सरकारले काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीबाट हटाएकामध्ये केहीलाई नगरकोट र बनेपातिर लगेर राखिएको छ।
यसअघि बालाजु, माछापोखरी लगायत ठाउँका लजमा राखिएका सुकुम्बासीलाई एकाएक उठाएर नगरकोट र बनेपा पुर्याइएको हो। केहीलाई नगरकोटको खानेपानी तालिम केन्द्रम र केहीलाई बनेपाको रेडक्रस भवनमा बाँडेर राखिएको छ।
रातारात बनेपा पुर्याइएका केही सुकुम्बासीसँग आइतबार सेतोपाटीले सम्पर्क गरेको छ। तीमध्ये एक हुन्, महेन्द्र सहनी।
सिरहा लहानका महेन्द्र सहनीको दिनचर्या वैशाख १३ गतेसम्म ठिकै थियो। उनी थापाथलीको सुकुम्बासी टहरामा ओत लाग्थे। घाम झुल्केदेखि राति अबेरसम्म काममै व्यस्त हुन्थे। उनी घर बनाउने डकर्मी काम गर्छन्। सिपालु मिस्त्री पनि हुन्।
वैशाख १३ देखि भने आफ्नो जीवनको लय बिग्रिएको उनी बताउँछन्।
त्यस दिन बिहानै डोजरले उनको छाप्रो भत्काइदियो। उनीसँगै त्यहाँका १४३ परिवार विस्थापित भए। उनीहरूका झिटीगुन्टा उठाएर रंगशाला पुर्याइएको थियो। आफ्ना सामान अहिले पनि त्यहीँ अलपत्र रहेको सहनी बताउँछन्।
'हामीलाई १२ दिनसम्म माछापोखरीको एउटा लजमा लगेर राखियो। त्यहाँ खाना, खाजाको कुनै समस्या थिएन,' उनले सेतोपाटीसँग भने, 'अहिले एकाएक यहाँ बनेपाको रेडक्रसमा ल्याएर राखिएको छ। यहाँ आएदेखि खानपिनको टुंगो छैन।'
सरकारले होटल एसोसिएसन नेपाल लगायत विभिन्न संस्थासँग सहकार्य गरी केही सुकुम्बासीलाई बालाजु, नयाँ बसपार्क क्षेत्रमा बसोबासको बन्दोबस्त गरेको थियो। त्यहाँ लजले नै बिहान चियानास्ता, खाना र दिउँसो खाजा खुवाउँथ्यो।
लजमा बस्दाबस्दै काठमाडौंबाट टाढा नगरकोट र बनेपा लगेपछि भने उनीहरूको दैनिक कामकाज प्रभावित भएको छ।
धेरैजसो सुकुम्बासी काठमाडौंका विभिन्न ठाउँमा दैनिक ज्यालादारी काम गर्छन्। लजमा बस्नेहरू पनि बिहान आफ्नो नाम टिपाएर काममा निस्कने गरेका थिए। दैनिक काममा जानेहरू कति बजे निस्के र कति बजे फर्के भनेर रेकर्ड राख्ने गरिएको थियो।
अहिले बनेपा लगेपछि भने दैनिक कामका लागि काठमाडौंसम्म आउजाउ गर्न असम्भव भएको उनीहरू बताउँछन्।
सहनीका अनुसार अहिले उनीसहित १२४ जनालाई बनेपाको रेडक्रस भवनमा राखिएको छ। त्यहाँ खाना नियमित छैन। पानीको प्रबन्ध पनि छैन। पुरूषहरूलाई लहरै एउटै हलमा राखिएको छ। महिलाहरूका लागि छुट्टै प्रबन्ध छ।
'यहाँ आएदेखि दिमाग खराब भइसक्यो। काम गर्न काठमाडौं जानुपर्छ, यहाँबाट काठमाडौं जान १२० रूपैयाँ गाडी भाडा लाग्छ। यति धेरै भाडा तिरेर दिनहुँ आउजाउ गर्न सम्भव छैन,' उनले भने, 'खानाको राम्रो प्रबन्ध पनि छैन। अस्ति यहाँ ल्याएदेखि पानीसमेत किनेर खानु परिरहेको छ। हामी गरिब कसरी बाँच्नु, लौन पहल गरिदिनुपर्यो सर!'
उनले दिनहुँ काठमाडौं आउजाउ गर्न सम्भव नभएपछि बनेपामै केही काम पाइन्छ कि भनेर खोजी गरेका थिए। तर शनिबार दिनभरि बजार चहार्दा पनि काम पाएनन्।
'नयाँ ठाउँमा खोज्नेबित्तिकै कसले काम देओस्,' उनले भने।
महेन्द्रका बालबच्चा सिरहातिरै छन्। उनको साथमा भाइ छन्। भाइको पनि अवस्था उस्तै छ।
‘यहाँ ल्याएका कतिपय भागिसके। अहिले उनीहरू प्रशासनको सम्पर्कमा छैनन्। उनीहरू जाने ठाउँ नभएर भागे कि यहाँको अवस्था देखेर भागे, त्यो चाहिँ थाहा छैन,' उनले भने, 'यहाँ त हालत खराब छ। मैले दुई दिन भयो राम्ररी खाना पनि खाएको छैन। खाना खोज्न जान पनि यहाँबाट आधा घन्टा लाग्छ।'
जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईका अनुसार काठमाडौंका नदी किनाराका अव्यवस्थित बसोबासीमध्ये ३३८ जनालाई गोंगबु क्षेत्रका होटलमा राखिएको थियो।
त्यहाँ राखिएकामध्ये ९८ जनालाई अन्यत्र व्यवस्थापन गरिएको छ भने १९६ जना त्यहीँ आश्रित छन्।
त्यस्तै, ४४ जना मानिस सरकारको संरक्षणबाट बाहिरिएर आफन्तकहाँ आफै व्यवस्थापन गरेर बस्न थालेको एसपी भट्टराईले बताए।
बालाजु क्षेत्रमा लगिएका २१३ जनामध्ये १९१ जनालाई अन्यत्र लगिएको छ भने २२ जना बालाजु क्षेत्रकै लजहरूमा बसिरहेका छन्।