सानै उमेरदेखि नृत्यको तालसँगै सपना बुन्न थालेकी टेरिया फौजा मगर आज त्यही सपनाको अर्को मोडमा उभिएकी छिन्। यति बेला नृत्यभन्दा पनि अभिनयको गहिराइमा उनी आफूलाई पुनः खोजिरहेकी छिन्।
सन् २०१४ मा ११ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मञ्चमा 'डिआइडी (डान्स इन्डिया डान्स) लिटिल मास्टर्स' जितेर नेपालीको गौरव बनेकी टेरिया अहिले नेपाली फिल्म अभिनय यात्राको औपचारिक सुरूआत गर्दैछिन्।
उनी अभिनीत पहिलो फिल्म 'मितज्यू' आउँदो जेठ ८ गतेदेखि प्रदर्शन तयारीमा छ।
फिल्म रिलिज नजिकिँदै गर्दा टेरियाको मनमा उत्साहसँगै हल्का डर छ।
'म उत्साहित छु। आफ्नो प्रस्तुतिलाई लिएर अलिकति डर पनि लागेको छ। दर्शकहरूले कसरी लिनुहुन्छ भन्ने सोचिरहेकी छु,' उनले भनिन्, 'तर विश्वास छ, दर्शक निराश हुनुहुन्न।'
दर्शकहरू फिल्मसँग भावनात्मक रूपमा जोडिन सकून् भन्ने अपेक्षा उनले राखेकी छिन्।
रूपन्देही रूद्रपुरकी टेरियालाई ठ्याक्कै सम्झना छैन, उनले कहिलेदेखि नाच्न सुरू गरिन्।
नर्सरी पढ्दा स्कुलस्तरीय नृत्य प्रतियोगितामा भाग लिएर तीनवटा नोटबुक र पेन्सिल जितेको सम्झना भने उनको पहिलो स्मृतिका रूपमा बसेको छ।

'त्यो नै मेरो पहिलो मेमोरी हो,' उनले भनिन्, 'तर परिवारका अनुसार म अझै सानो हुँदादेखि नै नाच्न थालेकी थिएँ।'
परिवारको साथ र प्रोत्साहनले सधैं अगाडि बढ्न हौस्याएको उनी बताउँछिन्।
'मेरो परिवारका मान्छे सधैं मलाई नाचिरहेको देखेर रमाउनुहुन्थ्यो, अझै प्रोत्साहन गर्नुहुन्थ्यो,' टेरियाले भनिन्, 'त्यही वातावरणले मलाई यहाँसम्म ल्यायो।'
उनी भारतको चर्चित टेलिभिजन च्यानल जिटिभीमा प्रसारण हुने 'डान्स इन्डिया डान्स लिटिल मास्टर्स' को तेस्रो सिजनको विजेता हुन्।
टेरियाका अनुसार उनलाई डिआइडीले गहिरो प्रभाव पारेको थियो।
'म लिटिल मास्टर्स एकदमै फलो गर्थेँ,' उनले भनिन्, 'त्यो स्टेज मेरा लागि लार्जर ड्यान लाइफ जस्तो लाग्थ्यो।'
टिभीमा अडिसनको सूचना देखेपछि उनी उत्साहित हुँदै परिवारलाई सुनाउन दौडिइन्। परिवारले नै उनलाई लैजाने योजना पहिल्यै बनाइसकेको रहेछ।
एक पटक त्यो स्टेजमा उभिन पाए कस्तो हुन्थ्यो होला भन्ने सोच्ने टेरियाले डिआइडीको मञ्चमा इतिहास रचिन्।
'म त एक पटक मात्रै पर्फर्म गर्न पाए हुन्थ्यो भन्ने सोच्थेँ। जित्नु भनेको सपना पूरा भएजस्तै भयो,' उनले भनिन्, 'मलाई जितेँ भन्ने नै पत्याउनै गाह्रो भइरहेको थियो।'
विजेता बनेर नेपाल फर्किँदा विमानस्थलमा भएको भव्य स्वागतले उनलाई अचम्मित बनाएको थियो।
'यति धेरै माया किन पाइरहेको छु भन्ने लाग्थ्यो। आफैले आफैलाई प्रश्न समेत गरेँ,' उनी अगाडि भन्छिन्, 'पछि मैले त्यसलाई ग्राटिच्युडका रूपमा लिन सिकेँ।'
डिआइडीलाई उनी आफ्नो जीवनकै 'टर्निङ प्वाइन्ट' मान्छिन्।

टेरियाका लागि 'झलक दिखला जा' सम्मको यात्रा अर्को अनुभव बन्यो।
फरक शैलीको कार्यक्रम र सेलिब्रेटीसँगको सहकार्यले उनलाई आकर्षित गरेको थियो। कलर्स टिभीबाट प्रसारण भएको यो शोको सिजन ८ मा अस्वीकृत हुँदा आँसु झरेको सम्झना उनीसँग अझै ताजा छ।
सिजन ९ मा जन्मदिनकै दिन आएको छनोटले टेरियाको पहिलेको पीडालाई उत्सवमा बदलिदियो।
उनी छनोट मात्रै भइनन्, विजेता नै बनेर आफ्नो परिचयको दायरा अझ बढाइन्।
उनले अभिनयमा आउँछु भनेर पहिले सोचेकी थिइनन्। भारतमा हुँदा अडिसनहरू दिँदै जाँदा बिस्तारै अभिनयतर्फ रूचि बढ्दै गएको उनी बताउँछिन्।
'पहिलो अडिसनमा त म एकदमै नर्भस थिएँ। म किन आएँ जस्तो लाग्थ्यो,' उनी सम्झिन्छिन्, 'तर बिस्तारै बुझ्दै गएँ, म अभिनय पनि गर्न रूचाउने रहेछु। सक्ने रहेछु।'
यही क्रममा उनले 'युनिकि यारी', 'क्याम्पस बिट्स' जस्ता सिरिजहरूमा काम गरिन्। 'स्वराज' जस्ता शोमा पनि उनले काम गरिन्। यी प्रोजेक्टहरूले उनलाई क्यामरासामु सहज हुन, पात्र बुझ्न र अभिनयलाई करिअरका रूपमा लिन आत्मविश्वास दिए।
उनलाई नेपाल आएर केही काम गर्न पाए हुन्थ्यो भन्ने चाहना हुँदै गयो।
त्यस बेला उनले अभिनयका लागि तयार महसुस गरिरहेकी थिइन्। त्यही समयमा आएको फिल्म 'मितज्यू' को प्रस्ताव उनले स्वीकार गरिन्।
यो फिल्ममा उनको पात्र उनी स्वयंभन्दा पूर्ण रूपमा फरक छ।
टेरिया भन्छिन्, 'मैले आफैलाई प्रश्न गरेँ, म त धेरै प्रिभिलेज्ड रहेछु। यो पात्रको संघर्ष मैले कहिल्यै भोगेको थिइनँ। त्यो पात्रमा डुब्न सुरूमा निकै गाह्रो भयो।'

अनिल बुढा मगर निर्देशित तथा जनक घर्ती मगर निर्मित 'मितज्यू' सामाजिक कथामा बनेको फिल्म हो।
यसमा दयाहाङ राई र सौगात मल्लजस्ता अनुभवी कलाकारहरू छन्। उनीहरूसँग सहकार्य गर्दा सुरूमा उनी निकै नर्भस थिइन्। सेटमा पुगेपछि वातावरण सहज बन्दै गएको बताउँछिन्।
'उहाँहरूले सहज बनाउन धेरै ध्यान दिनुहुन्थ्यो,' उनले भनिन्।
नृत्य र अभिनयबीच के फरक हुन्छ — यसमा टेरियाको बुझाइ पनि स्पष्ट छ।
उनी भन्छिन्, 'डान्स मुभमेन्टमा आधारित हुन्छ। अभिनयमा चाहिँ मानसिक रूपमा धेरै काम गर्नुपर्ने हुन्छ।'
तर भावनात्मक रूपमा अनुभव गर्ने पक्ष भने दुवैमा समान रहेको उनको अनुभव छ।
टेरियाका लागि नृत्य पहिचानको आधार हो।
उनी भन्छिन्, 'डान्स सधैं मेरो भित्र रहन्छ। त्यसले नै मलाई यहाँसम्म ल्यायो। तर अब फिल्म क्षेत्रमा पनि अघि बढ्न चाहन्छु।'
उनी नेपाल र भारत दुवै ठाउँमा कामलाई निरन्तरता दिने योजनामा छिन्। फरक फरक र चुनौतीपूर्ण पात्रमा काम गर्दै नयाँ कुरा सिक्दै अघि बढ्ने टेरिया बताउँछिन्।
हेर्नुस् टेरियासँगको कुराकानी भिडिओमाः