भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्दा पनि ११ वटा जलविद्युत आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनहरूको ठूलो संख्या सुरूङ र पावरहाउसभित्र फसेको सम्बन्धित जलविद्युत आयोजनाहरूले जनाएका छन्।
सुरूमा सरकारले उद्धार कार्यका लागि विदेशी सहयोग नलिने भनेको थियो। सुरूङभित्रको उद्धारजस्तो प्राविधिक काममा विदेशी सहयोग नलिँदा पनि ढिलाइ भएको उनीहरू बताउँछन्।
आइतबार दिउँसोसम्म प्राप्त विवरण अनुसार माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) को सुरूङभित्र मात्रै ३०० जना फसेका छन्। लाङटाङ खोला जलविद्युत आयोजना (२० मेगावाट) को सुरूङमा काम गरिरहेका २५ जना पनि त्यहीँ अड्किएका छन्।
त्यस्तै, ६० मेगावाटको त्रिशूली ३ 'ए' को सुरूङभित्र ४२ जना फसेको नेपाल विद्युत प्राधिकरणको अनुमान छ।
अन्य आयोजनाका कुल सम्पर्कविहीन संख्या सार्वजनिक भए पनि त्यसमध्ये सुरूङ तथा पावरहाउसभित्र ठ्याक्कै कति जना फसेका छन् भन्ने यकिन आँकडा आइसकेको छैन।
कुन आयोजनामा कति सम्पर्कविहीन?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान' ले कुन आयोजनामा कति कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् भन्ने विवरण सार्वजनिक गरेको छ, जुन यस प्रकार छ —
रसुवाका ६ आयोजना:
• माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) : ५७६ जना सम्पर्कविहीन (अहिलेसम्म २५४ जनाको उद्धार, ३०० जना सुरूङमा फसेको)
• रसुवागढी (१११ मेगावाट) : ९३ जना
• लाङटाङ खोला (२० मेगावाट) : ४२ जना (१८ जनाको उद्धार, सुरूङभित्र अझै २५ जना फसेको)
• चिलिमे (२२ मेगावाट) : ८ जना
• मैलुङ खोला (५ मेगावाट) : ७ जना (सुरूङमा नफसेको)
• रसुवा–भोटेकोशी (१२० मेगावाट) : ४ जना
नुवाकोटका ५ आयोजना:
• माथिल्लो त्रिशूली–३ 'बी' (३७ मेगावाट) : १२२ जना (११ जनाको उद्धार)
• माथिल्लो त्रिशूली–३ 'ए' (६० मेगावाट) : ४२ जना
• मिडल त्रिशूली गंगा (१९.६ मेगावाट) : २ जना
• त्रिशूली (२४ मेगावाट) : १ जना
• देवीघाट (१४.९ मेगावाट) : १ जना
हामीले यो स्टोरीमा यी आयोजनाका सम्पर्कविहीनहरूको अवस्थाबारे सम्बन्धित आयोजना प्रतिनिधिहरूसँग कुरा गरेका छौं।
उद्धारमा ढिलाइबारे इप्पान अध्यक्ष के भन्छन्?
इप्पान अध्यक्ष मोहन कुमार डाँगी सुरूङभित्रै फसेकाहरूको ठ्याक्कै संख्या प्राप्त नभए पनि अधिकांश सम्पर्कविहीन सुरूङ वा पावर हाउसभित्रै फसेको हुन सक्ने बताउँछन्।
लाङटाङ तथा माथिल्लो त्रिशूली–१ मा सम्पर्कबाहिर रहेका अधिकांश सुरूङभित्रै फसेको हुन सक्ने उनको भनाइ छ।
सुरूङमा फसेकाहरूलाई जति छिटो उद्धार गर्न सक्यो, त्यति नै सुरक्षित बाहिर निकाल्न सकिन्छ। दिन बित्दै जाँदा जोखिम बढ्दै जान्छ। यो कुरा बुझेर सरकारले बेलैमा विदेशी उद्धार टोलीको सहायता लिनुपर्ने थियो भन्ने इप्पान अध्यक्ष डाँगीको राय छ।
'जति बेपत्ता छन्, तीमध्ये धेरैजसो कि सुरूङमा कि पावरहाउसमै फसेको अनुमान छ। पावरहाउस तथा सुरूङमा फसेकाहरूको उद्धारमा निकै ढिलाइ भएको छ। तर जीवित उद्धारको सम्भावना टरेको छैन,' अध्यक्ष डाँगीले सेतोपाटीसँग भने, 'सरकारी आयोजनामा चिनियाँ र भारतीय प्राविधिकहरूले उद्धारको काम थालिसकेका छन्। निजी आयोजनाका टनेलहरूमा हामी आफै खट्नुपर्ने जस्तो भएको छ।'
उनले अगाडि भने, 'हामी आफै उद्धारमा खट्छौं भन्दा सरकारले दिएन। यो अलिकति दुःखको कुरा हो। माथिल्लो त्रिशूली–१ मा पनि कोरियनहरूले उद्धार गर्छौं भन्दा सरकारले दिएन भन्ने छ। उद्धारका लागि राष्ट्रियता हेर्नेभन्दा सहयोग लिएर तुरून्त गर्न सकेको भए यति बेला धेरैको सकुशल उद्धार हुन सक्थ्यो।'
आयोजनागत स्थिति
माथिल्लो त्रिशुली–१ : यो आयोजनामा 'ब्रेक थ्रू' भइसकेको सुरूङभित्र कर्मचारी तथा श्रमिकहरू फसेकाले अझै पनि जीवितै उद्धार गर्ने सम्भावना रहेको अध्यक्ष डाँगीले बताए।
उनका अनुसार यहाँ नेपालीसहित कोरियनहरू पनि सम्पर्कविहीन छन्।
'यहाँ साढे ९ किलोमिटरको सुरूङ छ। त्यहाँ अगाडि, पछाडी र बीचमा गरेर ६ वटा 'अडिट टनेल' छन्। ती अडिट टनेलमा हावा पास हुन्छ। एउटा मुख बन्द भए पनि पाँचवटा टनेलको मुख खाली छ। हावा पास हुन पायो भने त अझै जीवितै उद्धार गर्न सकिन्छ,' उनले भने।
जलविद्युत वा सुरूङ निर्माण क्रममा 'अडिट टनेल' भनेको मुख्य सुरूङसम्म पुग्न बनाइने सहायक वा वैकल्पिक सुरूङ हो। यसलाई मुख्य सुरूङ खन्दा, सामान ओसारपसार गर्दा र पछि मर्मतसम्भारका लागि प्रयोग गरिन्छ। सुरूङभित्र फसेकाहरूको उद्धारको सन्दर्भमा 'अडिट टनेल' को निकै ठूलो महत्त्व हुन्छ।
अडिटका मुखहरू बाहिरी वातावरणसँग जोडिएका हुन्छन्। मुख्य सुरूङको एउटा मुख (प्रवेशद्वार) बाढी वा पहिरोले बन्द भए पनि अडिटहरू खुला छन् भने सुरूङभित्र अक्सिजन वा हावा आउजाउ भइरहन्छ।
त्यस्तै, मुख्य सुरूङको अगाडि वा पछाडिको मुख्य भाग थुनिए पनि अडिटको बाटो भएर भित्र अड्किएका मानिसहरू बाहिर निस्कन वा उद्धार टोली भित्र पस्न सक्छन्। लामो सुरूङहरूमा (जस्तै– साढे ९ किलोमिटरको सुरूङ) बीच–बीचमा अडिटहरू हुने भएकाले बाढी वा विपत्ति बेला कामदारहरू सुरक्षित रहन यी सहायक सुरूङहरूमा ओत लाग्न सक्छन्।
मैलुङ खोला : मैलुङ खोला जलविद्युत आयोजनाका म्यानेजर इन्जिनियर विनय चिपालु यहाँ ७ जना कर्मचारी सम्पर्कविहीन रहेको बताउँछन्।
'उनीहरूले बाढी आएकापछि बिहान ९:१४ बजे फोन गरेका थिए र प्रोजेक्ट बन्द गरेर भाग्दै छौं भनेका थिए। त्यसपछि कसैसँग सम्पर्क हुन सकेको छैन,' विनयले भने।
रसुवा जिल्लामा रहेको यो आयोजना मैलुङ खोला र त्रिशूली नदीको दोभानमा छ।
रसुवागढी : यो आयोजनाका मानव संशाधन विभाग प्रमुख सरोज अधिकारीका अनुसार बाढी बेला ९८ जना कार्यरत रहेकामा हाल ९२ जना सम्पर्कविहीन छन्। कार्यरतमध्ये ५० जना कम्पनीका कर्मचारी हुन् भने ४२ जना ठेकेदार कम्पनीका र ६ जना दैनिक ज्यालादारी कर्मचारी हुन्।
इप्पानले भने रसुवागढी आयोजनामा ९३ जना सम्पर्कविहीन भनेको छ।
यहाँ ज्यालादारी कर्मचारी ६ जनामध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ भने २ जनाको शव फेला परेको छ। बाढीपछि कर्मचारीहरू भाग्ने क्रममा बगेको हुन सक्ने आशंका छ।
'केही कर्मचारी भागेर जंगलतिर गएको हुन सक्ने हाम्रो आशा छ। यसका लागि टिमुरेबाट अघि बढेपछि घट्टेखोला माथिको जंगलमा ड्रोनबाट खोजी गर्न बाँकी छ। हेलिकप्टरले सामान्य हेरे पनि कतै अलपत्र छन् कि भनेर पत्ता लागेको छैन। सम्पर्क पनि भएको छैन,' अधिकारीले भने।
पावरहाउसमा काम गरिरहेकाहरू भने पावरहाउसभित्रै फसेको हुन सक्ने उनी बताउँछन्।
उनका अनुसार पावरहाउसमा करिब १४ जना काम गरिरहेका थिए। सुरूङमा फसेको वा नफसेको भने अनुमान लगाउन नसकिएको उनले बताए।
माथिल्लो त्रिशूली–१ : यो आयोजनाका एक प्रतिनिधिका अनुसार यहाँ कुल १६ सय कर्मचारी कार्यरत थिए। तीमध्ये कति जनाको उद्धार भयो र कति जना सम्पर्कविहीन छन् भन्नेबारे पूर्ण विवरण नआइसकेको ती प्रतिनिधि बताउँछन्।
इप्पानले उपलब्ध गराएको विवरणमा भने माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना श्रमिक/कर्मचारी फसेकामा अहिलेसम्म २५४ जनाको उद्धार भएको र ३०० जना सुरूङमै अड्किएको उल्लेख छ।
माथिल्लो त्रिशूली–३ 'बी' : यो आयोजनामा कार्यरत करिब २०० जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। तिनमा कर्मचारी, परिवारका सदस्य, परामर्शदाता र ठेकेदार कम्पनीका कामदार समेत रहेको आयोजनाका एक प्रतिनिधिले जानकारी दिए।
उनका अनुसार आयोजनाका २१ जना कर्मचारी र उनीहरूको परिवारका सात जना सम्पर्कविहीन छन्। त्यस्तै, परामर्शदाताका १२ जना र काठमाडौं विश्वविद्यालयका तीन जना विद्यार्थी पनि आयोजनामै थिए।
सिभिल ठेकेदार कम्पनीका तर्फबाट १५१ जना र एक जना सुरक्षाकर्मी पनि आयोजनामा थिए। इलेक्ट्रो–मेकानिकल ठेकेदार कम्पनीका चार जनामध्ये दुई जना चिनियाँ र दुई जना नेपाली थिए।
इलेक्ट्रो–मेकानिकलतर्फका चार जनाको जीवितै उद्धार भइसकेको आयोजनाले जनाएको छ।
'बाँकी कहाँ छन् भनेर कुनै खबर आएको छैन। सम्पर्क हुन सकेको छैन,' आयोजनाका ती प्रतिनिधिले भने, 'आफन्तहरू आएर खोजिदिन माग गरेका छन्। हाम्रा सिनियरहरू सबै आयोजना क्षेत्रमा छन्। अहिले आयोजना क्षेत्र बगरजस्तै भएको छ। आयोजनाको कार्यालय, क्याम्प साइट र पावरहाउसमा उद्धारका लागि खोजी भइरहेको छ। आफन्तहरूले आयोजनास्थल पन्छाएर हराइरहेका व्यक्तिको खोजी गर्न आग्रह गरिरहेका छन्।'
मिडल त्रिशूली गंगा : यो जलविद्युत आयोजनाका प्रशासन कर्मचारी किशोर खातीसँग कुरा गर्दा उनी आयोजनामा कार्यरत कुनै पनि श्रमिक सम्पर्कविहीन नभएको बताउँछन्।
इप्पानको विवरणमा भने यो आयोजनामा कार्यरत दुई जना सम्पर्कविहीन भएको उल्लेख छ।
लाङटाङ खोला : यो आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका सचिव विजयमोहन भट्टराईका अनुसार अहिले यहाँ कार्यरत ४२ कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये २५ जना सुरूङमै काम गरिरहेका थिए।
'समयमै भएको भए सकुशल उद्धार गर्न सकिने थियो। धेरैतिर हारगुहार गरेँ। आफै हेलिकप्टर लगेर पनि उद्धार गर्न सकिन्छ कि भन्ने थियो तर सरकारले दिएन,' उनले भने, 'अझै पनि उद्धार हुन सकेको छैन।'
उनका अनुसार लाङटाङ आयोजनामा प्राविधिक कर्मचारी र श्रमिकहरू उद्धार सुरूङभित्र काम गरिरहेका थिए। तत्कालै उद्धार गर्ने संयन्त्र भएको भए त्यहाँ काम गरिरहेकालाई उद्धार गर्न त्यति असहज हुने थिएन।
यो आयोजनाको सुरूङ चिलिमे जलविद्युत आयोजनाको ५०० मिटर जति दुरीमा छ। ठ्याक्कै स्याफ्रुबेसीको पारिपट्टि पर्छ।
उद्धार प्रयास र सरकारी कदम
भदौ १० गतेको बाढीपछि ठूलो संख्यामा मानिसहरू जलविद्युत आयोजनाका सुरूङ र पावरहाउसभित्र फसे पनि चार दिनसम्म उनीहरूको उद्धार हुन सकेको छैन। सरकारले भने शनिबारसम्म आयोजना स्थल आसपासका क्षेत्रबाट ३६१ जनाको उद्धार गरेको तथ्यांक सार्वजनिक गरेको छ।
सुरूमा सरकारले उद्धार कार्यका लागि विदेशी सहयोग नलिने भनेको थियो। सुरूङभित्रको उद्धार जस्तो प्राविधिक काममा विदेशी सहयोग नलिँदा पनि ढिलाइ भएको उनीहरू बताउँछन्।
चौतर्फी दबाबपछि सरकारले छिमेकी मुलुक चीन र भारतबाट उद्धार टोली ल्याउन अनुमति दिएको छ। शनिबारदेखि माथिल्लो त्रिशूली–३ 'बी' को सुरूङमा फसेकाहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। आइतबार थप ४ जना चिनियाँ उद्धारकर्मी नेपाल आइपुगेका छन्।
भारतबाट पनि शुक्रबार नै ५ सदस्यीय सुरूङ उद्धार टोली घटनास्थल रेकी गर्न आइपुगेको थियो। शनिबार फेरि १३ सदस्यीय भारतीय सुरूङ उद्धार टोली काठमाडौं आएर प्रभावित क्षेत्र पुगेको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले आइतबार चारवटा जलविद्युत आयोजनाका सुरूङबाट उद्धारको प्रयास भइरहेको जानकारी दिए।
'अहिले जलविद्युत आयोजनाभित्र उद्धारमा जान थुनिएको सुरूङ खोल्ने काम भइरहेको छ। चारवटामा खोजीको काम भइरहेको छ,' उनले भने।
उनका अनुसार त्रिशूली–३ 'ए' र माथिल्लो त्रिशूली–३ 'बी' मा उद्धारको काम भइरहेको छ। माथिल्लो त्रिशुली–१ र चिलिमे जलविद्युत आयोजनामा पनि उद्धार र खोजीको प्रयास भइरहेको छ।
प्रवक्ता बस्नेतका अनुसार त्रिशूली–३ 'ए' मा नेपाली सेनासहित ९३ जनाको टोली खटिएको छ भने माथिल्लो त्रिशूली–१ मा चिनियाँ टोली र नेपाली सेना उद्धारका लागि खटिएका छन्।
चिलिमे जलविद्युत आयोजनामा भारतीय उद्धार टोली र नेपाली सेनाको टोली खटिएका छन्।
उद्धार कार्यलाई प्रभावकारी बनाउन उच्च प्राविधिक दक्षता भएको चिनियाँ टोली घटनास्थलमा परिचालन गरिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
आयोजनाका प्रमुख परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरहरू र नेपाली सेनासमेत पुगेर घटनास्थलमा काम भइरहेको सचिवालयले जनाएको छ।
'प्रतिकूल मौसम, तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ,' सचिवालयले भनेको छ।
सचिवालयका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनबाट उद्धार सम्भव देखिए रसुवा सीमा क्षेत्रमा 'स्ट्यान्डबाई' रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी छ।
यसबीच त्रिशूली–३ 'ए' को सुरूङभित्र फसेकाहरूको उद्धारका लागि समेत काम भइरहेको छ। यो आयोजनामा उद्धारको नेतृत्व गरिरहेका सुरूङ विज्ञ तथा सांसद श्रीराम न्यौपानेका अनुसार अहिले सुरूङको मुख भेटिएको छ।
भर्टिकल होलभन्दा ८०० मिटर तल सुरूङको मुख भेटिएको उनले बताएका छन्।