सेयर बजार पछिल्लो तीन दिनदेखि लगातार घटिरहेको छ। यी तीन दिनमा मात्रै नेप्सेले करिब २७ अंक गुमाइसकेको छ।
साताको पहिलो दिन सोमबार पनि नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा आएको छ।
विगत १४ दिनमा नेप्सेले ८६ अंक गुमायो। यो अवधिमा कुल १२५ अंक गुमाउँदा ३९ अंक मात्रै जोड्न सकेको हो।
लाभांशको मुख्य सिजन भए पनि बजार त्यस अनुकूल सुधार हुन सकेको छैन।
बजार एक्कासि घटेको देखिँदैन भने बढ्न सकेको पनि छैन। करिब एक महिनाअघि घटेर २५७० विन्दुसम्म पुगेको नेप्से अहिले सो विन्दुमाथि नै अडिइरहन सकेको छ।
बजारमा देखिएका केही संकेतले भने परिसूचकले बियरिस प्रवृत्ति समातेको देखाइरहेको छ।
नेप्सेको ५० दिने र २०० दिने मुभिङ एरभेज रेखामा 'डेथ क्रसओभर' को पुष्टि भएको छ।
हालै २०० दिने रेखा ओर्लिने क्रममा ५० दिने रेखालाई काटेर तल ओर्लिएको छ। यसले डेथ क्रसओभरको पुष्टि गरेको हो।
यसले बजार मध्यदेखि केही समयलाई बियरिस प्रवृत्तिमा जान लागेको संकेत गर्छ।
नेपाली बजारमा भने उच्च उतारचढाव देखिने भएकाले कहिलेकाँही बजारमा छिटो छिटो प्रवृत्ति परिवर्तन हुन्छ।
त्यसैले यसैको आधारमा मात्रै बजार बियरिस प्रवृत्तिमा गइसकेको मान्न हुँदैन। सतर्कता भने अपनाउनुपर्ने देखिएको छ।
किनभने बजारमा निराशा बढेको देखिएको छ। १४ दिने साधारण रिलेटिभ स्ट्रेन्थ (आरएसआई) ले अहिले बजार स्केल २४ मा आएको संकेत गरिरहेको छ।
यो सूचक ३० भन्दामुनि आउँदा बजारमा निराशा निकै बढेको मानिन्छ। बिक्री उच्चले बढेको र बजार अवमूल्यन भएको मानिन्छ।
कतिपयले भने बजारमा वाइल्डरले प्रयोगमा ल्याएको आरएसआई पनि प्रयोग गर्छन्। यसमा बजारको तीव्र उतारचढाव प्रतिबिम्बित हुँदैद्द। अहिले वाइल्डर आरएसआई ४२ छ।
अहिले बजारमा उत्साह नदेखिए पनि एकोहोरो घट्ने प्रवृत्तिमा नरहेको सेयर ब्रोकर भरत रानाभाट बताउँछन्।
'अहिले बजारको स्ट्रेन्थ देखिँदैन। तर अब बजार एक्कासि धेरै अंकले बढ्ने वा धेरै अंकले घट्ने नहुन सक्छ,' उनले भने।
बजारको दैनिक कारोबार रकम तीन अर्ब रूपैयाँबाट तल नओर्लिनुले पनि यस्तै संकेत गरेको उनको भनाइ छ।
करिब एक महिनादेखि दैनिक कारोबार रकम तीन अर्ब रूपैयाँमाथि रहन सफल भएको छ। यो एक महिना अवधिमा दैनिक कारोबार रकम साढे ६ अर्ब रूपैयाँसम्म पुगेको छ।
बजारमा सामान्यतयाः नयाँ उचाइ बनाउँदा साउन–भदौमै बनाउने गरेको स्मरण गर्दै, यो पटक त्यस्तो सामर्थ्य नदेखिएको उनको भनाइ छ।
तर बजार धेरै घट्ने सम्भावना नदेखिने र लाभांश दिन सक्ने कम्पनीहरूमै आकर्षण बढ्दै जाने देखिएको रानाभाटले बताए।