएपछि यसले लाभांश दिने दर घटाइरहेको थियो।
चार वर्षअघिसम्म यसको मूल्य १९८५ रूपैयाँ हाराहारी थियो।
हाल यसको सेयर ९०० रूपैयाँमा कारोबार भइरहेको छ। गत साता बिहीबार र शुक्रबार दुवै दिन लामो शरीर भएको रातो मैनबत्ती आकृति बनेको छ। यसले मूल्य बढ्न नसकिरहेको देखिन्छ।