घटना जुलाई ८ को हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टर्कीबाट फर्कने समय तय भएपछि उनको सुरक्षा जिम्मेवारी लिएको सिक्रेट सर्भिसले एउटा खुफिया सूचना पायो।
सूचनापश्चात सिक्रेट सर्भिसका अधिकारीहरू चनाखो भए र राष्ट्रपति ट्रम्पलाई सुरक्षित रूपमा अमेरिका फर्काउने योजना बुन्न थाले।
खुफिया सूचना थियो— ट्रम्प उड्ने एयरफोर्स वान (अमेरिकी राष्ट्रपति चढ्ने विमान)लाई लक्ष्य गरेर इरानले हमला गर्दैछ।
त्यतिबेला अमेरिका र इरानबीच युद्धविराम जारी रहे पनि तनाव उत्कर्षमा थियो।
नेटो राष्ट्रहरूको सम्मेलनमा भाग लिन टर्की जाँदा ट्रम्पले कतारले उपहार दिएको बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए।
यो विमान पुरानो एयरफोर्स वानभन्दा कम सुरक्षित रहेको भनिन्छ। यसमा उन्नत मिसाइल रक्षा प्रणाली जडान भइसकेको छैन।
त्यसैले सिक्रेट सर्भिसले ट्रम्पलाई पुरानै एयरफोर्स वान प्रयोग गर्न भन्यो।
सुझावअनुसार ट्रम्प पुरानो एयरफोर्स वानको सिढीँ चढे, क्यामरातर्फ हात हल्लाए र विमानभित्र प्रवेश गरे। त्यसपछि पत्रकार र ह्वाइट हाउसका अधिकारीहरू पनि एयरफोर्स वानमा चढे र विमान उड्यो।
बेलायतको अमेरिकी सैन्य अड्डामा पनि उनी सोही विमानबाट ओर्लिए र पत्रकारहरूलाई हात हल्लाए।
यी सबै कुरा हुँदा संसारले थाहा पाएको भनेको ट्रम्पले इरानी खतराका कारण विमान अदलाबदली मात्रै गरेका थिए।
तर कथा अर्कै छ—
सम्भावित इरानी हमलाको जोखिमपछि पुरानै एयरफोर्स वानमा चढेको देखिए पनि वास्तविक रूपमा ट्रम्प त्यो जहाजमा पनि नरहेको खुलेको छ।
उनलाई गोप्य रूपमा एयरफोर्स वानबाट निकालेर अर्कै सैन्य विमानमा राखेर बेलायत ल्याइएको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।
त्यसका लागि अमेरिकी सिक्रेट सर्भिसेसले एउटा अपरेसन नै चलाएको खुलेको छ।
टाइम्सका अनुसार ट्रम्पले एयरफोर्स वानको पुरानो विमान चढेको, पत्रकारहरूलाई हात हल्लाएर फोटो खिचाएको दृश्य 'नाटक' मात्रै थियो।
पुरानो एयरफोर्स वानभित्र प्रवेश गर्ने बित्तिकै उनलाई त्यहाँबाट गोप्य रूपमा निकालेर सेनाको सी–३२ ए विमानमा चढाइएको टाइम्सले ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ।
एयरफोर्स वानबाट सेनाको विमानसम्म पुर्याउन ट्रम्पलाई क्याटरिङ कन्टेनरमा राखिएको थियो। क्याटरिङ कन्टेनर विमानमा खाना पुर्याउन प्रयोग गरिन्छ।
सोही कन्टेनरमा राखेर उनलाई नजिकै पार्क गरिएको सैन्य विमानमा पुर्याएर गोप्य रूपमा बेलायततर्फ उडाइएको थियो।
त्यो अपरेसन यति गोप्य राखिएको थियो कि एयरफोर्स वानमै रहेका पत्रकार र धेरै अधिकारीहरूलाई ट्रम्पलाई सैन्य जहाजमार्फत लगिँदै छ भन्ने जानकारीसम्म दिइएको थिएन।
उनीहरूले राष्ट्रपति पनि आफूहरू सवार एयरफोर्स वानमै छन् भन्ने ठानेका थिए।
पुरानो एयर फोर्स वन सी–३२ एभन्दा पहिले नै उडेको थियो। यसले पनि ट्रम्पको वास्तविक विमानबारे इरानलाई भ्रम कायम राख्ने योजनालाई सहयोग गरेको थियो।
बेलायतको माइल्डेनहल सैन्य अड्डामा अवतरण हुँदा यो अपरेसनको अर्को चरण सुरू भयो।
न्युयोर्क टाइम्सका अनुसार कतारले दिएको नयाँ विमान स्थानीय समयअनुसार साँझ ६:२६ बजे नै माइल्डेनहल पुगेको थियो।
ट्रम्पलाई लिएर गएको सी–३२ ए राति १०:२० बजे अवतरण गर्यो। त्यसको नौ मिनेटपछि १०:२९ बजे मात्रै पुरानो एयर फोर्स वन पुगेको थियो।
सी–३२ एले आफ्नो उडान मार्ग र स्थान प्रसारण गर्ने ट्रान्समिटर सक्रिय नगरेकाले त्यसको सामान्य फ्लाइट डेटा उपलब्ध नभएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ।
तर विमान निगरानी गरिरहेका व्यक्तिहरूले त्यस रात हवाई ट्राफिक कन्ट्रोलको संवाद सुनेर उक्त विमानले 'आरसिएच-१८' अर्थात् 'रिच १८' कल साइन प्रयोग गरेको खुलेको थियो।
बेलायत पुगेपछि ट्रम्पलाई सी–३२ एबाट त्यस्तै गोप्य सवारी साधनमार्फत फेरि पुरानो एयर फोर्स वनमा लगिएको थियो। उनलाई फरक प्रवेशद्वारबाट एयरफोर्स वानमा चढाइएको थियो।
त्यसपछि पत्रकारहरूको आँखै अगाडि सामान्य रूपमै उनी विमानबाट ओर्लिएका थिए। बेलायतबाट उनले पुनः कतारले दिएकै नयाँ विमान प्रयोग गरी वासिङ्टन आएका थिए।
वासिङ्टन फर्किएपछि त्यतिबेलै ट्रम्पलाई विमानको अदलाबदली र इरानबाट सुरक्षा खतराबारे पत्रकारहरूले सोधेका थिए।
उनले नयाँ एयरफोर्स विमान चाँडै बेलायतमा आइपुगोस् र अमेरिकी सैनिकहरूले त्यसलाई अवलोकन गर्ने अवसर मिलोस् भनेर आफू पुरानै विमानमा चढेको बताएका थिए।
आफू इरानको निशानामा रहेको भन्ने कुरा चाहिँ उनले स्वीकार गरेका थिए।
‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको हरेक सूचीमा छु। आज बिहान पनि मैले त्यही देखेँ। अहिलेसम्म म केही भाग्यमानी भएको हुन सक्छु, तर त्यो धेरै समयसम्म नहुन पनि सक्छ,’ उनले एयरफोर्स वानबाट ओर्लेर पत्रकारहरूसँग भनेका थिए।
टर्कीमा कस्तो सूचना पाएको थियो सिक्रेट सर्भिसले?
ट्रम्प टर्कीमा रहँदा अमेरिकी गुप्तचर निकायले इरानबाट सम्भावित खतरासम्बन्धी विभिन्न सूचना प्राप्त गरेको थियो।
घटनाबारे जानकारी भएका दुई अमेरिकी अधिकारीका अनुसार, रातभरमा प्राप्त सूचनामध्ये इरानी पक्षलाई ट्रम्प कहाँ बसिरहेका छन् भन्ने मात्र होइन, उनी बसेको भवनको कुन तलामा छन् भन्ने जानकारीसमेत थियो।
त्यसअघि नेटो सम्मेलन भइरहेको क्षेत्र नजिकै कसैले काँधमा राखेर प्रहार गर्न मिल्ने सानो मिसाइल नै बोकेको देखिएको सूचना पनि सिक्रेट सर्भिसेसले प्राप्त गरेको थियो भनेर न्युयोर्क टाइम्सले लेखेको थियो।
त्यसपछि नै सिक्रेट सर्भिसेसले ट्रम्पलाई सुरक्षित रूपमा टर्कीबाट निकाल्ने योजना बनाएका थिए।
अमेरिकी सेनाका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले खतरा मूल्यांकन र त्यसको जवाफ तय गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।
केन यसअघि पनि गोप्य सैन्य रणनीति र छलपूर्ण अपरेसनमा संलग्न भइसकेका अधिकारी हुन्। उनी पेन्टागनका सिआइए सम्पर्क अधिकारी समेत भइसकेका थिए। सन् २०२५ जुनमा अमेरिकाले इरानका आणविक केन्द्रमा गरेको ‘अपरेसन मिडनाइट ह्यामर’मा प्रयोग गरिएको 'ध्यान मोड्ने रणनीति' तयार गर्न पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
ट्रम्पलाई सेनाको अर्को विमानमा ल्याइँदै छ भनेर अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने थिए। दुई अमेरिकी अधिकारीका अनुसार, रुबियोले ट्रम्पलाई टर्कीबाट सुरक्षित रूपमा निकाल्ने योजना बनाउन सहयोग नै गरेका थिए र आफू पुरानो एयर फोर्स वनमै यात्रा गरेका थिए।
उक्त विमानमा अर्थमन्त्री स्कट बेसेन्ट, ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङ, ट्रम्पका उपप्रमुख कर्मचारी स्टेफन मिलरलगायत ह्वाइट हाउसका अन्य कर्मचारी पनि थिए।
ट्रम्पलाई सेनाको जहाजबाट ल्याइएको कुरा उनी आफैले पनि मंगलबार ओहायोको एउटा कार्यक्रमबाट फर्कने क्रममा खुलाएका छन्।
उनले सिक्रेट सर्भिसकै आग्रहमा आफूले एयरफोर्स वान नभई अर्को विमान प्रयोग गरिएको भनेका छन्।
‘उनीहरूले मलाई फरक उडान, फरक विमानमा जाने भने। मैले त्यहीँ गरेँ,' ट्रम्पले भनेका छन्।
उनले त्यस्तो सूचना र विमान अदलाबदली गर्नुपर्दा आफू नडराएको पनि बताएका छन्।
'म कुनै कुराको चिन्ता गर्दिनँ, साँच्चै भन्नुपर्दा। जे हुन्छ, हुन्छ। तपाईंहरूलाई मेरो स्वभाव त थाहा नै छ नी,’ ट्रम्पले भने।
यो अपरेसन राष्ट्रपतिको सुरक्षाका लागि सही कदम भए पनि केवल राष्ट्रपतिको सुरक्षालाई मात्रै प्राथमिकता दिइएको भनेर आलोचना पनि भएको छ।
ट्रम्पलाई सैन्य विमानमा सारेर एयरफोर्स वानमै रहेका अरू अधिकारी र पत्रकारहरूलाई खतरामा हुलिएको भन्ने टिप्पणी गरिएको छ।
ट्रम्पले भने पुरानो एयरफोर्स वानभन्दा आफू चढेको सैन्य जहाज बढी खतरामा हुने भनेर जबाफ दिएका छन्।
यस्ता गोप्य उडान पहिले पनि हुन्थे?
राष्ट्रपतिहरूबारे लेख्दै आएका लेखक ग्यारेट एम. ग्राफका अनुसार यस्ता गोप्य उडानहरू पूर्वराष्ट्रपतिहरूले पनि गरेका छन्।
सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणपछि युक्रेनप्रति समर्थन जनाउन गोप्य रूपमा किभ पुगेका थिए।
त्यस क्रममा उनी पहिले पोल्यान्ड पुगेका थिए र त्यहाँबाट रातको समयमा करिब १० घन्टा गोप्य रूपमा रेल चढेर किभ पुगेका थिए।
तर उनका साथमा दुई पत्रकार पनि थिए, जसले बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भेट र उनीहरू सँगै हिँडिरहेको दृश्य सार्वजनिक गरेका थिए।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१९ मा अफगानिस्तानको गोप्य भ्रमण गर्दा पनि 'डिक्वे' विमान (झुक्याउने गरी प्रयोग गरिने विमान) प्रयोग गरिएको थियो।
त्यतिबेला फ्लोरिडामा पत्रकारहरूको अर्को समूह र डिक्वे विमान राखेर ट्रम्प मार–आ–लागोमै रहेको भ्रम सिर्जना गरिएको थियो। तर वास्तविक यात्रामा छुट्टै पत्रकार समूह ट्रम्पसँगै अफगानिस्तान पुगेको थियो र उनको भ्रमणबारे रिपोर्टिङ गरिएको थियो।
सन् २००० मा राष्ट्रपति बिल क्लिन्टनले भारतबाट पाकिस्तान जाने क्रममा अर्को किसिमको छल्ने नीति प्रयोग गरेका थिए।
उनी एउटा सैन्य विमानमा चढ्ने जस्तो देखिए पनि विमानको अगाडिबाट घुमेर नजिकै रहेको अर्को विमानमा गएका थिए। दुवै विमान इस्लामाबादतर्फ उडेका थिए र एयर फोर्स वनजस्तो देखिने अर्को विमानसमेत प्रयोग गरिएको थियो।
तर क्लिन्टनका तत्कालीन प्रेस सेक्रेटरी जो लकहार्टका अनुसार पत्रकारहरूलाई कम्तीमा एउटा कुरा स्पष्ट रूपमा बताइएको थियो—क्लिन्टन उनीहरू चढेको विमानमा यात्रा गर्ने छैनन्।
सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलाका बेला जर्ज डब्ल्यू बुशको स्थान पनि गोप्य राखिएको थियो। तर ह्वाइट हाउसले राष्ट्रपति एउटा ठाउँमा छन् भनेर अर्को ठाउँको भ्रम सिर्जना गरेको थिएन।
यही भिन्नताले ट्रम्पको पछिल्लो यात्रालाई अझ असाधारण बनाएको छ।
अमेरिकी राष्ट्रपतिको यात्रामा प्रेस समूहको उपस्थिति केवल समाचार संकलनका लागि मात्र नभई राष्ट्रपति कहाँ छन् र उनको तर्फबाट के भइरहेको छ भन्ने स्वतन्त्र पुष्टि गर्ने माध्यमसमेत हो।
ग्राफका अनुसार, यस्तो अवस्थामा राष्ट्रपति र अमेरिकी सरकारको नेतृत्वबारे केही समयसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ।
‘केही समयका लागि अमेरिकी राष्ट्रपतिको अवस्था वा अमेरिकी सरकारको नेतृत्व कसको हातमा छ भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न कसैले नसक्ने अवस्था आउन सक्थ्यो,’ उनले भने, ‘त्यो विश्वका लागि अत्यन्त खतरनाक क्षण हुन्थ्यो।’