नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर पक्षले गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवास गोल्फुटारमै पुगेर भेटवार्ता गरेका छन्।
संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयबाट गतिविधि गरिरहे पनि सुरूका केही दिन उक्त कार्यालय पुगेका खड्का पछिल्लो समय चुनदेवीस्थित कार्यालयमा अनुपस्थित छन्।
खड्का राष्ट्रिय भेला आयोजक समिति संयोजकसमेत नबसेपछि पूर्वमहामन्त्री कोइरालालाई बनाइएको थियो।
संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारामा राष्ट्रिय भेला गर्ने तयारी गरेका छन्। सो भेलामा उपस्थित भइदिन कोइरालाले निवर्तमान कार्यवाहक सभापति खड्कालाई आज निवासमै पुगेर आग्रह गरेका हुन्। कोइराला र नेता एनपी साउद खड्कालाई भेट्न उनकै निवास पुगेका थिए।
शशांकका स्वकीय सचिव भरत तिवारीका अनुसार राष्ट्रिय भेलामा सहभागी हुन कोइरालाले खड्कालाई आग्रह गरेका हुन्।
‘यही २०८३ साल साउन २९, ३० र ३१ गते आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गर्नुभएको छ। उक्त आग्रहप्रति कार्यवाहक सभापति खड्काले सकारात्मक धारणा व्यक्त गर्नुभएको छ,’ तिवारीको भनाइ छ।
निवर्तमान कार्यवाहक सभापति खड्काले भने एक अपिल जारी गर्दै पार्टी एक गर्न सभापति गगन थापालाई आग्रह गरेका थिए।
यो पनि- गगनलाई पूर्णबहादुरले भने- पार्टी एकताको अग्रमोर्चामा अग्रसर हुनुस्, निर्णायक तपाईं हो