हेटौंडाका सुवास तिमल्सिना रेडियोमा कार्यक्रम प्रस्तोता र प्राविधिकको काम गर्थे। मोबाइल मर्मतदेखि कम्प्युटर तालिम पनि दिन्थे।
तर खासै चित्तबुझ्दो आम्दानी भएन। उनले विदेश जाने सोचे।
सन् २०११ तिरको कुरा हो, त्यस बेला युरोप जानेहरू धेरै थिए। उनको मन पनि त्यतै मोडिँदै थियो।
तर साउदी अरबमा प्राविधिक क्षेत्रमा राम्रो अवसर सुनेपछि सुवास उतै गए।
'दमामस्थित ट्राभल कम्पनीको आइटी सपोर्टका काममा लागि आएको हुँ,' उनले भने।
त्यो अमेरिकन कम्पनी थियो। जहाजको टिकट काट्ने काम हुन्थ्यो। साउदीको बजारमा त्यो कम्पनीको राम्रो पकड थियो। सुरूमा उनी मासिक दुई हजार ७५० रियाल कमाउँथे।
'त्यस बेला साउदीमा आइटी क्षेत्रमा काम गर्न आउने नेपाली कमै थिए,' सुवास भन्छन्, 'म आएको समयमा चार जना नेपाली थियौं। एक जना यो काम गर्न नसक्ने भएर पहिल्यै फर्किनुभयो।'
कामप्रतिको लगाव र जिम्मेवारीका कारण कम्पनीले उनलाई दमामबाट करिब एक हजार किलोमिटर टाढाकृषि क्षेत्रमा थप जिम्मेवारीसहित पठायो। त्यही अनुभवले उनको नेतृत्व क्षमता पनि विकास भयो।
त्यो काम गर्दागर्दै उनलाई हिमालय एयरलाइन्समा काम गर्ने प्रस्ताव आयो। त्यस बेला हिमालय एयरलाइन्स साउदी बजारमा प्रवेश गर्ने तयारीमा थियो।
त्यहाँको बजारमा राम्रो पकड बनाइसकेको कम्पनीको काम छाडेर नवप्रवेशी कम्पनीको जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण थियो। सुवासले चुनौती स्वीकार गरे।

सन् २०१७ सेप्टेम्बरदेखि हिमालय एयरलाइन्समा सेल्स एन्ड मार्केटिङ एक्जुकेटिभका रूपमा काम सुरू गरे।
एयलाइन्समा सुरूआती दिनमा कर्मचारी कम र काम धेरै थियो।
'टिकटिङदेखि बजार विस्तार, एयरपोर्ट समन्वय र सञ्चालन व्यवस्थापनसम्म धेरै भूमिका निर्वाह गरेँ। यसले एयरलाइन्स उद्योगको प्राविधिक र व्यावसायिक पक्ष नजिकबाट बुझ्ने अवसर दियो,' उनले भने।
उनका अनुसार हिमालय एयरलाइन्सले साउदीको उड्डयन क्षेत्रमा राम्रो छाप छोड्यो। अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स उडान ढिलो गरिरहेका बेला हिमालयले निर्धारित समयमा उडान गरेर विमानस्थल प्रशासनको विश्वास जितेको सुवास बताउँछन्।
'तर एक समय हिमालय एयरलाइन्स निकै संकटमा परेको थियो। विभिन्न सरकारी निकाय र नागरिक उड्डयन अधिकारीसँग समन्वय गरेँ। यो एयरलाइन्सले मलाई रोजगारी दिएको थियो, त्यसैले यसलाई बचाउन मेरोतर्फबाट सक्दो प्रयास गरें,' उनले सम्झिए।
उनको मेहनतका कारण उनलाई कम्पनीले कन्ट्री म्यानेजरको जिम्मेवारी दियो। तर कोभिड महामारीपछि खर्च कटौती गर्ने क्रममा एयरलाइन्सले संरचना परिवर्तन गर्यो। उनलाई नेपालमै रहेर काम गर्न प्रस्ताव गर्यो।
नेपाल रहेर काम गर्दा तलब र सेवासुविधामा चित्त नबुझेपछि उनले सन् २०२१ मा हिमालय एयरलाइन्स छाडे।
त्यसपछि सुवासले नेपाल एयरलाइन्सका लागि साउदीमा काम गर्ने अवसर पाए।
त्यति बेला नेपाल एयरलाइन्सलाई साउदीमा उडान अनुमति थिएन। इयूको कालोसूचीमा रहेका कारण साउदीले अनुमति दिन चाहेको थिएन।

'आफ्नो राष्ट्रिय ध्वजावाहकलाई साउदीमा उडाउन केही गर्नुपर्यो भन्ने प्रस्ताव आयो। म पनि नेपाल एयरलाइन्स कसरी साउदी प्रवेश गराउने भनेर यहाँका सरकारी निकायका ढोका ढकढक्याउन थालेँ,' सुवासले सुनाए।
केही समयपछि नेपाल एयरलाइन्सले उडान अनुमति पायो।
तर नेपाल एयरलाइन्समा काम गर्दा उनले अपेक्षा गरेजस्तो व्यावसायिक वातावरण पाएनन्। उडान ढिलाइ, जिम्मेवारीको अभाव, निर्णय प्रक्रियाको सुस्तता र प्रशासनिक कमजोरीले उनलाई निराश बनायो।
एउटा उडानका लागि धेरै कर्मचारी परिचालन हुँदा पनि सेवा प्रभावकारी हुन नसकेको उनको अनुभव छ।
'समयमा उडान गर्न सकेन। यहाँ यात्रु आइपुग्दा पनि जहाज काठमाडौंबाट आइपुग्दैन। कहिले नउड्ने, कहिले अनेकन समस्या देखाउने, यसले गर्दा मलाई काम गर्न साह्रै अप्ठ्यारो लाग्यो। हिमालय एयरलाइन्समा काम गर्दा कमाएको अलिकति इज्जत पनि माटोमा मिलेजस्तो भयो,' उनले भने।
काम भने उनलाई निकै सजिलो थियो। उडान नै कम हुँदा चाप हुने कुरा भएन। तलब पाएकै थिए। तर सजिलोले मात्रै उनलाई चित्त बुझिरहेको थिएन।
आफ्नो देशको ध्वजावाहकले साउदीमा जुन खर्च गर्थ्यो, त्योअनुसार आम्दानी थिएन। त्यही कारण डेढ वर्षपछि उनले नेपाल एयरलाइन्स पनि छाड्ने निर्णय गरे।
'कर्मचारी पनि राजनीतिक दलपिच्छे फरक–फरक आउँथे। भागबन्डा चल्थ्यो। काममा भने खासै कोही पनि जिम्मेवार नहुने। झोलामा राख्ने ट्याग सकियो भनेर खबर गरेको १५ दिनमा पनि आइपुग्दैन थियो। हिमालय एयरलाइन्समा काम गर्दा त सकियो भनेपछि आइहाल्थ्यो,' उनले सुनाए।
नेपाल एयरलाइन्सको जागिर छाडेर सन् २०२३ देखि भने उनले आफै व्यवसाय गरेका छन्।
अहिले साउदीमा उनी 'नेपाली ट्राभल' नामक कम्पनी चलाउँछन्। एजेन्सीमार्फत जहाज टिकटिङको काम हुन्छ। र, नेपालीहरूलाई दूतावाससम्म पुग्न समेत सहजीकरण गर्छन्।
'साउदीको औद्योगिक क्षेत्र जुबेलमा धेरै नेपाली बस्छन्। यो क्षेत्रबाट दूतावास रियादसम्म जान नेपालीहरूले झन्झट र चर्को शुल्क तिर्नुपर्ने अवस्था थियो। सजिलो होस् भनेर जुबेलबाट रियाद जानेहरूका लागि मैले ठूलो बस हालेको थिएँ। अहिले सानो गाडी हालेको छु,' उनले भने।

जुबेलबाट रियाद जान नेपालीले कम्तीमा पनि एकतर्फी १५० देखि २०० रियाल तिर्नुपर्छ। फर्किन फेरि उति नै गरेर ३०० देखि ४०० रियाल खर्च हुन्छ। आफूले २५० रियालमा लैजाने र ल्याउने गरेको उनले बताए।
पछिल्लो समय राहदानी नवीकरण लगायत सेवाका लागि दूतावासले बेला बेला शिविर चलाउँछ। त्योबाहेक नेपाल फर्किन तथा विभिन्न कागजपत्रका लागि दूतावास पुग्छन्।
त्यस्तै साउदीमा सुवास नेपाली मार्ट पनि चलाउँछन्। त्यहाँ नेपालबाट लगेका अन्न, तरकारी लगायत सामग्री बिक्री गर्छन्।
'नेपाल र साउदीबीच व्यापारिक सम्झौता भएको छैन। तर पनि हामी विदेश आउँदा गाउँठाउँका सामग्री लगेर चखाउँछु। नेपाली मसला, दाल, चामल, गुन्द्रुक, टिमुर, भटमास लगायत साउदीको नियम अनुसार ल्याउन मिल्ने अधिकांश खानेकुराहरू लिएर आउँछु,' उनले भने।
सुवास त्यहीँ 'ससुराली' नामक रेस्टुरेन्ट पनि चलाउँछन्। अब छिट्टै 'मामाघर' नामक अर्को रेस्टुरेन्ट चलाउने तयारी सुवास गरिरहेका छन्। त्यस्तै नेपालबाट हरियो तरकारी लगेर तरकारी पसल चलाउने योजना पनि उनको छ।
सुवासले एयरलाइन्सको जागिर छाडेपछि नेपालमै व्यवसाय गर्ने सोचेका थिए। पेट्रोल पम्पमा लगानी गर्ने योजना अघि सारे पनि वातावरण असहज भएपछि उतै फर्किएको उनको भनाइ छ।
'हिमालयन एयरलाइन्स छाडेपछि नेपालमै केही गरौं भन्ने लागेको थियो। तर अनुभव भएर मात्रै नहुने रहेछ। पुँजी र पहुँचले चल्ने देश हो जस्तो मलाई अनुभव भएको छ,' सुवासले भने।