रूकुमका विश्वेश्वर रेग्मीलाई सानैदेखि पर्यटन क्षेत्रमा रूचि थियो। त्यही रूचिले उनलाई २१ वर्षअघि जापान पुर्यायो।
जापान जानुको उद्देश्य थियो— पर्यटन विषय अध्ययन गर्ने र हस्पिटालिटी क्षेत्रमा केही सिक्ने।
त्यो बेला नेपालमा पर्यटन सम्बन्धी विषयमा पढ्ने राम्रो अवसर नभएपछि जापान रोजेको विश्वेश्वर बताए। हस्पिटालिटी शिक्षाका लागि जापान राम्रो गन्तव्य हुन सक्ने बुझेर उनी त्यहाँ पुगेका थिए।
जानुअघि नै उनले केही समय जापानी भाषा पढे। त्यहाँ पुगेपछि भाषा र संस्कृति अध्ययनलाई निरन्तरता दिए।
'पुगेपछि दुई वर्षजति जापानी भाषा पढेँ। पार्टटाइम काम पनि गरेँ। त्यसपछि विश्वविद्यालयमा टुरिजम विषयमा स्नातकोत्तर पढेँ,' विश्वेश्वरले भने, 'सुरूमा नयाँ ठाउँमा अभ्यस्त हुन गाह्रो थियो। अध्ययन र मेहनत गर्यो भने हरेक कुरा सम्भव हुन्छ भन्ने आत्मविश्वास बोकेर अघि बढेँ।'
जापानमा उनले एउटा फेमिली रेस्टुरेन्टमा पाए। चार वर्ष काम गर्दै, पढेरै बित्यो। त्यसपछि पनि उनलाई पढ्न मन थियो। तर काममा लाग्नुपर्छ भन्ने सोच आयो। अनि पढाइ सकेपछि एउटा ट्राभल कम्पनीमा काम सुरू गरे।
केही समयपछि उनलाई आफ्नै काम गर्नुपर्छ भन्ने भयो।
कोरोना महामारीको समय थियो। पर्यटन क्षेत्रलाई धेरैले संकटका रूपमा हेरेका थिए। धेरै व्यवसाय बन्द हुँदै गए। त्यही बेला विश्वेश्वरले भने व्यवसाय थाल्ने निधो गरे।


'कोभिडले विश्वभर नै ठूलो असर पारेको थियो तर मैले सम्भावना देखेँ। अनुभव पनि थियो, आत्मविश्वास पनि थियो अनि काम सुरू गरेँ,' उनले भने।
उनले सन् २०२२ को सुरूआतमा ट्राभल कम्पनी खोले। त्यो बेला यात्रा गर्ने साधन र होटल पाउनसमेत कठिन थियो। त्यही पनि विश्वेश्वरले हिम्मत हारेनन्।
त्यसरी सुरू कम्पनी उनले अगाडि बढाएरै छाडे।
अहिले उनको नेतृत्वमा मोमेन्टो जेपी र जेपिएस इंक गरी दुई कम्पनी छन्। यी कम्पनीले जापान आउने पर्यटकका लागि आरामदायी यात्राको व्यवस्थापन गर्छन्।
टोकियोमा कार्यालय रहेको उनको कम्पनीले जापानका विभिन्न स्थानमा पर्यटक घुमाउने व्यवस्था गर्छ। अमेरिका, बेलायत, साउदी अरेबिया, कतार, क्यानडा लगायत देशबाट आउने पर्यटकलाई सेवा दिइरहेको उनले बताए।
कर्पोरेट कम्पनीमार्फत जापान घुम्नेका लागि भ्रमण, बैठक, बसाइ, खानपान र यात्राको सम्पूर्ण व्यवस्थापन गर्नु उनका कम्पनीको मुख्य काम हो।
'होटल, गाडी, भ्रमणका गतिविधि व्यवस्थापन गर्ने काम गर्छौं। विमानस्थलदेखि विमानस्थलसम्म भन्ने हाम्रो नारा हो,' विश्वेश्वर भन्छन्।
उनी आफूलाई पर्यटन व्यवसायी मात्र होइन, पर्यटनको विद्यार्थी भन्न रूचाउँछन्।
'म जापानको पर्यटन व्यवसायी हुँ। पर्यटनमा एकदमै रूचि छ। मैले धेरै कुरा सिकेको र सिक्दै पनि छु। त्यसैले आफूलाई पर्यटन व्यवसायी र विद्यार्थी दुवै भन्न रूचाउँछु,' उनले भने।
उनले रेस्टुरेन्ट र स्कुलमा पनि लगानी गरेका छन्।
दुवै देशमा काम गरेकाले उनले नेपाल र जापानको पर्यटन क्षेत्रको सम्भावना बुझेका छन्।


उनको बुझाइ अनुसार नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा धनी देश हो। यहाँ पर्यटकलाई गरिने सम्मान र सत्कार राम्रो छ। तर केही सीमित क्षेत्रमा मात्र केन्द्रित छ। यसलाई विकेन्द्रित गर्न सके अझ राम्रो सम्भावना हुने उनले बताए।
'जापान र नेपाल दुवै देश प्राकृतिक र सांस्कृतिक रूपमा धनी छन्। तर जापान हामीभन्दा धेरै व्यावसायिक छ। डिजिटल सेवामा पनि अघि छ। सबैतिर उत्तिकै विकास र सुविधा छ,' उनले भने।
अब पर्यटनलाई डिजिटलाइजेसन गरेर पर्यटकले खोजेको कुरा अनलाइनमा सहजै भेट्न सक्ने वातावरण बनाउनुपर्ने उनी बताउँछन्।
नेपालमा अनलाइन ट्राभल एजेन्सी (ओटिए) को आवश्यकता महसुस गरेर उनले 'इ बुकिङ नेपाल' सुरू गरेका छन्।
यसमार्फत् होटल, रिसोर्ट, सवारी साधन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका टिकट लगायत पर्यटकलाई चाहिने सबै सेवा एउटै ठाउँमा उपलब्ध होस् भन्ने उनको उद्देश्य हो।
'डिजिटल प्रणालीले सेवाग्राहीलाई मात्र नभएर, सरकारलाई समेत फाइदा पुर्याउँछ। जस्तो केही वर्षअघिसम्म ट्याक्सी चढ्नु कति झमेला थियो। अहिले क्लिक गरेको भरमा जाने–नजाने निर्णय गर्न सकिन्छ,' विश्वेश्वरले भने, 'यो सहजताको कुरा मात्र होइन, यसले सरकारलाई पनि फाइदा पुर्याउँछ। पर्यटन क्षेत्रमा पनि यस्तै प्रणाली आवश्यक छ।'