इरानले स्ट्रेट अफ हर्मुज जलक्षेत्रबाट पक्राउ गरेका नेपाली युवा अमृत झा रिहा भएको अपुष्ट खबर सार्वजनिक गरिएको तीन साता बितिसक्दा पनि उनी हिरासतमा निरन्तर बन्दी अवस्थामा रहेको भन्दै झा परिवारले सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेको छ।
युएईको दुबईस्थित एक कम्पनीको तेल बोक्ने पानी जहाजमा चालकको काम गर्ने उदयपुर गाईघाटका ३२ वर्षीय अमृत गएको झन्डै चार महिनाअघि, जनवरी १२ तारिकमा स्ट्रेट अफ हर्मुजको इरानी जलक्षेत्रबाट पक्राउ परेका थिए।
उनीसँगै चालकदलमा रहेका केही भारतीय नागरिक पनि पक्राउ परेका थिए।
नयाँ सरकार गठन भएको केही दिनलगत्तै, गत वैशाख २ गते, नेपालको परराष्ट्र मन्त्रालयले अमृत रिहा भएको जानकारी सार्वजनिक गरेको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले समेत त्यो खबर इरानस्थित नेपाली महावाणिज्यदूतबाट थाहा भएको भन्दै मिडायालाई पुष्टि गरेका थिए।
पछि मन्त्रालयले त्यो सन्देश फैलाउँदा केही हतार भएको संकेत गर्दै अर्को प्रेस नोट पठाएको थियो।
परिवारजनले भने त्यो खबर 'झुटो' तथा 'भ्रामक' भएको भन्दै तीव्र असन्तोष प्रकट गरेका थिए।
त्यस्तो समाचार फैलिएको झन्डै चार हप्ता बितिसक्दा पनि अमृतको रिहाइ प्रक्रियामा कुनै प्रगति हुन नसकेको र उनी अझै इरानी हिरासतमा बन्दी जीवन बिताउन बाध्य भएको भन्दै उनकी आमा प्रभावती तथा दिदी पूजाले दुखेसोसँगै आक्रोश व्यक्त गरेका छन्।
आमाको पिर
झा परिवारको फाइल फोटो। सौजन्यः पूजा झा
आमा प्रभावतीले भनिन्, 'उसले अस्ति (बिहीबार) बेलुकी फोन गरेको थियो। भन्दै थियो — अब १०–१५ दिनपछि मेरो प्रक्रिया सकिएर रिहा हुन्छु भन्छ। बारम्बार त्यसो भनिरहन्छ तर छुट्दिनँ। नेपालबाट सरकारले कुनै पहल गरेको जस्तो लागेन।'
उनले थपिन्, 'दुई महिनादेखि हामी सरकारलाई गुहारेको गुहार्यै छौं। तर सरकारले केही गरेको जस्तो लागेन। अब हामी सरकारकहाँ नगएर कहाँ जानू? सरकारलाई गरिब सुकुम्बासीको घर भत्काउँदै हाम्रो लागि काम गरिदिने फुर्सद छैन जस्तो देखिन्छ।'
अमृतकी आमा र दिदीको भनाइ एउटै छ — यदि नेपाल सरकारले गम्भीर पहल गरेको भए अहिलेसम्म अमृत रिहा भएर नेपाल फर्किसकेका हुने थिए।
प्रभावतीले भनिन्, 'अब ऊसँगै पक्राउ परेका चार जना भारतीयलाई छोडिसकेको रहेछ। एक हप्ता भइसक्यो उनीहरू छुटेको। उनीहरू भारतको गुजरात फर्किसकेका छन् रे। अब दुई जना भारतीय र ऊ मात्रै रिहा हुन बाँकी छ।'
पक्राउको कारण
अमृत झाको पानी जहाज पक्राउ गरिएको हर्मुजको जल क्षेत्र। सौजन्यः परराष्ट्र मन्त्रालय
फेब्रुअरी २८ मा अमेरिका र इसराइलले इरानविरूद्ध आक्रमण थाल्ने बित्तिकै अमृत पक्राउ परेको खाडीको तेल निकास हुने व्यस्त स्ट्रेट अफ हर्मुज जलक्षेत्रबाट चर्चाको शिखरमा छ।
किनभने त्यो जलक्षेत्रबाट विश्वको २० प्रतिशत तेल आपूर्ति हुन्छ।
तर विगत दुई वर्षअघिदेखि दुबईस्थित एक कम्पनीको तेलवाहक जहाजको चालक रहेका अमृत र उनका सहकर्मीहरू इरान युद्ध सुरू हुनुभन्दा करिब दुई महिनाअघि नै पक्राउ परिसकेका थिए।
इरानी जलसेनाले उनीहरूलाई नियन्त्रणमा लिएर दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास लगेका थिए। जहाँ उनी अझै बन्दी अवस्थामा छन्।
नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार उनीविरूद्ध अवैध रूपमा इरानी जलक्षेत्रमा प्रवेश गर्दै तस्करी गरेको अभियोग लगाइएको थियो।
त्यसपछि छिट्टै घर फर्किने योजना बनाएका अमृतको सपना भताभुंग हुन पुग्यो। साथै उनलाई भेट्न व्याकुल आमा प्रभावती, बाबा गोबिन्द, दिदी पूजा र बहिनी सुधा तथा अन्य आफन्त निरास बने।
त्यस्तो अवस्था अझै कति लम्बिने हो, कसैलाई थाहा छैन।
परिवारजनका अनुसार अमृतले सुरूमा थाइल्यान्डमा गएर पानीजहाज चालकको तालिम लिएका थिए। त्यसपछि करिब १० वर्षदेखि युएईको दुबईका कम्पनीहरूमा आबद्ध भई पानीजहाज चालकको काम गर्दै आएका छन्।
उनी पछिल्लो पटक दुई वर्षअघि रोजगारीका लागि दुबई गएका थिए। जहाँ उनले नयाँ कम्पनीमा काम थालेका थिए।
अबको विकल्प
अमृतकी दिदी पूजाका अनुसार उनी र अन्य सहकर्मीविरूद्ध लगाइएको आरोप अदालतमा प्रमाणित हुन नसकेपछि उनीहरू रिहा हुने बाटो खुलेको बुझिएको छ।
जहाजमा रहेका सामानको प्रयोगशाला परीक्षणपछि उनीहरू विरूद्धको अभियोग प्रमाणित हुन नसकेको उनको भनाइ छ।
उनले भनिन्, 'भाइले भन्दै थियो— नेपाल सरकारले उताको सरकारसँग सिधै कुरा गरेको भए ऊ छिटो रिहा हुन्थ्यो होला। परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग कुराकानी भइरहेको छ। उनीहरू काम हुँदैछ भन्छन्। तर दुई महिनादेखि जबाफ उस्तै छ। ऊ छुट्न नसक्दा हामी धेरै दुखी छौं। निकै पिरोलिएका छौं।'
पूजाले थप भनिन्, 'अबको विकल्प भनेको एउटै छ — नेपाल सरकारले सिधै इरान सरकारका मन्त्रीसँग वा अझै उच्च तहसँग कुरा गर्नुपर्छ। त्यसो गरे मात्रै भाइ फर्किने वातावरण बन्न सक्छ। नत्र भने अझै कति महिना लाग्ने हो थाहा छैन। हामी असाध्यै चिन्तित भइसक्यौं। हामी थप धैर्य गर्न सक्दैनौं।'
परराष्ट्र मन्त्रालयले गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमृतको रिहाइको विषय अझै प्रक्रियामै रहेको दोहोर्याएको थियो।
सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीको भनाइमा इरानको अदालती प्रक्रियाका कारण 'केही समय लाग्ने देखिए पनि इरानी परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको' छ।
त्यसका निम्ती इरानी मामिला हेर्ने कतारको दोहास्थित नेपाली दूतावासले इरानस्थित नेपाली महावाणिज्यदूत मार्फत रिहाइका लागि पहल भइरहेको छ।
क्षेत्रीका अनुसार इरानको एक अदालतले अमृत निर्दोष रहेको संकेत गरे पनि त्यसबारे थप अध्ययन गरी ठोस निर्णय गर्ने जिम्मेवारी अर्को टोलीलाई दिएको छ।
यी पनि पढ्नुस् –
'नयाँ सरकारले छोरालाई रिहा गराएर घर ल्याउँछ भन्ने आश छ'
हर्मुज तनाव– पेट्रोलियम पदार्थमा अब नेपाललाई के असर पर्छ? कति दिनलाई पुग्ने भण्डार छ?
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal