नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा बैठक भएको थियो। उक्त बैठकपछि प्रवक्ता देवराज चालीसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।
‘नेपाली कांग्रेस पार्टीको तर्फबाट एकमुष्ट रुपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिसकेको छ। अतः पार्टीका तहगत कार्य समिति, जनसम्पर्क समिति, भातृ संघ एवं सुभेक्छुक संस्था र पार्टीका सदस्यहरूले पार्टीको विपद कोषमा सहयोग रकम जम्मा गर्न यो बैठक आग्रह गर्दछ। यसरी जम्मा भएको रकम सहित पार्टीको तर्फबाट एकमुष्ट रुपमा रु. १ करोड नेपाल सरकार प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गरिनेछ,’ प्रवक्ता चालीसेले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै उनले भदौ १० को भोटेकोशी-त्रिशूली बाढीपीडितलाई सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक रहेको बताए।
‘सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ’, उनले भने।
पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने उनले बताए।