नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीलाई बालेन शाहलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन ९ बुँदे माग अघि सारेका हुन्।
नेपाली सेनाले गरिरहेको उद्धार कार्यको सराहना गर्दै उनले उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न आग्रह गरेका छन्।
बाढीका कारण क्षति पुगेका १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलिब्रिज जडान गरी अवरूद्ध सडक सञ्जाल पुनःसञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारू गर्न, बेपत्ताको खोजी र शव व्यवस्थापनलाई तीव्र पार्न तथा सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
स्वास्थ्य उपचारतर्फ ध्यान ध्यानाकृष्ट गराउँदै नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्नका साथै ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउन माग गरिएको छ।
नेता आङ्देम्बेले सुरूङ तथा भग्नावशेषमा नागरिक फसेको सम्भावनालाई मध्यनजर गर्दै जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञ टोली परिचालनको अनुमति दिनुपर्ने उल्लेख गरेका छन्। साथै, राहत वितरणमा स्थानीय तह र सामाजिक संघसंस्थासँग समन्वय गर्न तथा त्रिशूलीलगायत नदी क्षेत्रमा शीघ्र तुइनको व्यवस्था गर्न पनि उनले जोड दिएका छन्।