सरकारले काठमाडौंका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँबाट विस्थापितमध्ये ६८ परिवारका २०३ जनालाई कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको छ। यति ठूलो संख्यामा बस्ने भए पनि कीर्तिपुर होल्डिङ सेन्टरमा उनीहरूको उपस्थिति कम देखिन्छ।
यस्तो किन भयो भनेर हामीले कीर्तिपुरको राधास्वामी सत्संगमा बसोबास गरिरहेका विभिन्न व्यक्तिसँग कुरा गरेका छौं।
वैशाख १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि ४० वर्षीया बबिता बुढाथोकी आफ्नो परिवारसहित कीर्तिपुरको होल्डिङ सेन्टर बस्दै आएकी छन्। तर उनले एक जना छोरीलाई आफूसँग राखेकी छैनन्।
बबिताकी छोरी गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीमा पढ्दै छिन्। दुई दशकभन्दा धेरै समय थापाथलीमा बिताएकी बबिताकी छोरीलाई एउटा संस्थाले पढाइमा सहयोग गरिरहेको छ।
बबितालाई आफूले पढ्न नपाए पनि छोरीलाई उच्च शिक्षा दिने रहर छ। पछिल्लो घटनापछि छोरीको पढाइ बिग्रिएला भन्ने पिरले उनले स्कुल नजिकै कोठा खोजेर राखिदिएकी छन्।
थापाथली सुकुम्बासी बस्तीमा बस्दा बबिता अरूको घरमा काम गरेर गुजारा गर्थिन्। छोरीसहित उनको पाँच जनाको परिवार छ। श्रीमान भने वैदेशिक रोजगारीका लागि युएई गएका छन्।
बसोबास सरे पनि छोरीको स्कुल सार्न नमिलेकाले थापाथलीमा कोठा खोजेर पढाइरहेको उनी बताउँछिन्।
उनकी छोरी र चिनजानकी अर्की एक युवती सँगसँगै बस्छन्। कोठा भाडा मासिक ६ हजार रूपैयाँ छ।
छोरी मात्र होइन, बबिता आफै पनि दिनभरि होल्डिङ सेन्टरमा हुँदिनन्। कहिले कोठा खोज्न त कहिले काम खोज्न यताउता हिँडिरहन्छिन्। त्यही भएर दिउँसोको समय उनलाई होल्डिङ सेन्टरमा कमै भेटिन्छ।
'सधैं यहाँ बसेर भएन। सरकारले बसिरहेको ठाउँबाट उठाएपछि आफ्नो बन्दोबस्त त गर्नैपर्यो भनेर कामको खोजीमा छु। पूरै परिवारलाई पुग्ने कोठा पाएँ भने सर्ने विचार पनि छ,' उनले भनिन्, 'उता सुकुम्बासी बस्तीमा बस्दा कोठा भाडा तिर्नुपर्दैन थियो। कमाइले गुजारा चलाउन सजिलै हुन्थ्यो। अब कोठा भाडा तिरेर बस्दा गुजारा कसरी चल्ला भन्ने चिन्तामा छु।'
होल्डिङ सेन्टरमा खाना र खाजा खुवाउने समय तोकिएको छ। उनी त्यही समय मिलाएर खाना र खाजा खान होल्डिङ सेन्टर आउँछिन्, अरू बेला बाहिर निस्कने गरेको उनी बताउँछिन्।
५० वर्षीया पुनम खपांगी मगरको समस्या पनि यस्तै छ।
उनको परिवारमा छोरा, बुहारी, छोरीहरू र नातिनातिना गरेर ७ जना छन्। तर अहिले कीर्तिपुरको होल्डिङ सेन्टरमा ४ जना मात्र बसिरहेको पुनम बताउँछिन्।
'दुई जना नानीहरू थापाथलीकै सुकुम्बासी बस्ती नजिकै स्कुलमा पढ्छन्। उनीहरू यहीँबाट आवतजावत गरिरहेका छन्,' उनले भनिन्, 'छोराबुहारी भने काम गर्नुपर्ने भएकाले यहाँ बस्दैनन्।'
उनीहरू आफ्नो कामका लागि आफन्तको घरमा बसिरहेको उनले जानकारी दिइन्।
पुनमका अनुसार उनकी बुहारी अरूको घरमा काम गर्छिन्। छोरा पनि ज्याला मजदुरी गर्छन्। दम्पतीकै कमाइमा उनीहरूको परिवार चल्छ।
थापाथली सुकुम्बासी बस्तीमा उनीहरूको दुई कोठाको टहरा थियो। उनले त्यही टहरामा २० वर्षभन्दा बढी समय बिताइन्।
'घामपानीबाट ओत लाग्न छत थियो,' उनले भनिन्, 'यहाँ बस्न त दिएका छन्, तर छोराछोरीको भविष्यका लागि सोच्नुपर्यो नि!'
बबिता र पुनमको कुरा सुन्दा होल्डिङ सेन्टरमा तथ्यांकभन्दा कम सुकुम्बासी देखिनुका पछाडि दुईवटा मुख्य कारण देखिन्छ — एउटा, कतिपयले आफ्ना छोराछोरीको पढाइका लागि कीर्तिपुरदेखि आउजाउ गर्न गाह्रो भएकाले स्कुल नजिकै कोठा लिएर राखेका छन्। दोस्रो, कतिपय ज्यालादारी काम गर्नुपर्ने सुकुम्बासीले पनि हरेक दिन बसभाडा तिरेर आउजाउ गर्न महँगो पर्ने भएकाले आफन्तको कोठा वा आफ्नै डेरा लिएर बसोबास गरिरहेका छन्।
हामीले यसबारे होल्डिङ सेन्टर सञ्चालन गरिएको राधास्वामी सत्संग व्यास नेपालमा संरक्षक शेरबहादुर कार्कीसँग पनि कुरा गरेका छौं।
उनका अनुसार अहिले यहाँ ६८ परिवारका २०३ जनाभन्दा बढी छन्। तीमध्ये धेरैजसो विभिन्न ठाउँमा काम गर्ने भएकाले बिहानै बाहिर निस्किन्छन् र साँझ मात्र फर्किन्छन्। यसले दिउँसो होल्डिङ सेन्टरमा कम संख्या देखिने उनको भनाइ छ।
'बिहान नाम लेखाएर निस्किनुहुन्छ। बेलुकी फर्केपछि जानकारी दिनुहुन्छ,' उनले भने, 'कामको निम्ति बाहिर आउजाउ गर्नेलाई कुनै रोकतोक छैन।'
बालबालिकाको शिक्षा र रोजगारी सँगसँगै होल्डिङ सेन्टरमा सुरक्षाको चुनौती पनि रहेको यहाँ आश्रितहरूको भनाइ छ।
४५ वर्षीया रञ्जुदेवी साहका १८ वर्षका छोरा र १६ वर्षकी छोरी छन्। उनी आफ्ना जवान छोराछोरीसँग होल्डिङ सेन्टरमै बस्छिन्। यहाँ दुई छाक खान कुनै दु:ख नभए पनि साँघुरो ठाउँमा हुर्केकी छोरीको सुरक्षालाई लिएर डर लागिरहेको उनी बताउँछिन्।
'छोराछोरी दुवैलाई उनीहरूले भनेजस्तो गर्न नसके पनि संस्कार सिकाएको छु भन्ने लाग्छ। तर अलिअलि डर पनि छ,' दुई दशक थापाथलीमा बिताएकी रञ्जुले भनिन्, 'हुर्केका छोराछोरीको सुरक्षालाई लिएर डर लाग्दो रहेछ।'