राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको विषयमा उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिएका छन्।
उनले न्यायालयको परम्परा र विधि मिचेर यो सिफारिस गरिएको भन्ने तर्कको खण्डन गरेका छन्।
रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आइतबार लामिछानेले भने, 'संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ। म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो?'
सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषदले त्यसै अनुसार एक जना चुनेको उल्लेख गर्दै लामिछानेले भने, 'यदि वरिष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने हो भने संवैधानिक परिषदको खाँचो नै किन पर्यो? सिधै वरिष्ठताका आधारमा नियुक्त गरे भइहाल्यो।'
उनले ६ जनाको नाम सिफारिस रास्वपाको उपस्थितिमा नभएको र पहिलेदेखि सर्टलिस्ट भएर बसेका नामबाट क्षमता र योग्यताका आधारमा एक जना चुन्ने काम मात्र संवैधानिक परिषदले गरेको बताए।
'हाम्रो अगाडि सर्टलिस्टमा रहेका ६ जनाको नाम आइपुग्यो। त्यसमध्ये एउटा छान्नुपर्छ भनेर हामीलाई भनियो। त्यही विधि र संविधान मान्दै हामीले एक जनालाई सिफारिस गर्यौं,' उनले भने, 'यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको छ, यही बेला वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गरौं।'
न्यायालयको परम्परा अनुसार नै गएको भए परिषद यसपालि पनि राजनीतिक भागबन्डामा अल्झिएर बसेको हुने उनले उल्लेख गरे।
'परम्परा हेर्ने हो भने त संवैधानिक परिषद अहिले पनि भागबन्डामै अल्झिरहेको हुन्थ्यो। तर हामीलाई भागबन्डामा विश्वास छैन,' उनले भने।
उनले न्यायालयको विषयमा धेरै 'टसल' गर्ने र चुनौतीपूर्ण अभिव्यक्ति दिएर केही लाभ नहुने बताए।
'मेरो कुरा गर्नुहन्छ भने मेरो त गर्धन अझै पनि त्यहीँ छ। त्यस्तै रिस उठेको छ भने चलाइदिनुस् हतियार। होइन भने न्यायालयको प्रतिष्ठालाई सडकको विषय नबनाउनुस्,' रास्वपा सभापति लामिछानेले भने।
उनले यो पनि भने, 'अहिले सरकारले असंवैधानिक काम गर्यो, विधि मिच्यो भन्ने कुरा उठाइएको छ। यो संविधान बन्दा राजनीतिक रूपले रास्वपाको उपस्थिति थिएन। तर संविधानमा लेखिएका अक्षर उहाँहरूको भए पनि त्यसको मर्म र भावनालाई हामीले प्रतिनिधित्व गरिरहेका छौं।'
उनले संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ भन्ने कुरा संविधानमा लेखिएको भए पनि रास्वपाले पहिलो पटक त्यसलाई पालना गरेको बताए।
समावेशिताको अक्षरलाई व्यवहारमा उतार्ने काम पनि रास्वपाले नै गरेको उनको भनाइ थियो।
'सीता वादीहरूलाई मन्त्रिपरिषदमा ल्याएर हामी समावेशिताको कुरा व्यवहारमा उतार्दै छौं,' उनले भने, 'तर यो पनि पूर्ण होइन। हामीले पनि सबै काम गर्न सकेका छैनौं, हामी गर्दैछौं।'
'सुकुम्बासी समस्याबाट मैले छाती हटाएको छैन'
उनले काठमाडौंका सुकुम्बासी बस्ती हटाइएको बारे पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको उनले बताए।
'हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन। विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं,' उनले भने।
अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्था अहिलेको कदम चालिएको उनले बताए।
'यसबाहेकको अवस्थामा म छाती थाप्न तयार छु। भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन,' उनले भने।
'देश अप्ठ्यारोमा छैन, हामी ट्रयाकमा ल्याउँदैछौं'
सभापति लामिछानेले कतिपय विश्लेषकले देश अप्ठ्यारोमा गयो भन्ने भाष्य बनाइरहेकाले त्यस्तो नसोच्न आग्रह पनि गरेका छन्।
'कतिपय विश्लेषकहरूलाई लाग्न सक्छ, कहाँ गयो देश? कहीँ अप्ठ्यारोमा पर्यो कि भनेर त्यस्तो भाष्य सिर्जना गर्न खोजिँदैछ। कहीँ पनि अप्ठ्यारोमा छैन देश, देशलाई ट्र्याकमा ल्याउँदैछौं। हामी ट्र्याकमा ल्याउने कोसिसमा छौं। ट्र्याकबाहिर त हिजो थियो देश,' उनले भने।
रास्वपा यो देशमा हुर्कंदै गरेका सन्तानप्रति सचेत रहेको उनले बताए। देशको सार्वभौमिकता र अखण्डताप्रति रास्वपा अडिग र अटल रहेको उनले बताए।
'हामी निर्भीक भएर अडिन सक्छौं। बोल्न सक्छौं। त्यस कारण यी कुराहरूमा हामी कहिले पनि सम्झौता गर्दैनौं,' उनले भने।
सार्वजनिक वृत्तमा आठ-दस जना सांसदको चर्चा भइरहेको बताउँदै रास्वपामा एक-से-एक विज्ञ रहेको बताए।
'आठ-दस जना साथीहरू हुनुहोला, उहाँहरूको अलग किसिमले चर्चा होला। अरू थुप्रै साथीहरू हुनुहुन्छ, उहाँहरूभित्र समाज अलि छिर्न सकेको छैन,' उनले भने, 'एकसेएक विज्ञ साथीहरू, क्षमतावान साथीहरू हुनुहुन्छ। कोही साथीहरूको सार्वजनिक वृत्तमा चर्चा, परिचर्चा भइ नै रहन्छ। त्यो पनि समय र आवश्यकता अनुसार चलिरहने कुरा हो। प्रक्रिया हो। हामी संख्यामा यति धेरै छौं, कहीँ न कहीँ, कतै न कतै एउटाको केही कुरामा विवाद भई नै हाल्छ। त्यो भनेको हामी संख्या, स्वभावमा अलि धेरै छौं, त्यसमा पनि साथीहरूले ध्यान दिनुपर्यो।'
पार्टीका नेता, सांसदहरूका अभिव्यक्ति, क्रियाकलापले पार्टीलाई भोट दिनेहरूमा निराशा ल्याउनसक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे।
'आशा र भरोसा बोकेर, कुप्रो शरीर लठ्ठी टेक्दै गएर घन्टीमा भोट हालेका वृद्ध बाआमाको, दाजुभाइ दिदीबहिनीहरूको मनोभावनामा चोट पुग्यो कि भन्ने कुरा हामीले बुझ्नुपर्छ, हाम्रा अभिव्यक्ति, अन्तर्वार्ता, हाम्रो फेसबुक स्ट्याटस, हामीले गर्ने कुरामा त्यो हामीले सोच्नैपर्छ,' उनले भने।
उनले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताएका छन्।
'कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री/प्रधानमन्त्री बन्न, जीवनमा त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ। कसैलाई लाग्छ भने त्यो पूर्ण रूपमा भ्रम हो,' उनले भने, 'म जीवनी लेख्न हिँडेको होइन, इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रूचि छैन।'
रास्वपा अहिले जहाँ उभिएको छ, त्यो इतिहास लेख्ने ठाउँ भएको पनि उनले बताए।
पार्टी फुट्छ भनेर मुख नमिठ्याउनुस्
रास्वपा सभापति लामिछानेले पार्टी फुट्छ भनेर मुख नमिठ्याउन पनि सबैसँग अनुरोध गरेका छन्।
'कहिलेकाँही मिडियाका साथीहरूले पार्टी फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन्। बडो मुख मिठ्याउनुहुन्छ। आई एम सरी, बास्ना त आउला, तर खाना सर्भिस् हुनेवाला छैन। वी आर पोलिटिकल्ली म्याचुअर,' उनले भने।
उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन पनि दिए।
'म त यताको हो नि, म त उताको हो नि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ। हामीले यत्तिकै एउटा कार्यकालका लागि मिलौं न त भनेका होइनौं। यो देशको इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौं। हामी व्यक्तिगत कुरालाई माग, मुद्दा बनाएर हिँडेका छैनौं। त्यस कारण यो सब बन्द गर्नुपर्छ। यसको कुनै गुञ्जायस नै छैन। सम्भावना नै छैन,' उनले भने।