पछिल्लो समय बजारमा फेरि जलविद्युत समूहका कम्पनीहरूको सेयर कारोबारको हिस्सा बढ्न थालेको छ।
मंगलबार बजारमा ४ अर्ब ११ करोड रूपैयाँको सेयर कारोबार भयो। यसमा जलविद्युत समूहका कम्पनीहरूको मात्रै दुई अर्ब ३८ करोड रूपैयाँको कारोबार भयो।
यो कुल कारोबारको ५८.११ प्रतिशत हिस्सा हो। बजारमा सूचीकृत कम्पनीहरूमा जलविद्युत समूहमा रहेका कम्पनीको संख्या धेरै भएकाले यो क्षेत्रको कारोबार हिस्सा उच्च हुनु स्वाभाविक मान्न सकिन्छ।
अहिले पनि बैंक तथा वित्तीय संस्था (बीमा सहित) हरूको बजारमा रहेको कुल सेयर सम्पत्ति (बजार पुँजीकरण) मा ५१.७८ प्रतिशत र जलविद्युत कम्पनीहरूको भने १७.५० प्रतिशत मात्रै हिस्सा छ।
दैनिक कारोबारमा भने जलविद्युत कम्पनी अगाडि आइरहेको यसले देखाउँछ।
जलविद्युत कम्पनीहरूको कारोबार धेरै हुनुमा विभिन्न कारण छन्।
सूचीकृत जलविद्युत कम्पनी धेरै संख्यामा रहेकाले लगानीकर्ताले लगानी विविधीकरणको अवसर पाएका छन्। बजार घट्दो प्रवृत्तिमा रहेकाले धेरै कम्पनीको मूल्य निकै कम छ। यसले पनि लगानीकर्तालाई आकर्षण गरेको छ।
पछिल्लो समय बैंकहरूको ब्याजदर घटेकाले यी कम्पनीले तिर्नुपर्ने ब्याज (खर्च) घटेको छ। यसले नाफा बढाउन सहयोग पुगेको छ।
अहिलेसम्म करिब २२ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण प्रकाशन गरिसकेका छन्। १२ वटा कम्पनी अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा नोक्सानमा रहेकामा यस पटक नाफामै गएका छन्।
त्यसैले पनि जलविद्युत कम्पनीहरूको सेयर कारोबार बढेको छ।
नाफा बढेकै आधारमा लगानीकर्ताहरूले अबको वर्ष नै लाभांश प्राप्त गर्न सक्ने अवस्था भने नहुन सक्छ।
यस पटक नाफामा गएका १२ मध्ये ८ जलविद्युत कम्पनीमा अझै पनि सञ्चित नोक्सान छ। त्यसैले यी संस्थाले यस पटक लाभांश दिन सक्ने अवस्था छैन।
यी कम्पनीले आगामी वर्ष नाफा कमाए पनि पहिलेको सञ्चित नोक्सान पूर्ति नभएसम्म लाभांश वितरण गर्न सक्ने अवस्था हुँदैन। सञ्चित नोक्सान पूर्ति भएर वितरणयोग्य नाफा कायम भएपछि मात्रै लाभांश वितरण गर्न सक्ने छन्।
अहिले नै लाभांश नपाइने भए पनि दीर्घकालीन सोचले लगानी गर्नेहरूका लागि यसरी नाफामा जान थालेका कम्पनी राम्रो विकल्प भने हुन सक्छ।
हाल नाफामा गएर सञ्चिति पनि नाफामा देखिएका चार कम्पनी छन्— मैलुङ खोला, माथिल्लो मैलुङ खेला, तेह्रथुम पावर र पाँचथर पावर।
यी कम्पनीको पनि लाभांश क्षमता ०.३ प्रतिशतदेखि ३.६ प्रतिशतसम्म मात्रै छ।
कतिपय कम्पनीले भने वास्तविक सञ्चिति देखाउँदैनन्। ती कम्पनीले सञ्चितिको सट्टा अन्य सेयर (अदर्स इक्विटी) भनेर देखाउने गरेका छन्।
कतिपयको यसअघि सञ्चिति ऋणात्मक भए पनि अहिले अन्य सेयरका रूपमा देखाइएकाले यो धनात्मक देखिएको हुन सक्छ।
कम्पनीहरूले गर्ने लगानी रकमलाई समेत अदर्स इक्विटीमा देखाइने भएकाले पनि धनात्मक देखिन सक्ने भएकाले यस्तोमा भने ध्यान दिनुपर्ने ब्रोकरहरू बताउँछन्। विशेषगरी यसअघि सञ्चित नोक्सानमा रहेकाहरूको विवरणमा लगानीकर्ता सचेत हुनुपर्ने उनीहरूको भनाइ छ।
जलविद्युत् कम्पनीहरूको वित्तीय विवरणमा एकरूपता अनिवार्य नगरिएकाले पनि यस्तोमा फरक पर्ने गरेको हो।
|
नाफा (लाखमा)
|
सञ्चित नोक्सान
(लाखमा)
|
सञ्चित नाफा (लाखमा)
|
|
मनकामना इन्जिनियरिङ हाइड्रो
|
१३८
|
२८००
|
|
|
दिव्यश्वरी हाइड्रो
|
१४५
|
२४००
|
|
|
माथिलो मैलुङ खोला जलविधुत
|
१११२
|
|
३०
|
|
बुद्धभूमि नेपाल हाइड्रो
|
११९
|
|
३०
|
|
स्वेत गंगा हाइड्रो
|
१७७३
|
२६४८
|
|
|
पाँचथर पावर कम्पनी
|
८५१
|
१२९
|
|
|
तेह्रथुम पावर
|
८९३
|
|
२९०
|
|
पञ्चकन्या माइ हाइड्रो
|
६६७
|
१८२६
|
|
|
माया खोला हाइड्रो
|
१५८
|
३८२२
|
|
|
मैलुङ खोला जलविधुत
|
१७
|
|
५४
|
|
भुगोल इनर्जी
|
-९२
|
२९२२
|
|
|
डोल्टी पावर
|
४७
|
२२०६
|
|
|
इस्टर्न हाइड्रोपावर
|
२१०
|
१४६९
|
|
|
याम्बलिङ हाइड्रोपावर
|
-५३३
|
४५६
|
|