कर्मकल्चर
सरकारले सुकुम्बासी बस्ती उजाड्न जुन दिन 'युद्ध' सुरू गरेको थियो, त्यति बेला मैले 'सलह' पढ्न बाँकी थियो।
म काठमाडौं फर्केर भर्खरजस्तै प्रकाशित उपन्यास हात पारेको के थिएँ, संयोगले भेटिएका श्रवण मुकारूङले हस्ताक्षर दिँदै सोधे, 'अझै पढ्या छैन?'
पुराना आत्मीय साथी भएकाले त्यति सोध्नु जायज थियो, त्यसमाथि उनी मेरा प्रिय कवि। गीतभित्र कविता र कविताभित्र गीत लेख्ने उनलाई प्रिय कवि भनेर मैले एक्लै हक जताउनु अन्याय हुन्छ।
जनताका मुद्दा गुनगुनाउने उनी जनताका प्रिय कवि— हाम्रो समयको सुसेली।
आख्यानजस्तै कविता, कविताजस्तै आख्यानरूपी यो मोटो उपन्यास रूमाल भिजाउँदै पढ्दै थिएँ, सरकारको क्रुर आक्रमणले समाजको सबभन्दा पिँधमा रहेकाहरूको चित्कार बढ्न थालिसकेको थियो।
लोकतान्त्रिक इतिहासकै बलियो सरकारले सबभन्दा निर्धामाथि यसरी आक्रमण गरिरहेको थियो, हामीलाई किताब पढेर अलमलिने समय थिएन। समाचार हेर्नु, त्यो पनि सही समाचार हेर्नु र उद्वेलित हुनुपर्ने बेला थियो। तर उपन्यासले तानेको तान्यै थियो।
कुनै उपन्यास पढ्दै गर्दा त्यसका पात्रहरू त्यही समयको समाचारमा अर्को नाम लिएर वास्तविक जीवनसहित प्रकट भए भने कस्तो हुन्छ? जब नायुमा सुकुम्बासी बस्तीमा शरण लिन पुगी, तब मैले घरिघरि आफैलाई चिमोट्नुपर्यो।
के कविले भोलि यसरी बस्तीका बस्ती उजाडिन्छन् भन्ने चाल पाएर पहिल्यै तिनलाई जीवन दिन, प्राण दिन यो उपन्यास लेखेका हुन्?
रातारात बस्तीमाथि सुरक्षा फौजसहित जुन हमला गरियो, त्यो हामीले युद्धका कथा पढेजस्तो थिएन र? अझ बढी त्रासद त त्यस्तो देख्दादेख्दै 'ठिक्क पर्यो' भन्ने भानसहित सरकारलाई काम गर्न देऊ भन्नेहरूको ठूलो संख्या समाजमा व्याप्त हुनु थियो।
किनभने सुकुम्बासी को हुन्, किन हुन्, कहिले, कसरी, कहाँ हुन् भन्ने आम मनोविज्ञान साहित्य र कलामार्फत बलियो संवेदनासहित बन्न सकेको थिएन।
एउटा पन्नामा पुगेर त म अवाक भएँ, जब लेखक लेख्दै थिए, 'प्रत्येक मानिस, समूह र समाजभित्र अन्धो सर्पझैं राक्षसी प्रवृत्ति लुकेर बसेको हुन्छ। मौका पाउनासाथ त्यसले मुख बाइहाल्छ। जस्तो—भर्खरै सुकुम्बासी टोलले यत्रो सास्ती भोग्नुपर्यो। भीडले झन्डै टोल नै आगो लगाइदियो।'
कति आख्यान कुन समयमा पढियो भन्ने पनि प्रश्न हुन्छ र त्यसको मर्म पनि।
आजको दिन यो उपन्यास पढ्नु आफैमा पनि प्रतिरोध थियो— एउटा नागरिक कर्तव्य। जबकि यो सुकुम्बासीमाथि लेखिएको होइन। सुकुम्बासी बस्ती के हो र कसरी भन्ने बुझ्न यो पढ्नुपर्ने हुन्छ।
यसले मध्यम वर्ग बस्ने कोलोनीको कहानी पनि भन्छ, जहाँका मूल्यमान्यता र सुकुम्बासी बस्तीका संरचनालाई हामी पाठकले थाहै नपाई कस्तो चोटिलो ढंगले चित्रण गरिएको छ।
कवितामय भाषा, विम्ब र प्रतीकमार्फत उपन्यासकारले समाज कसरी पर्गेल्छन्, जस्तो हेरौं।
कोलोनीको एक ठाउँमा उनी लेख्छन्, 'सबै गाउँ रित्तिएको देख्छन्, सहर रित्तिएको कसैले देख्दैनन्। संसारका सबै सहर गाउँहरूकै कोलाज हुन्, जहाँ प्रत्येक गाउँ कुरूप भएर बाँचेको हुन्छ।'
सुकुम्बासी बस्ती भने जीवन्त छ, जहाँ भाइचाराको बलियो भावना छ। तिनै अध्याय पढिरहेको बेला म सुकुम्बासी अभियानी भगवती अधिकारीलाई सुन्दै थिएँ।
जन्मघर र कर्मघर दुवै सुकुम्बासी बस्तीभित्र रहेका उनले भनिन्, 'एउटा भत्किसक्यो, अर्को भत्किन बाँकी छ।'
उनी हतारमा थिइन्। सुकुम्बासीमाथि कसरी 'युद्ध' गरियो भन्ने सजीव बयान गर्दै गर्दा पनि आफूहरू कसरी न्यायनिम्ति संघर्ष गर्ने भन्नेमा उनी बढी व्यस्त थिइन्।
जब उनले बस्तीभित्र आपसमा कति सुरक्षित हुन्छन्, एकअर्काले कति मर्म बुझेका हुन्छन्, गरिबहरूको वृत्त आफैमा कति गाँसिएको हुन्छ, बस्तीमा कुनै बच्चा पनि भोको हुँदैन, कसैका अभिभावक बिहानै काममा निस्कँदा अर्काले खाना खुवाइदिएको हुन्छ, कोही अर्कोले सुन्ला कि भनेर झगडा पनि कम गर्छन्, तर यी 'होल्डिङ सेन्टर' भित्र कति समस्या भइसकेको छ भन्ने बुझाउँदै थिइन्, मैले फेरि उपन्यास सम्झिएँ।
बस्तीभित्र नायुमाले कसरी परिवारजस्तै न्यानोपन पाइन् भन्ने चित खाँदै पढिरहेको बेला यी अभियानीको बयानले मलाई चकित पार्यो। कतै उनी उपन्यास पढेर आएकी त होइनन् जस्तो लाग्ने गरी म छक्क पर्दै थिएँ।
हामी राजनीतिले बहुमतका आधारमा बाटो लिओस् भन्छौं। हामीलाई देश 'विकास' गर्ने हतार छ। बलियो शासक खोज्ने त हाम्रो मनोविज्ञान नै छ।
'सलह' पढ्ने गुनिला पाठकले भने बेग्लै सोच्नेछन्।
यसले कस्तो समाज, कस्तो विकास बनाउने भनेर निर्णय गर्नुअघि हामी को हौं र हामी के हौं भन्ने सम्यक् दृष्टि दिन्छ।
किताब त तपाईं पात्रहरूसँगै हराउने गरी पढ्न सक्नुहुन्छ— कविताको स्वाद लिँदै, लिँदै उपन्यास!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle