अमेरिकी गुप्तचर संस्था सिआईएका प्रमुख जोन र्याटक्लिफले रूस भ्रमण गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको त्रिपक्षीय शिखर सम्मेलन प्रस्ताव गरेका छन्।
र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरेका थिए।
अमेरिकी नेतृत्वको नेटोका सदस्य राष्ट्रमा आक्रमण नगर्न चेतावनी दिन र्याटक्लिफ मस्को गएका थिए भनेर शुरूमा अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको थियो।
र्याटक्लिफले भ्रमणका क्रममा रूस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प, पुटिन र जेलेन्स्कीको त्रिपक्षीय बैठकको प्रस्ताव पनि गरेको भनेर अहिले भने अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
र्याटक्लिफको भ्रमणको एउटा उद्देश्य रूसी गुप्तचर निकायका प्रमुखले पुटिनलाई युक्रेनसँग अमेरिकाको मध्यस्थतामा पुनः वार्ता सुरु गर्न मनाउन मद्दत गर्न सक्छन् कि सक्दैनन् भनेर बुझ्नु पनि रहेको एक्सियसले जनाएको छ।
र्याटक्लिफको सो भ्रमण र त्रिपक्षीय बैठकको प्रस्ताव बारे शुक्रबार अमेरिकी अधिकारीहरूले जेलेन्स्कीलाई जानकारी गराएका थिए। युद्ध अन्त्य गर्न ट्रम्प सरकारले यस अघि पनि त्रिपक्षीय बैठकको प्रस्ताव अघि सारेको थियो। जेलेन्स्की यसमा सहमत भए पनि पुटिनले यसलाई अस्वीकार गर्दै आएका छन्।
युक्रेनसँगको युद्धमा अप्ठ्यारोमा परेको र स्वदेशमै पनि दबाबमा परेका पुटिनलाई अहिले फेरि त्यस्तो बैठकका लागि अमेरिकाले प्रस्ताव गरेको हुनसक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)