प्रतिनिधिसभा सदस्य ध्रुवराज राईले एक साताभित्र बाँदरको समस्या समाधान गर्न संसदबाट सरकारको ध्यानाकर्षण गराए।
भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद राईले यसो भनिरहँदा पूर्व शिक्षामन्त्री समेत रहेका सांसद महावीर पुनले रकेट बनाउनभन्दा बाँदर धपाउन कठिन रहेको बताएका थिए।
आविष्कार केन्द्र चलाइरहेका पुनले दैनिक जनजीवनसँग जोडिएका विभिन्न उपकरण तयार पारेका छन्। तर बाँदर धपाउने प्रविधि अन्वेषण गर्न खोज्दा परिणाम हात नलागेको उनको निचोड थियो।
हुन पनि बाँदरका कारण मध्यपहाड आक्रान्त छ। मुखमुख आएको बाली बाँदरको हुल पसेर सोत्तर पारिदिँदा किसान आक्रान्त छन्। बाँदरको आतंकबाट आजीत किसान थातथलै छाडेर बेसी झर्न वा सहर पस्न थालेपछि बाँदर झन् फुक्काफाल भएका छन्।
र, उनीहरू भने तलतल झर्दै विध्वंश मच्याउन थालेका छन्।
बाँदर आतंक अहिले मध्यपहाडी भेगकै साझा चुनौती बनेको छ। प्रतिनिधिसभामा यो विषय दिनहुँ उठ्ने गरेको छ। कसैले मार्ने उपाय सुझाउँछन्, कसैले बन्ध्याकरण गर्ने। कसैले भने फलफूलका बोट लगाएर वन क्षेत्रमै बाँदल अल्मल्याउनुपर्ने उपाय पनि सुझाएका छन्।
त्यसो त बिग्याहा बाँदरको उपद्रवबारे अघिल्लो प्रतिनिधिसभा बैठकमा राम्रै छलफल भयो। बढ्दो बाँदर आतंक न्यूनीकरण गर्ने प्रयास नभएको पनि होइन। नेपालले केहीअघि १५ सदस्यीय विज्ञ टोली भारतको हिमाञ्चल पठाएको थियो। त्यहाँबाट फर्किएपछि विज्ञ टोलीले प्रत्येक प्रदेशमा बाँदरको बन्ध्याकरण अस्पताल खोल्न निर्देशन दिएको थियो। निर्देशन कार्यान्वयन भने भएको छैन।
संसदमा बाँदर चर्चा सुनेका धेरैले यस्तो कुरा पनि संसदमा उठ्ने हो र भनेर प्रश्न गर्छन्। तर नेपालको संसदीय इतिहास हेर्ने हो भने जनजीविका प्रभावित पारेको बाँदर मात्र होइन, उडुसका बारेमा पनि राम्रै चर्चा भएको पाइन्छ।
२०१५ सालको पहिलो निर्वाचित संसदमा उडुसबारे सघन छलफल भएको अभिलेख भेटिन्छ। यसबारे पत्रकार जगत नेपालले आफ्नो किताब 'पहिलो संसद' मा रोचक ढंगले चित्रण गरेका छन्।
'सांसदले मन्त्रीलाई उडुस मार्ने कार्यक्रम छ कि छैन भनेर संसदमा प्रश्न सोधे भन्दा अचम्म लाग्न सक्छ,' पत्रकार नेपालले प्रंसग सुरू गरेका छन्, '२०१७ साउन ३१ गते महासभा (त्यति बेला राष्ट्रिय सभालाई महासभा भनिन्थ्यो, जसमा निर्वाचित र मनोनीत गरी ३६ जना सदस्य थिए) बैठकमा सांसद मुक्तिनाथ शर्माले स्वास्थ्यमन्त्री काशीनाथ गौतमसँग सोधे– मन्त्रीज्यू, के पोखरामा उडुस मार्ने कार्यक्रम छ?'
तत्कालीन पश्चिम ३ नम्बर क्षेत्रबाट महासभामा मनोनीत भएका शर्माले पोखराको त्यति बेलाको जल्दोबल्दो उडुसको समस्या बैठकमा उजागर गरेका थिए।
तत्कालीन मन्त्री काशीनाथ गौतमले 'छैन' भन्ने जबाफ दिए।
प्रश्न सोध्नुपर्ने कारण खुलाउँदै सांसद शर्माले महासभा बैठकमा भनेका थिए, 'त्यहाँ उडुसको हमलाले रातभरि नसुती जागिरहनुपर्छ।'
तिनताक पोखरामा उडुसको टोकाइले बिरामी भएर मानिसहरू खत्तमै होला भन्ने पनि डर भएपछि यसबारे संसदमा कुरा उठेको पत्रकार नेपालले लेखेका छन्।
उनका अनुसार त्यति बेलाका मानिसले 'बरू मेलेरिया नै भए हुन्थ्यो, उडुसले त ज्यादै दुःख पाइयो' भन्ने गरेकाले सांसदले यो विषय सदनसम्म ल्याएका थिए।