उच्च पदस्थमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न बनेको आयोगले सर्वोच्चले दिएको अन्तरिम आदेशलाई आफूखुसी व्याख्या गर्दै पूर्वन्यायाधीश र पूर्वसैनिक बाहेकका सम्पत्ति छानबिन नरोकिने भनेर निकालेको सूचना कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
कसैको पनि सम्पत्ति विवरण नमाग्न छानबिन नगर्न र कारबाही सिफारिस नगर्न दिएको अन्तरिम आदेशलाई आफूखुसी व्याख्या गरेर आयोगले निकालेको सूचना खारेज गर्न माग गर्दै लिगल इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनीराम उपाध्यायले मंगलबार रिट दिएका थिए।
बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त रिटमा आयोगको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चको वेबसाइटमा जनाइएको छ।
यो रिटमा बहस गरेका अधिवक्ता प्रेमराज सिलवालले समेत अन्तरिम आदेश भएको जानकारी दिए।
आयोगले सोमबार सर्वोच्च अदालतले दिएको आदेशले पूर्वसैनिक र न्यायाधीश बाहेक अरूको सम्पत्ति छानबिन रोक्न नभनेको व्याख्या गर्दै एक सूचना जारी गरेको थियो।
‘उक्त आदेशबाट नेपालको संविधानको धारा २३९ (१) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित संविधानमा छुट्टै व्यवस्था भएका पदाधिकारीहरू र धारा २३९ (२) मा उल्लिखित पूर्वन्यायाधीश लगायतका संवैधानिक पदाधिकारी तथा कार्यसम्पादन सर्तमा तोकिएका नेपाली सेनाको पूर्वअधिकृतहरूको हकमा नेपाल राजपत्रको दफा २ को खण्ड (ङ) बमोजिम छानबिनको दायरामा नपार्नु भन्ने देखिन आएकोले सो बाहेकका राजनीतिक र अन्य पदाधिकारीहरूको हकमा सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन पेस गर्ने समेतको कार्यमा उक्त आदेशबाट रोक लगाएको भन्ने नदेखिँदा सोही अनुसारको सूचना सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशित गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ।
आयोगले उक्त सूचना निकालेपछि अधिवक्ता उपाध्यायले त्यसलाई खारेज गर्न र प्रेमराज सिलवालले अदालतको अवहेलना गरेकोमा रिट लिएर सर्वोच्च गएका थिए।
उपाध्यायको रिटमा अन्तरिम आदेश जारी भएको छ भने सिलवालले दिएको अदालतमा अवहेलना मुद्दामा बिहीबार पेसी तोकिएको छ।
‘सर्वोच्च अदालतको संयुक्त इजलासको आदेशको पूर्णतः अपव्याख्या गरी आदेशमा प्रयुक्त मुद्दाको संवेदनशीलता र सन्दर्भ, संवैधानिक र कानुनी प्रश्नहरू, अदालतबाट प्रतिपादित नजीर तथा सिद्धान्त, आदेशको पूर्ण पाठमा प्रयुक्त प्रश्नहरू, आदेशमा उल्लिखित पूरै आदेशमा प्रयुक्त अक्षर एवम् आदेशको गम्भीरता तथा भावनासमेतलाई अनदेखा गरी, पन्छ्याई, कुनै एउटा बुँदा वा वाक्यलाई मात्र टिपी, आफूखुसी, आफ्नो स्वादको धारणा बनाई गलत र भ्रमपूर्ण हुनेगरी सूचना प्रकाशित गरिएको’ले अवहेलना सम्बन्धी निवेदनमा उल्लेख छ।
‘आयोगको सूचना प्रकाशित गर्ने गैरकानुनी कार्य गर्दा अदालतको आदेशलाई अनर्थ हुने गरी घुमाइ/फिराई अन्तरिम आदेश विपरीत आयोगको काम/कारबाहीलाई यथावत् चालु राख्ने नियत र कार्य गरेकाले अध्यक्ष र सदस्यहरूलाई सजाय हुन,’ माग गरिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई ‘कसैको पनि सम्पत्ति विवरण पेस गर्ने, छानबिन गर्ने र सिफारिस गर्ने काम तत्कालका लागि रोक्न’ आदेश गरेको थियो।
अधिवक्ता सिलवालले नै आयोग गठन विरूद्ध दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो।
‘प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्नू, पेस हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नू र कसै उपर पनि कुनै किसिमको कानूनी कारबाहीका लागि सिफारिस नगर्नू/ नगराउनू भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत अनुसन्धानको दायरामा नपर्ने पूर्वन्यायाधीश समेतका व्यक्तिहरूलाई निजहरूको सम्पत्ति विवरण पेस गर्न बाध्य पार्ने, निजहरूबाट पेस भएको सम्पत्ति विवरण वा निजहरू उपरको उजुरीमा छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपुरणीय क्षति हुने स्थिति देखिएकाले अन्तरिम आदेश दिइएको आदेशमा उल्लेख थियो।
संविधानले महाअभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। त्यस बाहेकका कुनै पनि न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी र सैनिकलाई अख्तियारले समेत छानबिन गर्ने अधिकार राख्दैन।
तर सरकारले वैशाख २ गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरणहरू हेरेर छानबिन गर्ने भनेपछि रिट निवेदक सर्वोच्च गएका थिए।
यो रिटलाई अग्राधिकार दिएर १५ दिनपछि पेसीमा चढाउन पनि आदेश गरेको छ।
त्यस्तै यो रिटमा कानुनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। कानुनी प्रश्नमा अदालतलाई सहयोग गर्न भन्दै नेपाल बार एसोसिएसनबाट २ जना र सर्वोच्च बार एसोसिएसनबाट २ वरिष्ठ अधिवक्तालाई एमिकस क्युरी मनोनय गरी पठाइदिन सर्वोच्चले भनेको छ।
सरकारले २०६२/६३ पछि गत चैत ३० सम्म उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। राजपत्रमा प्रकाशित गठन आदेश र कार्यादेशमा समेत यही उल्लेख छ।
आयोगले पहिलो चरणमा २०६३ यताका प्रधानमन्त्री, मन्त्री, सभासद, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद सदस्यहरू, स्थानीय तहका प्रमुख/उपप्रमुख, पूर्वन्यायाधीश, नेपाली सेनाका उच्च तहका पूर्व पदाधिकारी, पूर्व सचिवदेखि बहालवाला सचिवहरू, पूर्व सहसचिवदेखि बहालवाला सहसचिवहरू, महान्यायाधीवक्ता, मुख्य महान्यायाधीवक्ता, प्रदेश सांसद, पूर्वराजदूत, राजदूत लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।
सरकारले २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वसर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय ‘सम्पत्ति छानबिन आयोग’ गठन गरेको थियो।