जब लुम्बिनी प्रदेश र यस आसपासका एफएम रेडियोहरू अचानक बज्न रोकिन्छन् वा तिनका तरंगहरू बन्द हुन्छन्, त्यति बेला अधिकांश रेडियो सञ्चालकहरूले सम्झिने एउटा मात्र नाम हो— शिवप्रसाद काफ्ले।
अहिलेको प्रविधिको कठिन र संवेदनशील समयमा बुटवलका बासिन्दा शिव यस क्षेत्रका रेडियोहरूका एक्लो र भरपर्दो प्राविधिक बनेका छन्।
२०६० सालमा स्थानीय 'बुटवल एफएम' बाट प्राविधिकको रूपमा आफ्नो व्यावसायिक यात्रा सुरू गरेका शिव विज्ञापन रेकर्डिङ र कार्यक्रम उत्पादनको काम सम्हाल्थे। रेकर्डिङ स्टुडियोमा बसेर विज्ञापन तथा कार्यक्रमहरू उत्पादन गर्दै जाँदा समयले उनलाई अर्को एक महत्त्वपूर्ण जिम्मेवारीतर्फ डोहोर्यायो।
काम गर्दै जाँदा बेलाबखत रेडियोमा प्राविधिक समस्या आइरहन्थे। कहिले स्टेसनका पाटपुर्जामा त कहिले ट्रान्समिटरमा समस्या देखिन्थ्यो।
इलेक्ट्रोनिक्स र कम्प्युटर हार्डवेयर सम्बन्धी तालिम लिएका शिव सामान्य प्राविधिक समस्या आफै सुल्झाउँथे। स्टेसनका पाटपुर्जा र ट्रान्समिटरमा समस्या देखिए मर्मतका लागि काठमाडौंबाट प्राविधिक बोलाउनुपर्थ्यो।
'बाहिरबाट प्राविधिक बोलाउनुपर्दा एक–दुई दिन रेडियो स्टेसन नै बन्द गर्नुपर्ने अवस्था आउँथ्यो,' उनले भने, 'मलाई सानैदेखि प्राविधिक क्षेत्रमा रूचि भएकाले स्टेसनका पाटपुर्जा र ट्रान्समिटरको मर्मत सम्बन्धी तालिम लिन रूचि जाग्यो।'
नभन्दै २०६२ सालतिर उनी रेडियो स्टेसनका पाटपुर्जा र ट्रान्समिटर मर्मत सम्बन्धी तालिमका लागि भर्ना भए।
दिनभरि रेडियोमा प्राविधिकको ड्युटी सकेर उनी तालिम लिन जान्थे। रेडियोमा काम गरे पनि बाहिर घुमफिर गर्नुभन्दा स्टेसनभित्रै बसेर विभिन्न प्रविधिबारे खोजेर अध्ययन र अभ्यास गर्थे।
त्यही निरन्तरको अध्ययन, अभ्यास र प्राविधिक बन्ने रूचिले उनलाई एउटा कर्मचारीबाट कुशल प्राविधिक बन्न प्रेरित गर्यो।

२०६३ सालमा काम गरिरहेको एफएमका सञ्चालकहरूले उनलाई विज्ञापन रेकर्डिङ र कार्यक्रम उत्पादनसँगै रेडियोको ट्रान्समिटरको रेखदेख र मर्मतको जिम्मेवारी दिए।
बुटवल र काठमाडौंका विभिन्न इन्स्टिच्युटहरूमा इलेक्ट्रोनिक्स र कम्प्युटर हार्डवेयर सम्बन्धी तालिम लिएका शिवलाई एफएमका सञ्चालकहरूले दिएको जिम्मेवारी जीवनकै करिअरको टर्निङ प्वाइन्ट बन्यो।
'विभिन्न ठाउँमा तालिम लिएपछि जब मैले एफएमको नियमित कामसँगै ट्रान्समिटरको रेखदेख र मर्मतको जिम्मेवारी पाएँ, त्यसले मेरो सिकाइ बढाउँदै लग्यो। आफूले काम गर्ने एफएममा मात्र होइन, लुम्बिनी प्रदेशमा सञ्चालित अरू एफएम रेडियोहरूले स्टेसन र ट्रान्समिटरमा समस्या देखिए मलाई सम्पर्क गर्न थाले,' शिवले भने।
अहिले लुम्बिनी क्षेत्रका करिब ५० वटा एफएम रेडियोहरूमा ट्रान्समिटर सम्बन्धी कुनै पनि समस्या आउँदा सबैभन्दा पहिले शिव नै पुग्छन्।
'पहिले ट्रान्समिटरमा कुनै समस्या देखिए बाहिरबाट प्राविधिक ल्याउनुपर्थ्यो। मैले तालिम लिएर मर्मत गर्न थालेपछि बाहिरबाटै प्राविधिक ल्याउनुपरेको छैन,' शिव भन्छन्।
अहिले उनले बर्दघाटदेखि पश्चिम बर्दिया र रोल्पासम्मका एफएम रेडियो स्टेसनका पाटपुर्जा र ट्रान्समिटर मर्मत गर्दै आएका छन्। सामान्य समस्या भए उनी आफै स्टेसन गएर मर्मत गरिदिन्छन्। जटिल समस्या भए रेडियो सञ्चालकहरू बुटवलसम्मै ट्रान्समिटर बोकेर आउँछन्।
'ट्रान्समिटर मर्मतका लागि एन्टेना आवश्यक पर्छ। मैले घरको छतमै दुई वटा एन्टेना जडान गरेको छु। धेरै ठाउँ आफै पुग्दा समय धेरै खर्च हुन्छ। घरमै ल्याइदिए साँझ–बिहानको समयमा पनि मर्मत गर्न पाइन्छ,' उनले भने।
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै घरमा मर्मत केन्द्र सञ्चालन गरेका शिवलाई रेडियो प्रसारणको दुनियाँ कति कठिन र चुनौतीले भरिएको छ भन्ने राम्रैसँग थाहा छ।

पछिल्लो समय प्रविधिको विकास र विज्ञापनको अभावमा धेरै एफएम रेडियोहरू आर्थिक संकटको चक्रव्यूहमा फसेका छन्।
घिटीघिटी अवस्थामा बाँचिरहेका र अस्तित्वका लागि ठूलो संघर्ष गरिरहेका रेडियोको सबैभन्दा महत्त्वपूर्ण अंग मानिने ट्रान्समिटर नै बिग्रिएर बन्द हुँदा प्रसारण कक्षमा छाउने सन्नाटा र सञ्चालकहरूको पीडा उनले नजिकबाट देखेका छन्।
'कतिपय रेडियोका ट्रान्समिटरहरू त पैसा नभएको भन्दै मर्मत गरेको पाँच महिना बितिसक्दा पनि लिन आउनुहुन्न। कसैले सरकारले दिने लोक–कल्याणकारी विज्ञापनको रकम आएपछि भुक्तानी गर्ने सर्तमा लिएर जानुहुन्छ,' उनी भन्छन्।
अहिले पनि मर्मतका लागि ल्याइएका तीन वटा ट्रान्समिटर विगत ६ महिनादेखि आफ्नो मर्मत केन्द्रमा त्यसै थन्किएको उनले बताए।
लहडमा खुलेका कतिपय साना रेडियोहरू त यतिसम्म आर्थिक कठिनाइमा छन् कि उनीहरूले ट्रान्समिटर मर्मत गरेबापतको सामान्य ज्याला समेत समयमा भुक्तानी गर्न सक्दैनन्।
रेडियोहरूको दयनीय अवस्था देखेर नै मर्मतबापतको आफ्नो लगानी र मेहनत परे पनि उपकरणहरू फर्काउन वा कडा ताकेता गर्न नसकेको उनले बताए।
उनका अनुसार ट्रान्समिटर नयाँ किन्नुपरे ४/५ लाख रूपैयाँ पर्छ। मर्मतका लागि पाटपुर्जाको आधारमा कम्तीमा १५ हजारदेखि एक लाखसम्म लाग्न सक्छ। तर, कतिपय एफएम रेडियोलाई त्यही पैसा जुटाउन पनि लोक–कल्याणकारी विज्ञापनको पैसा पर्खिनुपर्ने अवस्था आउनु दुःखद हो भएको उनी बताउँछन्।
एक्लैले चार दर्जन बढी एफएम रेडियोहरूको जीवन थामिरहेका शिव आफ्नो यो काम केवल व्यापार नभई रेडियोप्रतिको समर्पण भएको बताउँछन्।
'प्रविधिले धेरै फड्को मारिसकेको छ तर। रेडियो स्टेसनहरूमा पुरानै प्रविधि छ। लगानीको अभावमा रेडियोका सञ्चालकहरूले नयाँ प्रविधि ल्याउन सकेका छैनन्। अर्को समस्या ह्यान्डलिङको पनि छ। रेडियो सम्बन्धी कुनै पनि तालिम नलिएका व्यक्तिहरूलाई प्राविधिक बनाउनुपर्ने बाध्यता सञ्चालकहरूलाई छ,' शिव भन्छन्।
समय–समयमा ट्रान्समिटरको सरसफाइ नगर्ने र गर्मीमा पनि निरन्तर चलिरहनुपर्ने ट्रान्समिटर चिसो ठाउँमा राख्नुपर्नेमा एसीसमेत नभएको कोठामा राख्नुपर्दा छिट्टै बिग्रिने गरेको उनको अनुभव छ।